तोरी उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदानमा बीउ

रासस
२०७६ असोज २२ गते १७:३५ | Oct 9, 2019

लमही। जिल्लामा तोरी उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तोरी जोन) दाङले अनुदानमा बीउ वितरण गरेको छ।

Tata
GBIME

दाङमा मूल बीउ उत्पादन र तोरी खेतीका लागि अनुदानमा तोरीको बीउ वितरण, सिँचाइ, कुलो निर्माण, कृषकहरुलाई कृषि औजार वितरण, विभिन्न तालीम, भकारो सुधारलगायतको कार्यक्रम सञ्चालन गरेको छ। परियोजनाअन्तर्गत यस आर्थिक वर्षमा विभिन्न समूह, सहकारीलाई तोरीको उन्नत जातको उन्नत बीउ वितरण गरेको तोरी जोन कार्यक्रमका प्रमुख तिलक केसीले जानकारी दिए। साउनेपानी कृषि सहकारी संस्था शान्तिनगरलाई बीउ उत्पादनका लागि दुई क्विन्टल तोरी वितरण गरेको प्रमुख केसीले जानकारी दिए।

पाँच हजार ३११ किलो तोरी सहकारीबाट गरी विभिन्न २० सहकारी र कृषि समूहका सदस्यहरुलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको हो। तुलसीपुर उपमहानगरपालिका–१, २ र शान्तिनगर, बबई, दङ्गीशरण गाउँपालिकामा ६६४ बिगाह जमीनमा तोरी खेतीका लागि अनुदानमा बीउ उपलब्ध गराएको तोरी जोन संचालक समितिका अध्यक्ष भीमबहादुर वलीले जानकारी दिए।

त्यस्तै सिँचाइका लागि १० कुलो निर्माण, सात पम्पसेट वितरण र ५० भकारो सुधार कार्यक्रम सञ्चालन गरिएको छ।

'जोरी जोनअन्तर्गत तोरी उत्पादन बढाउने उन्नत बीउ अनुदानमा वितरणदेखि विभिन्न कार्यक्रम संचालन गरेका छौँ, यसले गर्दा जिल्लामा तोरी उत्पादन बढ्ने र कृषकहरुलाई तोरी खेतीमा आकर्षण थप्नेछ, ' प्रमुख केसीले भने।

त्यस्तै यस वर्ष दुई बिगाहा जमीनका तोरी प्रदर्शन गर्ने कार्यक्रम पनि रहेको छ। तोरी उत्पादन बढाउन तोरी खेतीका लागि आवश्यक मल सल्फर पनि ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम रहेका छ।