उधारो कारोबारले डुबेका विष्णुको मिठाइ पसलबाट यू टर्न, तीन दशकमा स्थापित बन्यो 'वैष्णव' ब्राण्ड




चितवन। नारायणगढको शहीदचोकमा  मासु र मदिरा बेच्ने पसलहरु बग्रेल्ती छन्। तर यही भीडमा वैष्णव मिष्ठान्न भण्डारले अलग पहिचान बनाएको छ। शहीदचोकको यसै ठाउँमा तीन दशकअघि टिनको छाप्रोबाट सुरु भएको वैष्णव शाकाहारी खाना र मिठाईका लागि विश्वासिलो ब्राण्ड हो।  वैष्णवले बेकरी र अण्डारहित केक पनि उत्पादन गर्दै आएको छ।

TaTa
Riddisiddi Cement


शाकाहारी भोजन र मिठाईका विभिन्न परिकार पाइने वैष्णव मिष्ठान्न केही वर्षयता मालिका हस्पिटालिटी एण्ड फुड प्रा. लि. अन्तर्गत सञ्चालित छ। चितवनभित्र वैष्णवका मुख्य एक र तीन वटा आउटलेट सञ्चालनमा छन् । वैष्णवका सबै आउटलेटमा डेढ सय कर्मचारी छन् जसले दैनिक करिब तीन हजार ग्राहकलाई सेवा दिइरहेका छन्।

वैष्णव स्थापनाको २५ वर्ष पुगेको अवसरमा तीन वर्षअघि पहिलो आउटलेट भरतपुरको चौबीसकोठीमा खुल्यो। दुई वर्षअघि रत्ननगरको टाँडीचोकमा र गत वर्ष भरतपुरकै वीरेन्द्र क्याम्पसचोकमा वैष्णवका नयाँ आउटलेट खुलेका हुन्।

यस वर्ष खैरहनीको चौबीसकोठीमा अर्को एउटा आउटलेट थप्ने योजनासहित काम भइरहेको मालिका हस्पिटालिटीका अध्यक्ष एवं वैष्णवका सञ्चालक कृष्णप्रसाद सापकोटाले जानकारी दिए। व्यावसायिक साझेदार जनक पौडेलसँग मिलेर आउटलेट बिस्तार र उद्योगतर्फ अगाडि बढेको उनी बताउँछन्।

“वैष्णवको आउटलेट जिल्लाबाहिर खोल्ने तत्काल कुनै योजना छैन” सापकोटा भन्छन्, “त्यसअघि दशैंसम्ममा वैष्णव ब्राण्डमा बट्टाबन्द तयारी मिठाईको उत्पादन सुरु गर्न लागेका छौं । प्याकिङ मेसिन ल्याइसकेका छौं। क्रमशः प्याकिङ गरिएका भुजिया र दालमोठ पनि उत्पादन गर्नेछौं।”



विष्णुदेखि वैष्णवसम्म
वैष्णवको पुरानो नाम विष्णु मिष्ठान्न भण्डार हो। यसका संस्थापक विष्णुप्रसाद सापकोटाले आफ्नै नाममा २०४५ सालतिर नारायणगढको मेनरोडबाट भित्री गल्लीमा विष्णु मिष्ठान्न भण्डार खोलेका थिए।

पुराना दिन सम्झँदै विष्णु भन्छन्, “म चौध वर्षको हुँदा बुबा चन्द्रदत्तले आमा मालिका, भाइ, दिदी, बहिनी र मलाई लिएर २०२८ सालमा गैंडाकोट बसाईं सर्नुभयो। २०३२ सालतिर पैसा कमाउन म भारतको बनारस पुगेँ । एक वर्ष मजदुरी गरेपछि रेल्वे स्टेसनको क्यान्टिन आफैँले चलाउने मौका पाएँ।”

बनारसमा नौ वर्ष बिताएपछि विष्णु गैंडाकोट फर्किए। कावासोतीसम्म पुगेर गहुँ, मुसुरो लगायतका खाद्यान्न खरिद गरी नारायणगढमा बिक्री गर्न थाले। उधारो कारोबारले उनलाई दुई वर्षमै डुबायो। नारायणगढको पुतलीबजारमा आलु, प्याज र खाद्यान्नको पसल खोले। घाटा भएपछि एक वर्षभन्दा बढी टिकेनन्।

यसबीचमा अरुणखोलाकी लक्ष्मी खरालसँग उनको बिहे भयो। जेठो छोरा कृष्णको जन्म पनि भयो। पारिवारिक जिम्मेवारी थेग्न गैंडाकोटको थुम्सीमा किराना पसल खोले। गाई, भैंसी र बाख्रा पनि पाले। किराना पसलमा चिया बेच्न सुरु गरे।

पहाडबाट केरा, सुन्तला, तरकारी बेच्न ल्याउनेहरुले उनलाई ती सामान बिक्री गरेर आवश्यक नुन, तेल, मसला र नगद लिएर जान्थे। उधारो कारोबार रोक्न नसक्दा दुई वर्षमा उनको कारोबार भताभुंग भयो । व्यवहार सल्ट्याउन जग्गा बेच्नु पर्ने अवस्था आयो। चार कठ्ठा जग्गा बेचेर ऋण तिरे।

