स्थानीय तहको पैसा निक्षेपको रुपमा बैंकहरुले देखाउन पाउने, कार्यविधि संशोधन गर्न सरकार सहमत





काठमाडौं। स्थानीय तहलाई पठाएको पैसा निक्षेपका रुपमा देखाउन नमिल्ने विद्यमान व्यवस्थालाई परिमार्जन गर्न संघीय सरकार सहमत भएको छ। तर कार्यविधि संशोधन गर्न भने केही समय लाग्नेछ।



नेपाल राष्ट्र बैंक, महालेखा नियन्त्रकको कार्यालय, बैंकर्ससँगको लामो छलफलपछि अर्थमन्त्रालय आर्थिक कार्यविधि नियमावली संशोधन गरी स्थानीय तहमा पठाएको पैसा बैंकहरुले निक्षेपका रुपमा देखाउन पाउने व्यवस्था मिलाउन सहमत देखिएको हो।

'सबै बिषय सकारात्मक रुपमा अगाडि बढिरहेको छ। केही कानुनी जटिलता र कोषको सुरक्षाको प्रश्न छ त्यसलाई कसरी मिलाउने भन्नेमा छलफल गरिरहेका छौं' राजस्व सचिव शिशिरकुमार ढुंगानाले बिजमाण्डूसँग भने, 'त्यो चाँडै टुङ्ग्याउँछौं।'

महालेखाले कोषको पैसाको सुरक्षा बारे प्रश्न उठाएको छ। राष्ट्र बैंकमा रहेको बैंकहरुको अनिवार्य तरलता अनुपात (सिआरआर) बाट मिलाउने बारे कुराकानी भइरहेको जानकारी दिँदै उनले चाँडैनै आवश्यक निर्णय लिइने बताए।

बैंकहरुले ७ सय ५३ वटा स्थानीय तहमा गए पनि त्यहाँको पैसा चलाउन नपाएको गुनासो गरिरहेका छन्। स्थानीय तहले खर्च गरेपछि त्यसको शोधभर्ना हुने रकम मात्र बैंकहरुले चलाउन पाइरहेका छन्। यसले गर्दा बैंकहरुको सञ्चालन खर्चसमेत उठ्न सकेको छैन।

'हामीले लामो समयदेखि गर्दै आएको गुनासो सुनुवाइका लागि सरकारी पक्ष सहमत देखिएको छ' सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बिजमाण्डूसँग भने, 'चाँडै विनियमावली संशोधन गर्ने उहाँहरुले बताउनु भएको छ। कात्तिकसम्म सबै काम सक्ने राजस्व सचिवज्यूले जानकारी दिनु भएको छ।'

अर्थमन्त्रालयको संयोजनमा राष्ट्र बैंक, महालेखा नियन्त्रकको कार्यालय र बैंकर्सबीच गत बिहीबार छलफल भएको थियो। छलफलमा कार्यविधि परिमार्जन गरेर बैंकिङ क्षेत्रमा तरलता प्रवाह गर्ने बाटो खोल्ने सहमति भइसकेको छ। अब कार्यविधि संशोधन हुने राजस्व सचिव ढुङ्गानाले जानकारी दिए।

अर्थमन्त्रालयले जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत सम्बन्धित स्थानीय तहको खातामा रकम हाल्दै आएका छन्। त्यो रकम राष्ट्र बैंकले साँझ नै आफ्नो खातामा तान्ने गरेको छ। जब स्थानीय तहले खर्च गरेर चेक काट्छन्, त्यसपछि भूक्तानी गरिदिन्छ। भूक्तानी भएर प्रणालीमा त्यो पैसा फर्किएपछि मात्र बैकहरुले ऋण दिन योग्य तरलताका रुपमा देखाउन पाउँछन्।

'यस्तो व्यवस्थाले बैंकहरुले उधारोमा ऋण दिनु पर्नेसमेत अवस्था देखिएको छ' बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने, 'त्यही भएर हामीले बैंकमा पैसा राख्दा ब्याज पनि आउने र बैंकलाई पनि तरलता प्रवाहमा सहजता हुने भन्दै आएका छौं।'

अहिले बैंक खातामा रहेको पैसा निक्षेपका रुपमा गणना गर्न पाइँदैन। निक्षेपको रुपमा गणना नभएपछि ऋण दिन पनि पाउँदैनन्। 'यसले गर्दा अहिले हामीलाई निकै अप्ठेरो परेको छ' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजमाण्डूसँग भने, 'यदि त्यो पैसा राष्ट्र बैंकले नलिएर बैंकलाई निक्षेप परिचालन गरेको रुपमा प्रयोग गर्न दिए ऋण विस्तार गर्न सजिलो हुने थियो।'
 
बैंकरका अनुसार, स्थानीय तहको पैसा बैंक खातामा भए पनि त्यसलाई प्रयोग गर्न नपाउँदा केन्द्रीय सरकारले विकास बजेट खर्च नगर्दाको अवस्थाजस्तै बैंकमा तरलता अभाव हुन थालेको छ। राष्ट्र बैंकका बैंकिङ विभाग स्रोतका अनुसार, स्थानीय तहले खर्च गरेर भुक्तानी मागेजति रकम मात्र राष्ट्र बैंकले उपलब्ध गराइने गरेको छ।  'खातामा रकम सरे पनि भौतिक रुपमा बैंकमा पैसा गएकै छैन' स्रोतले भन्यो, 'भौतिक रुपमा नगएपछि बैंकले त्यसलाई प्रयोग गर्ने भन्ने नै हुँदैन। त्यसलाई फुकाइ दिनुपर्छ भनेर हामीले पनि सरकारलाई सिफारिस गरेका हौं।'
 
स्थानीय तहले एकै पटक रकम पाउँदा त्यसको अनुगमन सशक्त नहुने भन्दै सरकारले राष्ट्र बैकमार्फत त्यसमा अंकुश लगाउन खर्च गरेजति मात्र भूक्तानी हुने व्यवस्था गरेको अर्थमन्त्रालय स्रोतले बतायो।
 
संघीय सरकारले चालु आर्थिक बर्षका लागि महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ७५३ स्थानीय तहका लागि तीन खर्ब ८ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ। गत बर्षका लागि २ खर्ब २५ अर्ब रुपैयाँ छुट्याएको थियो। गत बर्ष चौमासिक रुपमा ७५ अर्बका दरले पैसा पठाइएको थियो।

स्थानीय तहमा ३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप जाँदा कर्जा-पूँजी निक्षेप अनुपात (सिसिडी) ८० प्रतिशत कायम गर्दा बैंकहरुसँग २ खर्ब ४६ अर्ब रुपैयाँ  ऋण दिन योग्य तरलता उपलब्ध हुन्छ। यो बर्षभरीमा उपलब्ध हुने तरलता हो।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell