हुम्लामा ६८४ मेगावाटको जलविद्युत् आयोजना बनाइने, लागत १ खर्ब ४६ अर्ब रुपैयाँ

बिजमाण्डू
२०८३ मंसिर ९ गते १८:२६ | Nov 25, 2026
हुम्लामा ६८४ मेगावाटको जलविद्युत् आयोजना बनाइने, लागत १ खर्ब ४६ अर्ब रुपैयाँ

काठमाडौं। हुम्लामा ६८४.६ मेगावाट क्षमताको अर्धजलाशययुक्त हुम्ला कर्णाली क्यास्केड जलविद्युत् आयोजना निर्माण गरिने भएको छ।

GBIME
Tata

हुम्लाको नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकामा भौतिक संरचना रहने गरी हुम्ला कर्णाली नदीमा आयोजना बनाइने भएको हो। आयोजनालाई माथिल्लो एचके-१ र तल्लो एचके-२ गरी दुई खण्डमा विभाजन गरिएको छ।

एचके-१ नाम्खा गाउँपालिका-४ मा बाँध निर्माण गरी वडा २ र ३ हुँदै सिमकोट गाउँपालिका-८ मा रहने विद्युत् गृहसम्म सुरुङ निर्माण गरिनेछ। जसबाट ४५२ मेगावाट विद्युत् उत्पादन हुनेछ।

एचके-२ सिमकोट गाउँपालिका-८ मा निर्माण गरिने पोखरीबाट सिमकोट-३, ४, ५, ७, ८ तथा खार्पुनाथ गाउँपालिका- ४ र ५ हुँदै वडा ४ मा रहने विद्युत् गृहसम्म सुरुङ बनाइनेछ। यसबाट २३२.६ मेगावाट विद्युत् उत्पादन हुनेछ।

सुक्खायाममा दैनिक ६ घण्टा नदीको पानी थुनेर १०० घनमिटर प्रति सेकेन्ड पानी उपयोग गर्ने गरी ४६.५ मिटर अग्लो बाँध निर्माण गरिनेछ। जसबाट ३.४ किलोमिटर लम्बाइको जलाशय बन्नेछ। एके-१ को बाँधदेखि एचके-२ को विद्युत् गृहसम्म विभिन्न स्थानमा साइड इन्टेक, बालुवा थिग्राउने पोखरी, हेडरेस सुरुङ, अडिट, सर्ज ट्याङ्क, पेनस्टक पाइप, विद्युत् गृह र टेलरेस नहर लगायत संरचना निर्माण गरिनेछन्।

स्थायी र अस्थायी संरचना निर्माणका लागि १७३.७० हेक्टर सरकारी र ३६.५४ हेक्टर निजी जग्गा आवश्यक पर्नेछ। आयोजना बनाउन १ खर्ब ४६ अर्ब ५१ करोड ९५ लाख रुपैयाँ खर्च हुने अनुमान छ।

विद्युत् विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदन तयार पारेको छ।