शिवाजको ड्रिम प्रोजेक्ट तयार, तीन अर्बको जय अम्बे स्टीलको उत्पादन एक महिनाभित्रै बजारमा

बिजमाण्डू
२०७६ मंसिर १३ गते १२:३२ | Nov 29, 2019
शिवाजको ड्रिम प्रोजेक्ट तयार, तीन अर्बको जय अम्बे स्टीलको उत्पादन एक महिनाभित्रै बजारमा

Tata
GBIME
Nepal Life

काठमाडौं। तीन अर्ब लगानीमा अम्बे समूहले नेपालगंजमा स्थापना गरेको डन्डी उद्योग तयार भएको छ। उद्योगबाट उत्पादित डन्डी एक महिनाभित्र बजारमा आउनेछ।

सिमेन्ट र डन्डी उद्योगमा पायोनियर रहेको यो समूहको दोस्रो डन्डीको प्लान्ट हो। समूहले अम्बे ब्राण्डमा डन्डी उत्पादन गरेर बिक्री गर्दै आएको छ। नेपालगंजको डन्डी उद्योग जय अम्बे स्टील हो। तर उत्पादन भने अम्बे ब्राण्डमै बिक्री गर्नेछ।

जय अम्बे उद्योगका संचालक शिवाज न्यौपानेले मंसिर २० गते औपचारिक पूजा गरेर उत्पादन सुरू हुने बताउँदै एक महिनाभित्रै व्यवसायिक उत्पादन सुरु हुने जानकारी दिए। उनका अनुसार पहिलोपटक उद्योगमा क्यान्टलिवर स्ट्यान्ड राखिएको छ। यो स्ट्यान्डले डन्डीलाई चिल्लो बनाउँछ।

‘अहिले बजारमा पाइने डन्डी रफ हुन्छ। त्यसैले हामीले यो उद्योगमा नयाँ प्रविधि ल्याएका छौं, जसले गर्दा उत्पादित डन्डी विदेशमा जस्तो चिल्लो हुनेछ,’ उनले बिजमाण्डूसँग भने,’गुणस्तरको अलावा यसले उपभोक्तालाई आकर्षित समेत गर्छ।’ उनले उद्योगको मेशिनरीमा कुनै सम्झौता नगरेका कारण ‘प्रोजेक्ट कस्ट’ समेत केही बढेको बताए। 

‘उद्योगमा लेटेस्ट प्रविधि ल्याएका छौं। केही नेपालका उद्योगले नै नलगाएका प्रविधिसमेत जडान गरेका कारण परियोजना केही महँगो भयो,’ न्यौपानेले भने,’तर यसले पे ब्याक गर्छ भन्नेमा म विश्वस्त छु।’ १६ विघामा रहेको यो उद्योग ठूलो उद्योगभित्र पर्छ। उद्योगबाट दैनिक ८ सय टन डन्डी उत्पादन हुन्छ।

शिवाजको ड्रिम प्रोजेक्ट

अम्बे समूहका हरि न्यौपानेका छोरा शिवाजको यो ड्रिम प्रोजेक्ट हो। यो उद्योग स्थापनाको चरणदेखि उनी आवद्ध छन्। अमेरिकाको अध्ययन सकेर आएपछि शिवाजले भैरहवामा रहेको अम्बे स्टील पाँच वर्षअघि हेर्न सुरू गरेका थिए।

 सन् २००९मा स्थापना भएको अम्बे स्टील बजारमा स्थापित ब्राण्ड थियो। तर उनले भैरहवाको उद्योगमा गएर त्यहाँको व्यवस्थापन हेरे। उनका लागि त्यो उद्योग लर्निङ एक्सपेरियन्स भयो। त्यसपछि नेपालगंजमा नयाँ स्टील उद्योग लगाउने छलफल सुरू भयो।

 यो छलफलको सुरुवातदेखि नै उनी सामेल भए। उद्योग स्थापनादेखि मेशिनरी ल्याउने काम शिवाज एक्लैले गरे। बैंकको ऋण प्रक्रियाबाहेक सबैमा उनी सहभागी बने। अब उद्योग उत्पादनको चरणमा पुगेको छ।

डन्डीका लागि कठिन परिस्थिति

‘डन्डी’ उद्योगको ब्यालेन्ससीट नकारात्मक छ। अहिले कतिपय उद्योगले नोक्सानी खेपेरै भएपनि डन्डी बजारमा बिक्री गरिरहेका छन्। अर्बौ रूपैयाँ लगानी गरेर उद्योग स्थापना गरेको उद्योगको ब्याज र कर्मचारी खर्चनै धान्न नसक्ने अवस्था छ।

डन्डीको माग नभएपछि धेरै उद्योग संकटउन्मुख छन्। यो संकटकै कारण केही उद्योगले उत्पादन समय पछि सारिरहेका छन्। तर शिवाजलाई भने डन्डीको संकटप्रति धेरै चिन्ता छैन।

‘डन्डीको बजार धेरै नै खराब छ। अहिले धेरै उद्योगको ब्यालेन्स सीट नेगेटिभ नै छ। तर हाम्रो ब्राण्ड छ। उत्पादन प्रणालीमा एक्सपेरियन्स भएकाले बजारमा प्रतिस्पर्धा गर्न कठिन हुँदैन,’ शिवाज भन्छन्, ’ब्राण्ड स्थापित बनाएर बिक्री संजाल बनाउनलाई कठिन हो। तर ब्राण्ड स्थापित भएको हामीजस्तोलाई त्यति धेरै अप्ठेरो देखेको छैन।’

उनले उत्पादन प्रक्रियामा अतिरिक्त लागत कटौंती गर्न सकेमा समस्या नहुने बताए। ‘धेरै उद्योगको उत्पादन प्रक्रियामै लागत बढ्छ। हाम्रो प्लान्ट ठूलो भएकाले लागत घटाउन पनि सहयोग पुर्‍याउँछ,’ उनले भने।