घरजग्गा कारोवारमा सुधार आएको अर्थसचिवको दावी, कर्जा ७० अर्बमा झर्यो

बिजमाण्डू
२०६९ असोज १७ गते ००:०० | Oct 3, 2012

काठमाडौं । अर्थसचिव कृष्णहरि बास्कोटाले घर–जग्गा कारोबारमा सुधार आएको दावी गरेका छन् । विराटनगर भन्सार कार्यालयको नवनिर्मित जाँचकी कक्षको मंगलबार उद्घाटन गर्दै सचिव बास्कोटाले पछिल्लो समयमा घर–जग्गा कारोबार सुधारतर्फ अघि बढेको बताएका हुन् ।
‘विगतका वर्षहरु भन्दा अहिले घर–जग्गा कारोबारमा विस्तारै सुधार हुँदै गइरहेको छ,’ उनले भने । घरजग्गाको मूल्य अस्वभाविक रुपमा बढेपछि तीन वर्षअघि राष्ट्र बैकले घरजग्ग्गा कर्जामा बैंक तथा वित्तीय संस्थामा सीमा तोकेको थियो । घरजग्गा कर्जामा सीमा तोकेपछि कारोबारमा मन्दी आएको छ । बैक तथा वित्तीय संस्थाको घरजग्गा कर्जामा ७० अर्ब ऋण छ ।  तीन वर्षअघि यो ऋण १ खर्ब ३० अर्ब थियो । मन्दीका कारण विभिन्न हाउजिङ कम्पनीले निर्माण गरिरहेको अर्पाटमेन्ट बिक्री हुन सकेको छैन भने धेरै हाउजिङ कम्पनीका सञ्चालक धमाधम कालोसूचीमा पर्न थालेका छन् ।
सचिव बास्कोटाले ६ वटा भन्सार कार्यालयमा जोखिम व्यवस्थापनमा आधारित छनौट प्रणाली लागू भएको जानकारी दिँदै यो प्रणालीलाई अन्य भन्सार नाकामा पनि विस्तार गरिने बताए ।
कार्यक्रममा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विनोद कुँवरले राजस्व लक्ष्य भन्दा बढी असुली भएको बताए । उद्योग संगठन मोरंगका अध्यक्ष दिनेश  गोल्छाले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै भन्सार प्रशासनले शुरु गरेको भन्सार सुधार कार्यव्रmमलाई पूर्णरुपले सहयोग रहने बताए ।

Tata
GBIME
Nepal Life