काठमाडौं। पूर्वप्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हेडक्वाटर फर्किने बाटो बन्द भएको छ। सर्वोच्च अदालतले कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले बुधबार दुवै पक्षको बहसपछि अन्तरिम आदेश दिन अस्वीकार गरकेो हो।
‘कात्तिक १८ गतेको निर्णयानुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्ति बुझी सो पदको कार्यभार सम्हालीसकेको भन्ने मिसिलबाट देखिएको, निवेदकले अन्तरिम आदेशको माग गरेको प्रस्तुत विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्वको संवेदनशील विषय भएको र रिट निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तरिम आदेशको मागसँग अन्तरनिहित कानूनी प्रश्नहरुको रिट निवेदनको अन्तिम सुनुवाई हुँदा निरुपण र सम्बोधन हुने प्रकृतिको देखिंदा सुविधा सन्तुलनको दृष्टिसमेतबाट निवेदन माग बमोजिम हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन,’ आदेशमा भनिएको छ।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर उनको स्थानमा डा. मनोज केसीलाई बढुवा गरेको थियो। कार्कीलाई त्यसै दिन प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो। त्यसपछि कार्की प्रहरी महानिरीक्षकको रुपमा नै काम गर्नु पाउनुपर्ने अन्तरिम आदेश माग गर्दै सर्वोच्च पुगेका थिए।










