काम चलाउ सरकारको बजेट ल्याउने नैतिक अधिकार छैन : डा. महत

बिजमाण्डू
२०६९ जेठ ३० गते ००:०० | Jun 12, 2012

पूर्व अर्थ मन्त्री तथा नेपाली कङ्ग्रेसका केन्दीय सदस्य डा. रामशरण महतले काम चलाउ सरकारले बजेट ल्याउने कुनै नैतिक अधिकार नभएको बताएका छन्।

Tata
GBIME
 

महतले भने- राष्ट्रपति महोदयले समेत काम चलाउ सरकार भनिसकेपछि पदमुक्त सरकारले अन्य दलको सहमति, सुझावबिना बजेट ल्याउने अधिकार छैन।

आइतबार रिपोर्टर्स क्लब नेपालमा नेपाल विद्यार्थी सङ्घले नयाँ आन्दोलनको घोषणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. महतले भने– अहिले माओवादी र मधेसी मोर्चा सत्ता कब्जा गर्नकै लागि अध्यादेशबाट बजेट ल्याउने तयारीमा छन् तर राष्ट्रिय सहमतिबिना नयाँ बजेट ल्याउने कल्पना नगरे हुन्छ, सम्भावनै छैन।

राजा ज्ञानेन्द्रले काम चलाउ सरकार र जन प्रतिनिधिविहीन अवस्थामा सत्ता कब्जा गरेको स्मरण गराउँदै डा. महतले माओवादी सत्ता कब्जा गर्न पटक–पटकको प्रयासबाट चुक्दै आयो, अहिले पनि सरकार र जनप्रतिनिधि नभएको अवस्थामा सत्ता कब्जा गर्न खोजेको आरोप लगाए।

डा. महतले भने– देशमा यस्तो जटिल परिस्थिति भएको बेला  एक डेढ सय जनाको जत्था लिएर प्रधान मन्त्री अर्थ समिटमा भाग लिन रियो दि जेनेरियोमा जाने कुरा सुनिँदैछ, काम चलाउ प्रधान मन्त्रीको अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्र प्रमुख भएर जाने अधिकार छैन, त्यसको म घोर विरोध गर्दछु।

पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय कार्यवहाक अध्यक्ष क्षितिज भण्डारीले भने– काम चलाउ सरकारले बजेट ल्याउने, चुनाव गर्ने, सरुवा–बढुवा गर्ने कुनै अधिकार छैन, नेविसङ्घ काम चलाउ सरकारको सबै निर्णयको विरोध गर्छ। उनले भने- प्रधान मन्त्रीलाई एयरपोर्ट घेरेर विदेश भ्रमण जानबाट रोक्छौं।

नेपाल विद्यार्थी सङ्घले असंवैधानिक प्रधान मन्त्रीको राजीनामासहित राष्ट्रिय सहमतिको सरकार निर्माण नभएसम्म ७५ जिल्ला र विदेशमासमेत एक साता लामो आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक गरेको छ।

सङ्घले जेठ २९ गते बिहान ८ बजे भक्तपुर क्याम्पसमा श्रद्धाञ्जली सभा, साँझ ५ बजे कोटेश्वरमा प्रधान मन्त्रीको पुत्ला दहन, ३० गते देशव्यापी अनसन (काठमाडौंको शान्ति बाटिकामा), ३१ गते बिहान अधिराज्यभर हस्ताक्षर अभियान, साँझ ५ बजे बानेश्वर चौकबाट नाङ्गो जुलुस, ३२ गते बिहान ९ बजे चक्काजाम ल क्याम्पसमा प्रधान मन्त्रीको पुत्ला दहन, साँझ ४ बजे पेन्टिङ र हाँस्यव्यङ्ग्य र असार १ गते साँझ ५ बजे पाटनमा कोणसभाको कार्यक्रम सार्वजनिक गरेको हो।