एभरेष्टले भन्यो, मूल्यका आधारमा यस वर्षको बोनस गतवर्षभन्दा उच्च

बिजमाण्डू
२०६९ असोज ६ गते ००:०० | Sep 22, 2012
एभरेष्टले भन्यो, मूल्यका आधारमा यस वर्षको बोनस गतवर्षभन्दा उच्च

काठमाडौं । एभरेष्ट बैंकले मूल्यका आधारमा ३० प्रतिशत बोनस सेयर गतवर्षको ६० प्रतिशत लाभांसभन्दा बढी भएको भन्दै सेयरधनीलाई विश्वासमा लिन खोजेको छ । बैंकले गतवर्ष ५० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिएको थियो । एभरेष्ट बैंकले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै कम लाभांसका कारण निराश सेयरधनीलाई आश्वास्त पार्ने कोसिस गरेको हो । बैंकका सञ्चालकको नगद लाभांस दिने चाहना भए पनि राष्ट्र बैंकको नयाँ निर्देशनले दिन नपाएको जानकारी पनि प्रेस विज्ञप्तिमा दिइएको छ ।
राष्ट्र बैंकले नगद लाभांस वितरणपछि क्यापिटल एडुकेसी रेसियो (सिएआर) ११ प्रतिशतभन्दा तल नजाने गरी लाभांस वितरण गर्न निर्देशन दिएपछि एभरेष्ट अफठ्यारोमा परेको थियो । बैंकको सिएआर जम्मा ११.०८ प्रतिशत मात्रै छ । बैंकको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांस सम्वन्धि प्रस्ताव पारित गरेको थियो । १७ प्रतिशतले नाफा बढाएका कारण एभरेष्टका सेयरधनीले उच्च लाभांसको अपेक्षा गरेका थिए ।
बैंकले प्रतिसेयर आम्दानी ८८ रुपैयाँ ५५ पैसा भएको भन्दै यो नेपालका बैकिङ्गमा सबैभन्दा उच्च भएको दावी गरेको छ । बैंकले चुक्ता पुँजीको २२८ प्रतिशत बढी रिजर्भमा भएको जानकारी पनि दिएको छ । न्युन खराब कर्जा भएको दावी पनि बैैंकको छ । बैंकले गतवर्ष आफ्नो नाफा एक अर्ब नौ करोड रुपैयाँ पुर्याएको थियो । एभरेष्ट बैंकले पाँच वटा क्यास डिपोजिट गर्न पनि मिल्ने एटिएम मेशिन जडान गरेको र मोवाइल एटिएम अहिले ट्रायलमा रहेको जानकारी पनि दिएको छ ।

Tata
GBIME
Nepal Life