शेयर सूचकमा झिनो परिवर्तन, ब्रोकर भन्छन्- ‘टिकाउ प्रवृत्तिमा देखिन थाल्यो’ 

बिजमाण्डू
२०७६ मंसिर १६ गते १५:४७ | Dec 2, 2019
शेयर सूचकमा झिनो परिवर्तन, ब्रोकर भन्छन्- ‘टिकाउ प्रवृत्तिमा देखिन थाल्यो’ 

Tata
GBIME
Nepal Life

काठमाडौं। झिनो अंकको मात्रै सूचक परिवर्तन हुन थालेपछि पछिल्लो समय शेयर बजार टिक्दो प्रवृत्तिमा देखिन थालेको छ । सोमबार सूचक ०.८६ अंकले घटेर ११११.९९ अंकमा ओर्लिएको छ । 

सेन्सेटिभ सूचक ०.४४ अंकले घटेर २४५.७१ अंकमा झरेको छ । आइतबार नेप्से सूचक ०.७ अंकले बढेको थियो । लामो समयदेखि बजार ठूलो अन्तरले बढ्न वा घट्न सकेको छैन । यस्तो प्रवृत्तिलाई एक ब्रोकरले टिकाउ प्रवृत्ति भनेका छन् । 

'बजार धेरै अन्तरले बढेको छैन र ठूलो अन्तरले घटेको पनि छैन,' उनी भन्छन्, 'यतिबेला बजार टिकाउ प्रवृत्तिमा छ ।' यतिबेला बजारमा लगानीकर्ताले कम्पनीका वित्तीय अवस्था हेरेर मात्रै लगानी गरिरहेका छन् । उनीहरू कम्पनीले दिने प्रतिफललाई हेरेर कम मूल्यमा शेयर बिक्री गर्न चाहिरहेका छैनन् भने नयाँ लगानीकर्ताले थप लगानी गर्ने आट गरेका छैनन्। बिक्रीकर्ता मूल्य घटाउन नचाहने र खरिदकर्ता मूल्य बढाएर खरिद गर्न चाहँदैनन् । जसले गर्दा बजार टिकाउ प्रवृत्तिमा गएको उनको जिकिर छ । 

बजार टिकाउ प्रवृत्तिमा गएकै कारण यतिबेला कारोबारसमेत सुस्त देखिएको उनले बताए । जसका कारण सोमबार कारोबार रकम २३ करोड रुपैयाँमा समेटिएको छ । सोमबार १ सय ६४ कम्पनीका ८ लाख २६ हजार कित्ता शेयर २३ करोड २२ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा बढि एनएमबि बैकको एक करोड ९३ लाख रुपैयाँ बराबरकोको शेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

 
सोमबार १२ समूहको शेयर कारोबार भयो । जसमा तीन समूहको उपसूचक बढेको छ भने नौ समूहको सूचक घट्दो अवस्थामा देखिएको छ । सबैभन्दा बढि जीवनबिमा समूहको उपसूचक १.२६ प्रतिशतले घटेको छ भने ट्रेडिङ समूहको उपसूचक ३.२ प्रतिशतले बढेको छ ।