‘गाउँलाई शहरमा बदल्नुमात्र विकास होइन, देश बदल्न सक्ने भिजन हुनुपर्छ’, भैरहवाका मेयरको बिचार

बिजमाण्डू
२०७६ असोज १८ गते ०८:११ | Oct 5, 2019
‘गाउँलाई शहरमा बदल्नुमात्र विकास होइन, देश बदल्न सक्ने भिजन हुनुपर्छ’, भैरहवाका मेयरको बिचार

Tata
GBIME
Nepal Life

नागरिकले महसुस गर्नेगरी परिवर्तन भएको शहरमध्ये भैरहवा पछिल्लो समय चर्चित छ। गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण तथा पर्यटकीय आकर्षणका रुपमा रहेको बुद्ध जन्मस्थल लुम्बिनीका कारणले मात्र नभई पर्यटकको बसाई लम्ब्याउन बनेका टाइगर प्यालेस जस्ता तारे होटलहरुले भैरहवालाई गतिशिल शहरमा बदल्दै लगेको छ।

फराकिला सडक र अपांग मैत्री आकाशे पुलका कारणले भैरहवाको शहरमा आवरण धेरै फरक परिसकेको छ। सडक तथा पूर्वाधार विकासका कारण शहरको आर्थिक गतिशिलता पनि बढेको छ। जग्गाको भाउ मात्र होइन आर्थिक क्रियाकलापमापनि बृद्धि देखिन्छ।

सिद्धार्थनगर नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाइसकेपछि नगरपालिकाको आम्दानी समेत तीनगुना बढेको छ। हाल नगरपालिकाका २० वटा बस्तीहरुमा परिवर्तन प्रत्यक्ष महसुस गर्न सकिन्छ।  

पछिल्लो समय नगरमा कुल ३५ किलोमीटर सडक उच्चस्तरको बनेको छ भने साइकल लेन सहितको पूर्वाधार विकाससँगै शहरी संस्कारको पनि थालनी भएको महसुस हुन्छ। हाल नगरपालिकाले योजनाबद्ध ढंगले मानव संसाधन ब्यवस्थापन तथा सरसफाईको रणनीति तय गरेको छ। 
सिद्धार्थनगरलाई वेस्टर्न इकोनोमिक करिडोरका रुपमा विकास गर्ने अवधारण पनि आइसकेको अवस्थामा मेयर हरिप्रसाद अधिकारीलाई हामीले सोध्यौं सिद्धार्थनगरमा पछिल्लो समय बढेको आर्थिक गतिशिलताले थपिदिएको चुनौतीहरु के कस्ता छन्?  

खासमा हाम्रो मुलुकमा योजना बनाउने कुरामै समस्या छ। समग्रमा योजनाको अधुरोपनले विकासलाई असर पारिरहेको छ। अब हाम्रै नगरपालिकाको कुरा गर्नुहुन्छ भने यहाँ पनि योजनाहरु धेरै सोचबिचार गरी कुनै प्लानर वा विज्ञको सरसल्लाहमा बनाउने हो भने अझ राम्रोसँग विकास गर्न सकिन्थ्यो। 

लुम्बिनीबाट धेरै लाभ लिन सकिन्थ्यो तर हामीले लिन सकिरहेका छैनौं। लुम्बिनीसम्म कुनै पनि सवारी साधन जान नदिने र मानिसहरुलाई निकै वरवाट पैदल जानुपर्ने नियम लगाइदिएको भए कम्तीमा यहाँ २ दिन पर्यटक अडिने वातावरण बन्थ्यो। तर त्यति ठूलो लगानी गरेर विकास गरिएको लुम्बिनीमा २ घण्टाको लागि मात्र पर्यटक पुग्छन् उनीहरु त्यहाँ सरर घुम्छन् र बजारमा एउटा चकलेट पनि नकिनी फर्किन्छन्।

एक रात लुम्बिनीमा बस्न सक्ने किन नबनाउने? विकासको कुरा गर्दा अब हामीले आर्थिक गतिशिलताबारे त्यसरी पनि सोच्नुपर्छ। 
नगरपालिका बनाउँदा कसले पहिला बनाउने भन्ने होडबाजी मात्र भयो। तर नगर कस्तो बनाउने भनेर पहिले योजनाबद्ध खाका नबनाई नगरपालिकामा रुपान्तरण गर्ने काम मात्र हुनुले विकासको मर्मलाई आत्मसात् गरेन। 


सिद्धार्थनगर देशकै सबैभन्दा सानो नगरपालिका हो। हामी जल, जमीन र जंगलबाट आम्दानी गर्न नसक्ने अवस्थामा छौं।

अब यसको अस्तित्व बचाउन हामीले लुम्बिनीको नाममा दुई दिन बढी पर्यटक अड्याउने वातावरण बनाउनै पर्छ। 
हामीले भैरहवामा ५० वर्षअघि ५० बिघा जमीन अधिग्रहण गरी मिनी बुद्ध नगर बनाउन सकेको भए हुन्थ्यो जस्तो मलाई लागिरहन्छ।

त्यसैले म भन्छु हामी प्लानिङमा धेरै चुक्यौं।  हामी उपमहानगरपालिका नबन्दा पनि अफ्ठेरोमा परेका छौं। सानो नगरपालिका छ आम्दानी छैन। १ सय ३४ जना कर्मचारीको तलबमा १० करोड सकिन्छ कसरी विकास गर्ने? 

