
काठमाडौं । नेपाल उडान थालेको मलेसियाको बजेट एयरलाइन्स एयर एसिया सन् २०१२ का लागि बिश्वकै उत्कृष्ट बजेट एयरलाइन्सको उपाधी पाएको छ । स्काई ट्रयाक्सले बिश्वका एक करोड नब्बे लाख यात्रुहरुमाझ गरेको सर्वेक्षणबाट एयर एसिया लागतार चौथो बर्ष यो उपाधि पाउन सफल भएको हो । यसअघि सन् २००९, २०१० र सन् २०११ मा पनि एयर एसियाले उत्कृष्ट बजेट एयरलाइन्सको उपाधि पाएको थियो ।
उपाधि पाएपछि एयर एसिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत टोनी फर्नान्डिजले एयर एसियाप्रति देखाएको बिश्वासप्रति धन्यबाद ब्यक्त गर्दै आगामी दिन अझै कम भाडादरमा उच्च सेवा उपलब्ध गराउने प्रण गर्नुभएको छ । लण्डनमा आयोजित फानबर्ग अन्तराष्ट्रिय एयर सोमा अवार्ड ग्रहण गर्न फर्नान्डिज पनि उपस्थीत हुनुहुन्थ्यो ।
६ वटा कम्पनी आबद्ध रहेको एयर एसिया ग्रुपले बिश्वका १४ वटा हवमार्फत ७७ गन्तब्यमा उडान गरिरहेको छ । ‘अब सवैले उडन सक्छन’ नारा लिएको एयर एसियाले हाल १ सय ११ वटा बिमानबाट उडान गरिरहेको छ । सोही समारोहमा एयर एसियालाई एसिया क्षेत्रको उत्कृष्ट बजेट एयरलाइन्सको उपाधि पनि दिइयो ।
एयर एसियाले गत जुलाई ३ तारिख(असार १९) देखि नेपालमा साताको दुईपटक उडान थालेको छ । एयर एसियाको नेपालस्थित जनरल सेल्स एजेन्ट (जीएसए) इन्सेन्टिभ टुर्स एण्ड ट्राभलका कार्यकारी अध्यक्ष हरिमान लामाले निकट भबिष्यमै सातामा चार उडान गर्न लागिएको जानकारी दिनुभयो ।
यसैगरि एयर एसियाले यही जुलाई १० तारिखबाट अनलाइन बुकिङ सुरु गरेको छ । उडान सुरु गरेको पहिलो सातामै बिश्वभरबाट ब्यापक चासो राखिएपछि ग्लोबल अनलाइन बुकिङ सुरु गरि एको एयर एसियाले जनाएको छ । यसअघि काठमाण्डौ र क्वालालम्पुरका सिमित आधिकारिक एजेन्सीमार्फत टिकट बिक्रि हुँदै आएको थियो । एयरएसिया डटकममा गएर कुनैपनि यात्रुले टिकट खरिद गर्न सक्नेछन् । एयर एसियाले ११ हजार रुपैयाँ (३ सय ९९ रिंगेट) मा काठमाण्डौं–क्वालालम्पुर टिकट उपलब्ध गराउँदै आएको छ ।
एयर एसिया एक्सका प्रमुख कार्यकारी अधिकृत अजरन ओसमान रानीले क्वालाम्पुर–काठमाण्डौं सेक्टरमा पर्यटनको बलियो सम्भावना देखेपछि तुरुन्तै अनलाइन बुकिङ सुरु गरिएको बताउनुभयो । उदघाटन उडानकै क्रममा काठमाण्डौबाट सतप्रतिशत अकुपेसी हुनुबाट एयर ग्लोबल अनलाइन सेल्स सुरु भएपछि पूर्वी एसिया र नेपालवीचको पर्यटन प्रर्बद्धन हुने उहाँले बिश्वास ब्यक्त गर्नुभयो ।