
काठमाडौं । बैंकको खराब वित्तीय अवस्थालाई सुधार गर्न नसकेपछि दवाव झेलिरहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत भाइकाजी श्रेष्ठले राजिनामा दिएका छन् । अघिल्लो साता दिएको उनको राजिनामा सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । भाइकाजीको राजिनामा स्वीकृत भएपछि सञ्चालक समितिले विजयबहादुर श्रेष्ठलाई अहिले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।
सञ्चालक समिति निकट स्रोतका अनुसार माछापुच्छ्रे बैंकको नयाँ सिइओका लागि बोर्ड अहिले बैंक अफ एशियाबाट राजिनामा दिएका परशुराम कुँवर क्षेत्री, नेपाल एसबीआइका चिफ क्रेडिट अफिसर तुल्सीराम गौतम र लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत सोभनदेव पन्तसँग छलफलमा छ। कुँवर र पन्तले माछापुच्छ्रे नजाने बताएपछि अहिले गौतम जाने पक्का पक्की भएको छ । दश वर्ष अघि नेपाल एसबीआइ पुगेका गौतम त्यस अघि नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत थिए ।
गौतमलाइ कार्यकारी बनाउने निर्णयपछि माछापुच्छ्रेका विजयबहादुर श्रेष्ठ रूष्ट बनेका छन्, उनले राष्ट्र बैंकमा समेत यस विषयमा गुनासो गरेका थिए । कुँवरसँग राधेश पन्तले राजिनामा दिएपछि खाली भएको कुमारी बैंकमा सिइओ बनाउने विषयमा समेत त्यहाँको बोर्डले पनि छलफल गरिरहेको छ । कुमारीमा अहिले उदय कुमार उपाध्यायलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । दुई महिना अघि माछापुच्छ्रे बैंक स्टेण्डर्ड फाइनान्ससँग गाभिएपछि बैंकको वित्तीय अवस्था सुधार गर्न भाइकाजीमाथि तिव्र दवाव थियो । उनी प्रमुख कार्यकारी अधिकृत भएकै बेला एभ्को समूहलाई दिएको ऋण खराब कर्जामा परिणत भएपछि माछापुच्छ्रे बैंकको वित्तीय अवस्था राम्रो हुन सकेको थिएन । बैंकले एभ्को समूहलाई दिएको झण्डै एक अर्ब रुपैयाँ खराब कर्जामा परिणत भएको थियो । बैंकको खराब कर्जा साढे चार प्रतिशत छ ।
स्टेण्डर्डसँग मर्ज भएपछि पनि गत आर्थिक वर्षको अन्तमा माछापुच्छ्रे बैंकको मुनाफा जम्मा ७३ लाख रुपैयाँ मात्रै थियो । अघिल्लो वर्ष बैंकले ९४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
मर्जरपछि माछापुच्छ्रे बैंकको चुक्ता पुँजी २ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । मर्जरपछि बैंकमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत माछापुच्छ्रे बैंकबाट थिए भने स्टेन्डर्डका प्रमुख कार्यकारी अधिकृतलाई नायव महाप्रबन्धकको जिम्मेबारी दिइएको छ ।
माछापुच्छ्रेका अध्यक्ष सुर्यवहादुर केसी हुन् । बैंकमा अहिले नौ जनाको सञ्चालक समिति छ । स्टेन्डर्ड फाइनान्सबाट गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो माछापुच्छ्रेमा छिरेका हुन् । महतोका तर्फबाट उनका भाइ विरेन्द्र महतो बैंकमा सञ्चालक छन् । स्टेन्डर्ड फाइनान्स माछापुच्छ्रेसँग एक सय रुपैयाँको सेयर ८५ रुपैयाँ मूल्यांकन गरी मर्ज भएको हो ।