त्यसपछि उनले नारायणगढमा विष्णु मिष्ठान्न भण्डार संचालन गरे। नजिकै रहेका कपडा पसलका कामदार र नेपाल बैंकका कर्मचारीले उधारोमा चिया, खाजा र खाना खान थाले। “सुरुमा राम्रै भएको थियो, पछि त उधारोले त्यहाँ पनि डुबायो” विष्णु भन्छन्, “बहीखाता हेर्दा उठ्नु पर्ने रकम टन्नै थियो । कर्मचारीहरु सरुवा हुँदा खाताको पैसा नतिरी हिँड्थे। घाटा भयो।”



दुःखका ती दिन

घाटामा गएपछि विष्णु मिष्ठान्न भण्डार बेचेर उनले नारायणगढकै पोखरा बसपार्क (हाल नारायणगढ बसपार्क)मा अरुकै मिठाई पसल भाडामा लिएर चलाए। दुई महिनासम्म निरन्तर घाटा भएपछि छाडे। भरतपुरमा खाना र मिठाई पसल सुरु गरे। दुई महिनासम्म घरभाडा पनि बुझाउन सकेनन्। घरबेटी दयालु परेछन्, भाडा लिएनन्।

भरतपुरबाट विष्णुले नारायणगढको पुलचोकमा पसल सारे। त्यसको दुई महिनामै उनी नारायणगढकै शहीदचोकमा सरे। सर्न खाली ठाउँ नपाउँदा उनले १९ हजारमा अरुकै होटल किन्नु परेको थियो। त्यहाँ सरेकै महिना वर्षाको पानीले डुबान हुँदा व्यापार चौपट भयो।

गर्मीको महिना थियो। ग्राहकहरु शितलमा बसेर चिया, खाना, खाजा खान चाहन्थे । तर उनको होटलमा पंखा थिएन। आडैको पवित्रा मिष्ठान्न भण्डारमा भने सिलिङ पंखा हुइँकिरहेको हुन्थ्यो। त्यतिमात्र नभई “पंखामुनि सिट खाली छ” भनेर त्यताबाट आउने आवाजले ग्राहक उतै तानिन्थे।

हुँदाहुँदै अवस्था यस्तो आयो कि कामदारलाई भाँडाकुँडा बेचेर तलब दिई बिदा गर्नु पर्यो। साइकल बेचेर घरभाडा बुझाउनु पर्यो। विष्णुको होसहवास गुम्यो। परिवारलाई घर पठाएर एक्लै पाँच दिनसम्म पसल बन्द गरेर त्यहीँ सुते। छैठौं दिन आफन्त आएर उनलाई ढाडस दिए। भगवानको परीक्षा हो, नआत्तिनु भनेर सम्झाए।

एकपछि अर्को दूखले लखेट्दै जाँदा घरबेटीले पनि ठाउँ खाली गर्न दबाब दिन थाले। “भाडा बुझाएकै छु किन निकाल्नु हुन्छ मलाई ? भाडा तिर्न नसके मै छाडेर जान्छु भनेपछि बल्ल साहुले कराउन छाडे” विष्णु सम्झन्छन्, “अन्तिम उपाय खोज्दै आफन्तसँग दुई हजार रुपैयाँ मागेर घरभाडा एक हजार दुई सय र रासनको उधारो आठ सय रुपैयाँ तिरेँ। श्रीमतीलाई माइत पठाएर सासुसँग तीन हजार रुपैयाँ मागेर ल्याउन भनेँ। उनले लिएर आइन्। त्यही पैसाले पसलमा पंखा राखें। अनि अलिअलि पसल चल्न थाल्यो।”



टर्निङ प्वाइन्ट
विष्णुका प्रतिस्पर्धी पवित्रा होटलका संचालक मोतीलाल सापकोटाकी छोरीको बिहे तय भएपछि उनीहरुले पाँच दिनसम्म पसल बन्द गरे। ती पाँच दिन नै विष्णुका लागि टर्निङ प्वाइन्ट बन्यो। पाँच दिनमा उनले एक हजार पाँच सय रुपैयाँ कमाए। विष्णु आफैं जेरी, पुरी पकाउँथे। अन्यत्र नपाइने भटौरा (ठूलो खालको पुरी) उनीकहाँमात्र पाइन्थ्यो। ग्राहकहरुको भीड बाक्लिन थाल्यो।

शाकाहारी पसल खोज्दै आउने भारतीय पर्यटकले वैष्णव होटल खोज्न थालेपछि विष्णुले पसलको नाम परिवर्तन गरेर वैष्णव मिष्ठान्न भण्डार राखे। त्यही नाम आज चितवनको लोकप्रिय एवं विश्वसनीय ब्राण्ड बनेको छ।

वैष्णव ब्राण्डका जन्मदाता विष्णु दुई वर्षयता कारोबार छोरा कृष्णलाई सुम्पेर अध्यात्ममा रमाउन थालेका छन्। भारतमा चारधाम घुमेर फर्केका विष्णु दश महिनायता देवघाटमा बस्दै आएका छन्। गुरु कृपालु महाराजको भक्तिमा दिन बिताइरहेका विष्णु भन्छन्, बिहान चार बजे उठेर गंगा नुहाउँछु। दिनभर टिभीमा गुरुको प्रवचन सुन्छु। आखिरमा आउने यतै हो, जाने नांगै हो। पहेँलो कपडा नलगाइकनै मनलाई सन्यासमा लगाएको छु।
 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell