होटल लर्ड्स दियालो मापदण्ड विपरित बनेको महानगरको जिकिर, भित्रको संरचना हेरफेर

बिजमाण्डू
२०७६ कात्तिक २९ गते १९:३८ | Nov 15, 2019
होटल लर्ड्स दियालो मापदण्ड विपरित बनेको महानगरको जिकिर, भित्रको संरचना हेरफेर


Tata
GBIME
Nepal Life

वीरगंज। ६ महिनाअघि वीरगंजमा सञ्चालनमा आएको डेढ अर्ब लगानीको 'होटल लर्ड्स दियालो प्रालि'को निर्माण कार्य मापदण्ड विपरीत भएको पाइएको छ।

महानगरको प्राविधिक महाशाखाले होटलको निर्माणमा पहिले स्वीकृत गरिएको नक्साको डिजाइनलाई मिचेर आफ्नो हिसाबले होटल निर्माण भएको महाशाखाका प्रमुख इन्जिनियर राजेशकुमार चौरसियाले बताए।

होटलमा सब इन्जिनियर मयानन्द देव र खेलानन्द झाले गरेको स्थलगत अनुगमनपछि होटलको डिजाइनको काममा चरम लापारवाही गरी स्वीकृत नक्सा तथा डिजाइन विपरीत कार्य भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत समक्ष गत असोज ६ गते प्रतिवेदन पेश भएको झाले बताए।

जगदम्बा इन्टरप्राइजेजका सञ्चालक तथा नेपाली कांग्रेसका पूर्वसभासद् समेत रहेका अनिल रुंगटा संचालक रहेको होटलको निर्माण 'बेसमेन्ट'देखि आठौं तल्लासम्म नक्सा भन्दा फरक तरिकाले निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ। करिव ३ कठ्ठा जग्गामा निर्माण गरिएको होटलको विशेष गरी भित्री संरचनामा ब्यापक परिवर्तन गरी निर्माण गरिएको छ।

‘पहिलेको नक्सामा जेजे कुरा स्वीकृत भएको थियो, स्थलगत रुपमा हेर्दा धेरै कुरा फरक किसिमले बनाइएको छ,’ वीरगंज महानगरका प्रमुख इन्जिनियर चौरसियाले भने, ‘यस्तो मापदण्ड विपरीत काम गर्ने सञ्चालकलाई आवश्यक कारवाही हुन्छ, नत्र हालको अवस्थाको नक्सा संशोधन गराएर स्वीकृत गराउनु पर्छ।’

होटलको उत्तर–पूर्वमा रहेको १० फिटको सार्वजनिक जग्गालाई अतिक्रमण गर्ने हिसाबले फलामको पाइप निकाल्दा पनि गल्ती गरेको पाइएको उनले बताए।

चार तारे होटलको लागि लबिङ

नेपाली कांग्रेसका पूर्व सभासद् तथा पछिल्लो निर्वाचनमा पनि पर्सा क्षेत्रबाट प्रतिनिधि सभाका टिकट पाएका रुंगटाको होटल लर्ड्स दियालोले हाल सम्म चार तारे होटलको प्रमाण पत्र पाएको छैन।

उनले पर्यटन विभागका महानिर्देशकदेखि महाशाखाका निर्देशकसम्मलाई प्रमाण पत्रका लागि धौडधुप गरिरहेका छन्।कांग्रेस सभापति शेरबहादुर देउवासँग नजिक रहेका रुंगटाले पर्यटन मन्त्री योगेश भट्टराई समक्ष पनि चार तारे होटलको प्रमाण पत्रको लागि लबिङ गरिरहेको बताइएको छ। चार तारेको प्रमाणका लागि निर्णय गराइछाड्ने भन्दै विभागका जिम्मेवार अधिकृतहरूलाई व्यवसायी रुंगटाले दबाब दिएको विभागको अधिकारीहरुले बताएका छन्।

'कार्य सम्पन्न' प्रमाणपत्र बेगर होटल सञ्चालन

होटल व्यवस्थापन पक्षले घर नक्सा कार्य सम्पन्नताको प्रमाण पत्र पाएको छैन। उक्त प्रमाण पत्र नपाउँदै होटल सञ्चालनमा ल्याउनु गैरकानुनी कुरा भएकोले यस बारे आफै छानबिन गर्नु पर्ने प्राविधिकहरुको भनाइ छ।

होटलको उद्घाटन कांग्रेस सभापति देउवाले नै गरेका थिए। रुंगटाले महानगरपालिकाका सम्बन्धित प्राविधिकहरूलाई समेत चौतर्फी दवाब दिएर निर्माण सम्पन्न प्रमाणपत्र लिनका लागि अनेक प्रयत्न गरे पनि नक्साअनुसार होटल नबनेको भन्दै अख्तियारमा समेत उजुरी परेका कारण छानविन अगाडि बढाइएको र निर्माण कार्य सम्पन्नको प्रमाण पत्र दिन नमिल्ने प्रमुख इन्जिनियर चौरसियाको भनाइ छ।

यस्ता छन् चार तारे होटलका मापदण्ड

चार तारे होटलका लागि सरकारले निर्देशन गरेको मापदण्डअनुसार औसत क्षमताको बाहिरी पौडी पोखरी हुनुपर्छ। डाक्टर र नर्सको सेवाको लागि छुट्टै कोठा हुनुपर्छ। होटलमा डाक्टर र परिचारिका बोलाउने बित्तिकै उपस्थित हुने व्यवस्था हुनुपर्छ।

चार तारे होटलमा सेवा र उत्पादन क्षेत्रका ७५ प्रतिशत कर्मचारीहरूले मान्यताप्राप्त संस्थाबाट तालिम लिएको हुनुपर्छ। कम्तीमा ८० वटा सुत्ने कोठा हुनुपर्छ भने कोठाको आकार बाथरुमसहित कम्तीमा २३० वर्गफिटको हुनुपर्छ। धुम्रपान निषेधित कोठाहरूको पनि व्यवस्था गरिएको हुनुपर्ने मापदण्डमा उल्लेख छ। कोठाहरूभित्र शतप्रतिशत थर्मोस्ट्याटसको व्यवस्था हुनुपर्ने तथा १० प्रतिशत स्वीट रुमको व्यवस्था हुनुपर्ने जस्ता मापदण्ड निर्दिष्ट गरिएको छ।

तर, रुंगटाको उक्त होटल एकातर्फ सरकारले तोकेको मापदण्डअनुसार चार तारेका लागि उपयुक्त छैन नै अर्कोतर्फ निर्माण सम्पन्न प्रमाणपत्र महानगरपालिकाले नदिएका कारणले पनि रोकिएको छ।

रुंगटा भन्छन्, 'कर्मचारीहरुले बदमासी गर्दैछन्'

होटल सञ्चालक अनिल रुगंटाले होटलको निर्माण कार्य सम्पन्नको प्रमाण पत्र दिन कर्मचारीहरुले बद्मासी गरिरहेको बताएका छन्। उनले पहिलेको नक्सा बमोजिम नै होटलको निर्माण भएको दाबी गरे।

उनले पर्यटन विभागमा पनि चार तारे स्तरको होटल निर्माण भएकोले प्रमाण पत्रको लागि पहल भइरहेको बताए।