विराटनगर । घिउतेल उद्योगीले भारतले प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणका अवसरमा नेपालले गुजरातस्थित दीनदयाल (कान्डला) बन्दरगाह प्रयोग गर्न पाउने सहमति दिएकोमा स्वागत गरेका छन्।
उद्योगीले नेपालमा घिउतेल उद्योगले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएको र कान्डला बन्दरगाहबाट कच्चातेलको आयात गर्न पाइने व्यवस्था हुनलागेको भन्दै स्वागत गरेका हुन्।
नेपाल घिउतेल उत्पादक संघका अध्यक्ष विकास दुगडले यस व्यवस्थाले नेपालका प्रशोधित खाद्यतेल उद्योगका मुख्य कच्चापदार्थ क्रुड सनफ्लावर आयल र क्रुड सोयाबिन आयलको आयातमा ठुलो सहजीकरण हुने बताए।
चालु आर्थिक वर्षको पहिलो ४ महिनामा सबैभन्दा बढी क्रुड सनफ्लावर आयल अर्जेन्टिनाबाट र यसपछि युक्रेन तथा पाराग्वेबाट आएको छ। त्यस्तै क्रुड सोयाबिन आयल पनि सबैभन्दा बढी अर्जेन्टिनाबाटै आएको छ । यसपछि चीन, ब्राजिल, पाराग्वे, थाईल्यान्ड, भियतनाम र युक्रेनबाट आएको छ।
चालु आर्थिक वर्षको पहिलो ४ महिनामा समुद्रपारबाट आयात हुनेमा सबैभन्दा बढी ६३ अर्ब बराबरको क्रुड सोयाबिन आयल भएको भन्सार विभागले जनाएको छ।
अध्यक्ष दुगडले संघका तर्फबाट विज्ञप्ति प्रकाशित गर्दै घिउतेल उद्योगी हालसम्म कोलकाता र हल्दिया वन्दरगाहमा मात्र निर्भर रहनुपर्दा ढुवानीखर्च, समय तथा आयातलागतका दृष्टिले कठिनाइ भइरहेको बताए।
‘यसको समाधानका लागि हामीले वैकल्पिक रुटका रूपमा कान्डला वन्दरगाह उपलब्ध हुनुपर्ने बारम्बार आग्रह गर्दै आएका थियौं। अब नेपालका उद्योगहरूलाई थप वैकल्पिक आयात मार्गका साथमा लागत न्यूनीकरण, आपूर्ति सहजता र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिको अवसर पनि प्राप्त भएको छ’, दुगडले भने।
अध्यक्ष दुगडले आगामी दिनमा पनि सरकार र व्यवसायी बिच सघन अन्तरक्रिया, संवाद र मुद्दामा निरन्तर छलफल हुने विश्वास गर्दै सरकार र निजी क्षेत्रबिचको समन्वय र सहकार्य टुट्नु नहुने बताए।










