आइपिओमा लगानी गर्न जुटाउनुस् रकम, मेगाको जेठ दोस्रो साता ७० करोडको आइपिओ आउँदै

बिजमाण्डू
२०७० जेठ ३ गते ००:०० | May 17, 2013
आइपिओमा लगानी गर्न जुटाउनुस् रकम, मेगाको जेठ दोस्रो साता ७० करोडको आइपिओ आउँदै

काठमाडौं । सर्वसाधरणलाई सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले मेगा बैंक नेपाललाई बिहिवार अनुमति दिएको छ । धितोपत्र बोर्डबाट ६९ करोड ९० लाख रुपैयाँका सेयर जारी गर्न अनुमति पाएको मेगा बैंकले जेठ दोस्रो सातासम्म सेयर जारी गर्ने तयारी गरिरहेको छ । बैंकले कुल चुक्ता पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारि गर्न लागेको हो । क्रेडिट रेटिङ निर्देशिका जारि गर्नुअघि नै बैंकले सेयर निस्कासनका लागि आवेदन दिएकाले मेगा जोगिएको हो । निर्देशिकापछि आवेदन दिनेले भने अनिवार्य रुपमा रेटिङ गराउनु पर्छ ।
सर्वसाधारणमा जारि हुने ६९ करोड ९० लाख बराबरको साधारण सेयरमा पाँच करोड रुपैयाँ बैंकका कर्मचारी तथा सामूहिक लगानी कोष र विक्री प्रबन्धकहरुले पाउने छन् । सर्वसाधारणले ६४ करोड ९० लाख रुपैयाँ बराबरको सेयरमा आवेदन दिन पाउने छन् । भर्खरै मात्र कमर्ज एन्ड ट्रस्ट बैंकले ६० करोड रुपैयाँ बराबरको सेयर निस्कासन गरेको थियो । बैंकको सेयरका लागि ६ अर्ब ७८ करोड रुपैयाँको आवेदन परेको थियो । सिभिल बैंक नेपालको सेयरमा पनि ७ गुणा आवेदन परेको थियो ।
आफूसँगै आएका बैंकहरुको भन्दा राम्रो नाफा आर्जन गरिरहेको बैंकले आगामी वर्ष नै लाभांस दिने अवस्था छ । सिभिल र कमर्जले पाँच प्रतिशत लाभांस दिने घोषणा गरिसकेका छन् । पछिल्लो समय सेयर बजार उकालो लाग्न थालेको र आवेदन दिएजति सबैले पाउने भएकाले वाणिज्य बैंकको सेयरमा आकर्षण वढेको छ । मेगा बैंकले नागरिक लगानी कोष, नबिल इन्भेष्टमेन्ट, एनएमबी क्यापिटल र एनआइबीएल क्यापिटल मार्केट्लाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
आक्रमक लगानी र सञ्चाल विस्तारमा लागेको बैंकले चैतमा मात्र १३ करोड एक लाख रुपैयाँ नाफा गरेको थियो । नयाँ आएका पाँच बैंकमध्ये लगानी विस्तार, निक्षेप संकलन र प्रतिफलका हिसावले अगाडि रहेको बैंकले चैतसम्म १२ अर्ब ८४ करोड निक्षेप संकलन गरिसकेको छ भने ११ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले ब्यापक रुपमा कारोबार विस्तार गरेका कारण नोक्सानी व्यवस्था वापतको रकम (प्रोभिजनिङ० बढे पनि नाफा बढेको हो । बैंकको नोक्सानी व्यवस्थाको रकम १४ करोड १६ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । बैंकले यसपाली खुद ब्याज आम्दानी ५० करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकमध्ये सवैभन्दा वढी संस्थापक सेयरधनी मेगा बैंकमा छन् । बैंकमा ६३ जिल्लाका एक हजार २२९ जना संस्थापक सेयरधनी छन् । संस्थापक सेयरधनीबाट पुँजीका रुपमा १ अर्ब ६३ करोड १० लाख रुपैयाँ चुक्ता भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल शाह छन्, बैंक सञ्चालक समिति अध्यक्षमा अर्थशास्त्री मदन दाहाल, सञ्चालकमा दुमन थापा, गोविन्द नेपाल, भोजवहादुर शाह, गोपाल खनाल, मदनकुमार आचार्य, सुशिलराम माथेमा, इश्वरवहादुर गुरुङ र शम्भुविक्रम थापा छन् । हलोदेखि हाइड्रोसम्म भन्ने नारासहित बैंकले कारोबार  विस्तार गरिरहेको छ । माइक्रो क्रेडिटलाई विस्तार गर्न बैंकले ४५ ठाउँमा शाखारहित बैंकिङ सेवा सुरु गरिसकेको छ । बैंकको कर्पोरेट कार्यालयसहित २९ शाखा छन् ।

Tata
GBIME
Nepal Life