नेपाली आकाशमा एटिआरको वर्चश्व बढ्दै, थप तीन निजी कम्पनी एटिआरको ठूलो जहाज थप्दै

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ भदौ २५ गते १२:१२ | Sep 11, 2019
नेपाली आकाशमा एटिआरको वर्चश्व बढ्दै, थप तीन निजी कम्पनी एटिआरको ठूलो जहाज थप्दै

Tata
GBIME
Nepal Life

काठमाडौं। हाल संचालनमा रहेका  तीन निजी वायुसेवा कम्पनीले ७० सिट क्षमतायुक्त एटिआर-७२ जहाज संचालनमा ल्याउने भएका छन्। 

सिम्रीक एयरलाइन्स, सौर्य एयरलाइन्स र सीता एयरले आगामी एक वर्ष भित्रै एटिआर-७२ जहाज संचालनमा ल्याउनका लागि गृहकार्य सुरु गरिसकेको नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छन्।

हाल दुईवटा १८ सिट क्षमतायुक्त विचक्राफ्ट-१९०० संचालन गर्दै आएको सिम्रीक एयरलाइन्सले एक वर्षको अन्तरालमा एटिआर-७२ जहाज ल्याउने योजना बनाएको छ।

कम्पनीले एटिआर जहाज ल्याउनका लागि हाल आन्तरिक गृहकार्य सुरु गरिसकेको कम्पनीका प्रवक्ता प्रज्वल थापाले जानकारी दिए। 'अहिले हामी एटिआर जहाज ल्याउनका लागि गृहकार्य गरिरहेका छौँ। बजारको मागलाई मध्यनजर गर्दै ठूला जहाज ल्याउनैपर्ने देखिएपछि हामीले यो गृहकार्य सुरु गरेका हौँ।' प्रवक्ता थापाले बिजमाण्डूसँग भने। 

थापाका अनुसार सुरुमा कम्पनीले तीनवटा जहाज ल्याउने योजना बनाएको छ।उनले भने, 'हामीले यही अक्टोबरमा दुईवटा एटिआर ७२ ल्याउने योजना बनाएका थियौँ। तर केही ढिला हुन गयो।  आउँदो वैशाखमा सुरुमा दुईवटा एटिआर जहाज ल्याउने छौँ। बाँकी एउटा जहाज त्यसको केही महिनामै ल्याउने योजना रहेको छ।'

कम्पनीले एटिआर जहाज आइसकेपछि विराटनगर, भद्रपुर, नेपालगञ्ज र भैरहवा उडान गर्ने योजना बनाएको छ भने हाल भइरहेका दुईवटा विचक्राफ्टमार्फत माउन्टेन फ्लाइट, सिमरा, तुम्लिङटार लगायत गन्तब्यमा उडान गर्ने योजना बनाएको उनले बताए।

कम्पनीको आन्तरिक गृहकार्य सकिएलगत्तै जहाज थप अनुमतिपत्र लिने प्रक्रियामा जाने योजना रहेको उनले जानकारी दिए।  

यसैगरी नेपालमै पहिलोपटक जेट इन्जिन जहाजमार्फत उडान सुरु गरेको सौर्य एयरलाइन्सले एक वर्षभित्र तीनवटा एटिआर-७२ थप्ने योजना बनाएको छ। हाल दुईमध्ये एउटा ५० सिट क्षमतायुक्त सिआरजे-२००मार्फत चार्टर उर्डान गर्दै आएको कम्पनीले क्षमता विस्तारका लागि तीन वटा एटिआर थप्ने योजना बनाएको कम्पनीका उपमहाप्रवन्धक उमेश आचार्यले जानकारी दिए।

उनका अनुसार नयाँ फ्लिटमा प्रवेश गर्नुअघि कम्पनीले नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रारम्भिक प्रक्रिया सरु गरिसकेको छ।

'कम्पनीको मुख्य उद्देश्य भनेकै मुनाफा हो। तर नेपालको हकमा जेट इन्जिन नै फिजिबल देखिएन। प्राविधीक हिसाबमा जहाज राम्रो हो। तर बित्तीय हिसावले दीर्घकालमा यो सस्टेनेबल देखिएन। यसो भएपछि हामी फ्लिट चेन्ज गर्ने योजनामा पुगेका हौँ। बित्तीय रुपमा दिगो हुनु पहिलो प्राथमिकता हो।' आचार्यले बिजमाण्डूसँग भने। 

साढे चार वर्ष जेट इन्जिन उडाएको सौर्यले थप अध्ययन गरी  एटिआरमार्फत उडान गर्ने योजना बनाएको हो। 

कम्पनीले एटिआर संचालनमा ल्याइसकेपछि भइरहेको दुईवटा जेट इन्जिन जहाज मार्फत पोखरा, भैरहवा लगायत विभीन्न पर्यटकीय गन्तब्यमा उडान गर्ने योजना रहेको उनले बताए। 

उनका अनुसार कम्पनीले निकट भविष्यमा एटिआर मार्फत धनगढी, नेपालगञ्ज, सिमरा, भरतपुर लगायत गन्तब्यमा उडान गर्ने योजना बनाएको छ।

यसैगरी हाल चारवटा १९ सिट क्षमतायुक्त डोर्नियर जहाज उडान गर्दै आएको सीता एयरलाइन्सले एक वर्षभित्र चारवटा एटिआर-७२ ल्याउने योजना बनाएको छ। 

कम्पनीले चारवटा एटिआर-७२ जहाज ल्याउनका लागि एक महिना अघि अनुमति पाइसकेको नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च पदाधिकरीले जानकारी दिए। 

'हामीले कम्पनीलाई एक महिना अगाडि नयाँ प्रकारको जहाज थप अनुमतिपत्र दिइसकेका छौँ। हामीले उहाँहरुलाई एक वर्षको अवधिमा चारैवटा जहाज ल्याउने सम्झौता अनुसार अनुमति दिएका हौं। हाल कम्पनीले जहाज ल्याउनका लागि गृहकार्य सुरु गरिसकेको जानकारी आएको छ।' उनले भने। 

मन्त्रालय स्रोतका अनुसार एटिआर जहाज संचालनमा ल्याएपनि चारवटा डोर्नियरमार्फत हाल को गन्तब्यमा नियमित उडान भैरहनेछ। हाल यो कम्पनीले लुक्ला, रारा, सिमीकोट, डोल्पा, रुम्झाटार लगायत गन्तब्यमा नियमीत उडान गरिरहेको छ। 

हाल एटिआरमार्फत यति एयरलाइन्स र बुद्ध एयरले विराटनगर, भद्रपुर, भैरहवा, भरतपुर, पोखरा, चन्द्रगढी, जनकपुर, नेपालगञ्ज, धनगढी, विरगञ्ज लगायत मुलुकका विभीन्न गन्तब्यमा नियमित उडान गर्दै आएका छन्।