देशमा भिजनरी नेताको अभाव भयो। कुनै पनि नगरपालिका बनाउनुभन्दा पहिले नै यो नगरपालिका यस्तो बन्न पर्छ भन्ने सोच राख्न सकेको भए हरेक नगरको कायापलट हुन सक्छ। अझै पनि हामीलाई आर्थिक विकासको लागि 'विशेष योजना' चाहिएको छ। स्रोत नभए नगरप्रमुखले मात्र के गर्न सक्छ ?
अब नगरपालिकाले यहाँको डण्डा खोलाबाट लुम्बिनीसम्म बोटिङ गराउने प्लानिङ गरेका छौं। यसबाट पर्यटकहरुले रोमाञ्चक जलयात्रा गरेर लुम्बिनीसम्म जान सक्छन्। यसले भैरहवामा आर्थिक गतिविधि बढाउन मद्दत पुग्छ ।

अब हामी नगरको यसरी प्लानिङ गर्दैछौं कि भैरहवा आइपुग्दा मानिसलाई बुद्धको भूमिमा आइएछ भन्ने आभाष होस्। त्यसैकालागि हामीले विशेष गेट बनाइरहेका छौं। यो कुनै प्रवेश द्धार मात्र होइन। यहाँ पर्यटकीय हिसावले हामी बुद्धको सम्पूर्ण जीवन र इतिहास झल्काउने सामाग्री राख्नेछौं।

 
नगरपालिकाले २ वटा पार्क बनाउँदैछ। डण्डा खोलाको पूर्वी करिडोरको साढे ४ किलोमीटर खोलामा पुषको अन्तिमसम्ममा बोटिङ सुरु भैसक्नेछ। करिडोरको दुबैतर्फ साइकल लेन बनाएर पार्कहरु साइकल चलाउँदै घुम्न सक्ने बनाउँदैछौं। रोहिणी नदीमा स्टिमर चलाउन सके अझ राम्रो हुन्थ्यो भनेर पनि सोच्दैछौं। 

हामी पञ्चवाटिकामा लिटल बुद्धको मूर्ति पनि बनाउने बारे छलफल गर्दैछौं। म त बुद्धका माता पिता सुद्दोदन र मायादेवीको पनि मूर्ति बनाउन चाहिरहेको छु। बिडम्बना त यो छ की जुन देशमा बुद्धको जन्म भयो हामी कसैलाई उनका बुवा आमा कस्तो हुनुहुन्थ्यो भन्ने नै थाहा छैन। मैले विज्ञहरुसँग पनि छलफल गरिरहेको छु वहाँहरु कस्तो हुनुहुन्थ्यो भन्नेबारे केही थाहा भयो भने मूर्ति बनाउन सकिन्छ। 

म विकासका लागि भैरहवामा पर्यटकलाई २ दिन रोक्ने वातावरण मात्र बनाउन चाहन्छु। अहिलेसम्म कुनै प्लानिङ नहुँदा मात्रै यहाँ समस्या भएको हो। नयाँ पुस्ताले पनि हामीलाई नयाँ ढंगले साथ दिन्छ र कुन क्षेत्रमा कस्तो लगानी गर्दा प्रतिफल पाइन्छ भन्ने सोच्नेछ भन्नेमा म आशावादी छु। 

हामीसँग प्रचुर प्रकृति छ। त्यसको जगेर्ना गर्दै प्रयोग गर्ने र आय आर्जनको उपाय निकाल्नेपट्टि सोच्न हामी धेरै अल्छी भयौं। हात थापेर खाने बानी परेकाले हामीलाई आफ्नो संभावना खोतल्ने कुरामा हुटहुटी नजागेको जस्तो लाग्छ। 

सिद्धार्थनगरलाई पर्यटकीय नगर बनाउने बाहेक हामीसँग अरु विकासको मोडेल छैन। हाम्रो विकासकालागि यही मोडेलमात्र उपयुक्त हो। हरेक घरको अगाडी बुद्ध जनाउने पहेँलो रंग लगाउन अनुरोध गर्दै हिँडेका छौं। बुद्धप्रतिको आस्थाको आधारमा पनि स्थानीयले यति गरिदिए हुन्थ्यो। फोहोर ब्यवस्थापनमा पनि नगरवासीकै साथ चाहिन्छ। के गर्दा यस नगरपालिकालाई राम्रो बनाउन सकिन्छ भन्ने नै सोचिरहेको छु। यो सामुहिक प्रयासको पनि कुरा हो। 

खासमा समग्र देशको प्रोजेक्ट बनाउँदा सरकारबाटै हरेक नगरको विकासको मोडेल तयार भैदिएको भए विकासको सवालमा आगामी तीन वर्षभित्रै यो देश कहाँबाट कहाँ पुग्थ्यो होला। मलाई त लागेको छ योजनावद्ध भएर अघि बढ्ने हो भने तीन वर्षमा यो मुलुकको अनुहारै फेरिन्थ्यो। अझै पनि केही बिग्रेको छैन। हामीले काम गर्न सक्छौं भन्नेमा म विश्वस्त छु।