अमेरिकामा यस्तो, शहर टाट उल्टियो, वेरोजगारी १६ प्रतिशत, तलव खुवाउने पनि पैसा छैन

बिजमाण्डू
२०६९ असार २९ गते ००:०० | Jul 13, 2012
अमेरिकामा यस्तो, शहर टाट उल्टियो, वेरोजगारी १६ प्रतिशत, तलव खुवाउने पनि पैसा छैन

क्यालिफोर्निया । अमेरिकाको सबैभन्दा धनी राज्य क्यालिफोर्नियाको अर्को एउटा शहर पनि टाट उल्टिएको छ । वितेका तीन सातामा क्यालिफोर्नियामा टाट उल्टिएको यो तेस्रो शहर हो । साँ बर्नाडीनो नाम गरेको यो शहर टाट उल्टनु अघि क्यालिफोर्नियामा स्टकटन र मैमथ लेक्स टाट उल्टिएका थिए । वित्तीय संकटसँग लडिरहेको बर्नाडिनो शहरको परिषद्ले शहर टाट उल्टिएको घोषणा गरेको हो । परिषदमा मतदान गर्दा टाट उल्टेको घोषणा गर्दै स्थानीय अदालतमा समर्पण गरेपछि  अमेरिकामा सरकारी संरक्षण पाइन्छ ।
यो शहर झण्डै नेपालको भक्तपुर जत्रो शहर थियो, जहाँ दुई लाख १० हजार नगरवासी छन् । परिषद्ले शहरको बजेट घाटा चार करोड ६० लाख डलर भएको जानकारी दिएको छ । शहर यस्तो अवस्थामा आइसकेको छ, उसले यो गर्मीमा आफ्ना कर्मचारीलाई पनि तलव खुवाउन सक्दैन । लसएन्जल्सबाट ६० किलोमिटर दुरीमा रहेको यो शहरमा घरजग्गा ऋणले ठूलो समस्या पारेको बताइएको छ ।
ऋण चुक्ता गर्न नसकेपछि परिषद्ले शहरका पाँच हजार घर कब्जा गर्नु परेको थियो । यसले सरकारलाई ठूलो वित्तीय घाटा लाग्यो । यो शहरमा वेरोजगारी झण्डै १६ प्रतिशत छ, जबकी अमेरिकाको औषत वेरोजगारी दर जम्मा आठ प्रतिशत मात्रै छ । शहरमा वित्तीय घाटा बढ्दै गएपछि बेरोजगारीको दर बढेको हो ।
परिषद्को यो निर्णयप्रति स्थानीयवासिन्दा भने निक्कै रिसाएका छन्, उनीहरुका अनुसार परिषद्ले आम्दानी हुँदा अनुपयुक्त क्षेत्रमा त्यसै फजुल खर्च ग¥यो, जसका कारण अहिलेको यो अवस्था सिर्जना भयो ।
हालै अन्तराष्ट्रिय मुद्रा कोषले अमेरिकाको आर्थिक वृद्धिदरको अनुमान २.१ प्रतिशतबाट घटाएर दुई प्रतिशत मात्र गरेको थियो । यसले पनि अमेरिका अझै आर्थिक संकटबाट बाहिर आइनसकेको प्रष्ट हुन्छ ।

Tata
GBIME
Nepal Life