काठमाडौं । चितवन रामपुर बजारमा नेपाल बैँक लिमिटेडले विहिवारदेखि आफ्नो शाखा पुन सञ्चालनमा ल्याएको छ । पुनस्थापित रामपुर शाखाको बैंक व्यबस्थापन समितिका संयोजक प्रा. डा. देवराज अधिकारीले विहिबार उद्घाटन गरे । यो बैंकको ११५ औं शाखा हो ।
पुनस्थापित शाखाबाट सेवाग्राहीहरुलाई सम्पूर्ण बैंकिङ्ग सुविधाहरु उपलब्ध हुने बैंकले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । संयोजक अधिकारीले नेपाल बैंकले कम्प्यूटराईज्ड सुविधा सहित सिपयुक्त जनशक्तिको माद्यमबाट गुणस्तरिय सेवा प्रदान गर्दै जाने बताए । उनले भने, नेपाल बैंक नाफामुखि बैंकको रुपमा मात्र नभइ सामाजिक उत्तरदायित्व समेत निर्वाह गरिरहेको छ । यो शाखा को पुनस्थापनाबाट रामपुर क्षेत्रमा उद्योग व्यवसाय विस्तारको साथै समग्र आर्थिक विकासमा मद्धत पुग्ने उनले विश्वास व्यक्त गरे ।
बैकका कायम मुकायम महाप्रबन्धक किरणकुमार श्रेष्ठले पुनस्थापित शाखा बाट कृषि कर्जा लगाएत बैंकका सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु उपलब्धहुने जानकारी दिँदै यसै आर्थिक बर्षमा देशका विभिन्न भागमा थप चारवटा शाखा पुनस्थापना गरिने बताए । चितवन जिल्लामा कृषिजन्य उद्योग व्यवसायको व्यापक सम्भावना भएकोले यस क्षेत्रको व्यवसायीक साझेदारको रुपमा बैंकले सेवा प्रदान गर्ने धारणा समेत उनले राखे । समारोहमा कृषि तथा वन विज्ञान विश्वविधालयका रजिष्टार सूर्यकान्त धिमिरेले ऐतिहासिक बैंकको पुनरागमनले रामपुर क्षेत्रको व्यवसायीक लगाएत शैक्षिक क्षेत्रको विकासमा मद्धतपुग्ने विचार व्यक्त गरे ।
कृषि क्याम्पसका प्रमुख श्याम सुन्दर पन्तले बाह्रबर्ष पछि बैंक पुनस्थापन भएकोमा स्वागतगर्दै स्थानिय जनताले बैंकबाट भरपुर सेवा लिने बताए । स्थानिय समाजसेवी आसबहादुर लामाको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा रामपुर बजार व्यवस्थापन समितिका अध्यक्ष विदुर अधिकारीले रामपुरवासीको मागअनुसार नै बैंक शाखा आएकोमा खुशी व्यक्त गरे । नेपाल बैंक लिमिटेडका मुख्य प्रबन्धक पुष्पप्रसाद श्रेष्ठले शाखा पुनस्थापनाको लागि अनुरोध गर्ने स्थानिय बासीहरुले बैंकलाई यस क्षेत्रमा सेवा उपलब्ध गराउने अबसर प्रदान गरेकोमा धन्यवाद दिए ।
