काठमाडौं । प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बाँस्कोटासहित विभिन्न सचिवहरुले काठमाडौको सडक कालोपत्रे नभएको भन्दै असन्तुष्ट जनाएका बेला राष्ट्रिय उपभोक्ता मञ्चले राजधानीको ‘लाइफलाइन’ खानीखोलादेखि नागढुंगा सडक निर्माणमा वेवास्ता गरिएकोमा आपती जनाएको छ ।
‘देशको आर्थिक, राजनैतिक र सामरिक हिसाबले महत्वपूर्ण मानिएको सडक जीर्ण बन्दा पनि कसैको ध्यान गएको छैन,’ मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भनेका छन्, ‘यसले यात्रु उपभोक्ताले सास्ती भोग्दै आएका छन् ।’
राजधानी जोड्ने नौविसे– नागढुंगा सडकको एकातर्फको खण्ड कामै नलाग्ने भएको छ । त्यहाँ चल्ने सवारी साधन दैनिक रुपमा विग्रिएर लामो जाममा बस्नुपरेको छ । मञ्चले मुख्यसचिव लीलामणि पौडेललाई संबोधन गर्दै सडक मर्मत तत्काल थाल्ने वातवरण बनाउन आग्रह गरेको छ ।
मञ्चले पौडेल प्रधानमन्त्री कार्यालयको सचिव हुँदा सो सडक खण्डका अवलोकन गरेर प्रशंशा पाए पनि सडक सुधार हुन नसकेकोमा दुभाग्र्यपूर्ण भएको ठहर गरेको छ । ‘देशको मुख्यसचिव जस्तो उच्च प्रशासकको पदमा आसिन हुंदा समेत ती सडकहरु यथास्थितिमा नै हुनु र उपभोक्ताहरुले निरन्तर दुख कष्ट भोग्नु परेको बारे निरन्तर समाचारहरु संम्प्रेषण हुंदा समेत सरकारको तर्फबाट टालटुले मर्मत गरी जनतालाई बेवकूफ बनाउने काम सिवाय अरु केही भएको देखिएन,’ मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सडक मर्मत सुधारको लागि खडा भएको सडक बोर्डले पृथ्वीराजमार्ग भई गुडने सवारी यातायातसँग दैनिक एक करोड उठाएपनि सडक निर्माणमा ध्यान गएको छैन ।’
