भारु बलियो भएपछि डलर अझै पछारियो, नेपाली मुद्रा अधिमूल्यन प्रतिडलर ८२ नजिक

बिजमाण्डू
२०६९ असोज १८ गते ००:०० | Oct 4, 2012
भारु बलियो भएपछि डलर अझै पछारियो, नेपाली मुद्रा अधिमूल्यन प्रतिडलर ८२ नजिक

काठमाडौं । भारतीय रुपैयाँ बलियो भएपछि नेपाली रुपैयाँ डलरसँग ६० पैसासम्मले अधिमूल्यन भएको छ । यसले डलरको भाउ ८२ रुपैयाँ नजिक पुर्याएको छ । नेपाल राष्ट्र बैंकले डलरको भाउ ८३ रुपैयाँ ९४ पैसा तोके पनि बाणिज्य बैंकहरुले कारोवारको पहिलो सत्र नै ८३ रुपैयाँ ३० पैसाबाट सुरु गरेका छन् । बुधवार बिहान बाणिज्य बैंकहरुले ८४ रुपैयाँ १० पैसामा कारोवार गरेका थिए भने साँझ २० पैसा घटाएर ८३ रुपैयाँ ९० पैसामा कारोवार गरेका थिए ।
बैंकहरुले नगद सटहीभन्दा ट्राभल चेकको विक्री अझ सस्तो ८३ रुपैयाँ तल गर्न थालेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बैंकले नगद एक डलर ८३ रुपैयाँ ३० पैसामा विक्री गरेका छन् भने नबिल बैंकले ८३ रुपैयाँ ३५ पैसामा विक्री  गरेको छ ।
बैंकहरुले सर्वसाधरणसँग डलर खरिद गर्दा विक्रीदरभन्दा ७० देखि ९० पैसा कममा कारोवार गर्दछन् । इन्भेष्टमेन्ट बैंकले ८२ रुपैयाँ ७० पैसामा डलर सटही गर्दछ भने नबिल बैंकले सटही गर्दा ८२ रुपैयाँ ३४ पैसा दिन्छ । विहिवार डलरको तुलनामा भारतीय रुपैयाँ निक्कै बलियो भएपछि त्यसको असर नेपाली मुद्रामा पनि परेको हो । भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमयदर छ । विहिवार कारोवारको पहिलो सत्रमा भारु डलरसँग झण्डै २० पैसाले बढेर कारोवार भएको थियो । बुधवार भारु ५२.१५ मा बन्द भएको थियो भने बिहान ५१.९६ मा खुलेको थियो ।
डलरसँगको कारोवारमा भारु साढे पाँच महिना यताकै बलियोस्थिमा आएको हो । भारत सरकारले सुधारका अरु कार्यक्रम घोषणा गर्ने आशमा भारुको अधिमूल्यन सुरु भएको हो । सरकारले इन्सुरेनस र पेन्सन फण्डमा थप वैदेशिक लगानीका लागि खुला गर्ने कानूनमा संसधोन गर्ने प्रस्ताव स्वीकृत गरेपछि भारु अधिमूल्यन भएको हो ।

Tata
GBIME
Nepal Life