पोहोर साढे तीन अर्ब एसएलएफ चलाएका बैंकले यसपाली ५० अर्ब उठाइसके, तरलता अभाव चर्कियो

बिजमाण्डू
२०७६ कात्तिक ६ गते १०:४७ | Oct 23, 2019
पोहोर साढे तीन अर्ब एसएलएफ चलाएका बैंकले यसपाली ५० अर्ब उठाइसके, तरलता अभाव चर्कियो

Tata
GBIME
Nepal Life

काठमाडौं। सुरक्षाका लागि राखिने अनिवार्य तरलता मौज्दात (सिआरआर) कायम गर्ने पैसा नहुँदा बैंकहरुले असोजमा मात्रै १५ अर्ब ७८ करोड रुपैयाँ सापटी चलाएका छन्।

बैंकहरुले १०० रुपैयाँ निक्षेप उठाएपछि ४ रुपैयाँ राष्ट्र बैंकमा जम्मा गर्नु पर्छ। तर बैंकहरुले ४ रुपैयाँ पनि नराखी ऋण दिए। चार रुपैयाँ नराख्दा जरिवाना हुन्छ। जरिवानाबाट जोगिन बैंकहरुले राष्ट्र बैंकसँगै महँगोमा सापटी लिएर पैसा जम्मा गरेका हुन्।

बैंकहरुले राष्ट्र बैंकसँग स्थायी तरलता सुविधा (एसएलएफ) लिएका हुन्। एसएलएफको ब्याज दर ६ प्रतिशत हुन्छ। अन्तर बैंक सापटीमा पनि पैसा नपाएपछि बैंकहरुले तरलता अनुपात कायम गर्न एसएलएफ लिएका हुन्। बैंकहरुलाई तरलता चाहिने वित्तिकै राष्ट्र बैंकले उपलब्ध गराउने मौद्रिक औजार एसएलएफ हो। 

ऋणको माग उच्च भएका बेला बैंकहरुले आफूसँग पैसा नराखी ऋण दिने गर्छन्। त्यही भएर सिआरआर कायम गर्न पनि समस्या पर्छ। चालु आर्थिक बर्ष मात्रै बैंकहरुले ४९ अर्ब ८० करोड रुपैयाँ एसएलएफ प्रयोग गरेका छन्।

असोजमा पनि सबैभन्दा बढि एसएलएफ २३ गते प्रयोग भएको छ। दशैंको बिदा सकिने वित्तिकै बैंकहरुमा अभाव भएर उनीहरुले एसएलएफ प्रयोग गरेका हुन्। २३ गते ४ अर्ब ९५ करोड रुपैयाँ प्रयोग भएको छ। २७ गते ३ अर्ब प्रयोग गरेका छन्। मसान्ततिर ५० करोड मात्र प्रयोग गरेका छन्।

पोहोर बैंकहरुले असोजमा मात्र एसएलएफ प्रयोग गरेका थिए। उनीहरुले जम्मा तीन पटक ३ अर्ब ४२ करोड रुपैयाँ प्रयोग गरेका थिए। चालु बर्ष भने ५० अर्ब हाराहारी प्रयोग गरिसकेका छन्।