सेञ्चुरी बैंकको सेयर एक लाख लगानीकर्ताले मागे, २२ गुणा अर्थात २० अर्ब रुपैयाँका लागि आवेदन



बिजमाण्डू
२०७० माघ २ गते ००:०० | Jan 16, 2014
सेञ्चुरी बैंकको सेयर एक लाख लगानीकर्ताले मागे, २२ गुणा अर्थात २० अर्ब रुपैयाँका लागि आवेदन
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको प्राथमिक सेयर निष्कासन (आइपिओ)मा २२ गुणा बढि आवेदन परेको  बिक्री प्रबन्धकहरुले बताएका छन् । बैंकको सेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषका वित्तीय विश्लेषक नारायणप्रसाद घिमिरेले ९२ करोड रुपैयाँको आईपिओमा २० अर्ब रुपैयाँको आवेदन परेको बताए । 
उनले बैंकको सेयरका लागि एक लाख आवेदन आएको जानकारी समेत दिए । हामी हिजो राती अवेरसम्म यही हिसाव किताव गरिरहेका थियौं, पूर्ण तथ्यांक आज दिउँसो मात्रै आउँछ तर अहिलेसम्मको हिसावमा एक लाख आवेदकबाट २० अर्ब रुपैयाँको माग भएको छ । बैंकको सेयरमा आइतवारसम्ममा मात्रै ६ अर्ब ५० करोड रुपैयाँको माग परेको  थियो ।अन्तिम दिन मात्रै साढे १३ अर्बको आवेदन आएको थियो ।  पुस २५ गतेबाट ९२ लाख कित्ता सेयर जारी  गरेको बैंक सञ्चालनमा रहेका ३१ वणिज्य बैंकमध्ये आइपिओ जारी गर्न बाँकी एक मात्र निजी बैंक भएकोले पनि आर्कषण उच्च रहेको विश्लेषक बताउँछन् । 
आइपिओ बिक्रीका लागि छिटोमा पुस २९ गतेसम्मको अवधि तोकेको बैंकको सेयरमा मागभन्दा बढि आवेदन परेपछि यही दिनबाट निष्कासन समेत बन्द भएको छ । बैंकको प्राथमिक निष्कासनमा न्युनतम ५० कित्तादेखि अधिकत्तम १० लाख कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था गरेको थियो । 
बैंकले कुल सेयरमध्ये चार लाख ६० हजार कित्ता सेयर सामूहिक लगानी कोष र चार लाख ६० हजार कित्ता बैंकका आफ्ना कर्मचारीहरुलाई छुट्याइएको थियो । सामूहिक लगानी कोषलाई छुट्याइएको सेयर नागरिक एकांक योजना, नबिल ब्यालेन्स फण्ड १ र सिद्धार्थ लगानी वृद्धि योजना १ लाई बाँडफाँड गरिसकिएको छ । 
बैंकको सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह निष्कासकमा नबिल इनभेष्टमेन्ट बैंक, सिभिल क्यापिटल, ग्रामोर मर्चेन्ट, एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड थिए । बैंकले बिभिन्न जिल्लामा रहेको आफ्नो ३१ वटा शाखा र बिक्री प्रबन्धक लगायत अन्य १३ कम्पनीबाट सेयर बिक्रीको प्रबन्ध मिलाएको थियो । बैंकको सेयर निष्कासनपछि चुक्तापुँजी दुई अर्ब रुपैयाँ पुग्ने छ । 
बैंकले चालु आर्थिक वर्षमा १६ करोड ८१ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरेको छ । बैंक सञ्चालनको पहिलो बर्ष ८२ लाख ४४ हजार रुपैयाँ, दोस्रो बर्ष नौ लाख २२ हजार रुपैयाँ र तेस्रो बर्ष छ करोड ६३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको अहिलेसम्म चुक्तापूँजी एक अर्ब आठ करोड छ भने सञ्चित कोषमा १३ करोड ८६ लाख रुपैयाँ छ । बैंक यो अवधिमा छ करोड ६३ लाख नाफामा रहेको छ । बैंकले छ करोड ९४ हजार रुपैयाँ सम्भावित नोक्सान बापत व्यवस्था गरेको छ । बैंकको ३० करोड ८३ लाख व्याज आम्दानी गरेको छ । 
 

Tata
GBIME
Nepal Life