काठमाडौं। खानी तथा खनिज पदार्थ ऐन, २०४२ लाई संशोधन गर्न ल्याएको विधेयकले पञ्चायतकालीन व्यवस्थाकै पुनरावृत्ति गर्न खोजेको भन्दै विज्ञहरूले आपत्ति जनाएका छन्।
संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा छलफलमा रहेको खानी तथा खनिज पदार्थ विधेयकका प्रावधानमाथि भूगर्भविदहरुले आपत्ति प्रकट गरेका हुन्।
भूगर्भविद् डा. कविराज पौडेलले विधेयकको दफा ३६ मा रहेको खानी तथा खनिजको अध्ययन गर्न पूर्व स्वीकृति लिनुपर्ने नभए उपकरण जफत गर्ने व्यवस्थाले खनिज पदार्थ उत्खनन र उत्पादनमा संकट पैदा गर्ने बताए। ‘एक टुक्रा खनिज निकाल्दा पनि स्वीकृति लिएर गर्ने भनेको छ। त्यो एकदम प्रशासनिक झन्झट थप्ने काम भयो। यसले हामी अगाडि बढ्न सक्छौं जस्तो लाग्दैन,’ उनले भने ।
खानी तथा खनिज पदार्थको अनुसन्धानबिना नेपालमा कसैले पनि लगानी नगर्ने भन्दै पौडेलले अनुसन्धान गर्न प्रशासनिक व्यवस्थालाई खुकुलो बनाउनुपर्ने बताए।
विज्ञहरूले सानातिना भन्दा ठूलो मात्राको उत्खनन भए मात्रै उद्योग व्यवसाय चल्ने सुझाव दिए। सरकारले एउटा खनिजदेखि अर्को खनिजको बीचमा ५० मिटर छोड्नुपर्ने व्यवस्थामा पनि कडाइ गरेकोमा समितिमा प्रश्न उठेको छ।
‘हामी बृहत् ठूल्ठूला माइनिङ गर्यो भने पो लगानी अनुसारको देशलाई अर्थतन्त्रमा योगदान हुन्छ। एउटा खनिज र अर्को खनिजको बीचमा ५० मिटर छोड्नुपर्ने नियम छ,’ पौडेलले भने, ‘ठ्याक्कै रेप्ट्याङ्गल हुनुपर्छ अथवा स्क्वायर हुनुपर्छ भनिएको छ। धातुको फैलावट त जस्तो पनि हुन सक्छ। इरेगुलर हुनसक्छ, ओभल हुन सक्छ,’ उनले भने।
खानी तथा भूगर्भ विभागलाई केवल अनुमति पत्र वितरण गर्ने विभाग बनाएकोले त्यसलाई बदल्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन्। सांसदहरूलाई अहिले विधेयकमा भएको व्यवस्थालाई वैज्ञानिक अनुसन्धान र नमूना संकलनलाई व्यावसायिक अन्वेषणबाट अलग गर्नुपर्ने सुझाव आएको छ।
सरकारले एकैचोटी व्यावसायिक सम्झिँदा लगानीको वातावरण नबनेको हो। पहिला खोज्न, अध्ययन गर्न आएकालाई व्यवसाय नै गर्न आएको सम्झिँदा कसैले पनि आफ्ना लगानी डुबाउनका लागि उत्खनन नगर्ने अर्का भूगर्भविद् पुरुषोत्तम अधिकारीको भनाइ छ। ‘एकैचोटी यसले राम्रै कमाउन आयो भनेर च्याप्पै अँठ्याउनेभन्दा हामीले बाटो खुला गर्नुपर्छ,’ उनले भने।
खानी क्षेत्रमा विदेशी लगानी ल्याउनेबारे विधेयकमा तोकिए बमोजिम मात्रै भएको भन्दै त्यसलाई पनि प्रस्ट रूपमा लेख्नुपर्ने विज्ञहरूको मत छ।
समितिले सुझावका लागि बोलाएका अर्का भूगर्भविद् अर्जुन भट्टराईले रणनीतिक र सामरिक महत्वको खनिजलाई छुटाउनुपर्ने बताए। सरकारले मात्रै खनिजको उत्पादन गर्ने भन्नु नै सर्वथा गलत हुने उनको भनाइ छ।
‘नेपाल सरकारले मात्र खनिजको उत्पादन गर्दा उत्पादन हुँदैन। खनिज छ, तर खानी विभाग को आफ्नो अधिकारभित्र छैन। जमिनका लागि छ, वन क्षेत्रका लागि उनीहरूको अधिकार छ तर यो विभागको खनिज क्षेत्रमा छैन। वनका लागि वन मन्त्रालय छ,’ उनले भने।
अहिले खानी उद्योग कि आयोजना भन्ने विवाद कायमै रहेकाले विधेयकमा प्रस्ट रूपमा खानी उद्योग लेख्नुपर्ने उनले माग गरे। ‘सानो मात्रामा खनिज उत्पादन गर्दैमा कम्पनी सानो हुँदैन। जस्तो सुन, रुबीको लगानीबाट हेर्नुपर्यो। लाइसेन्सको अवधि पनि लामो राखिनुपर्छ,’ उनले भने।
बहुमूल्य पत्थरको उत्खनन निजी क्षेत्रलाई दिने र बिक्री वितरण राज्यले राख्नुपर्ने मत भट्टराईको छ। ‘बिक्री मूल्यको १५ प्रतिशत राजस्व लिनुपर्छ। जस्तै चुनढुङ्गा भनेर ६० रुपैयाँ लिन्छ। तर सबै चुनढुङ्गाको मूल्य एउटै हुँदैन। कुनैको ४ सय हुन्छ कुनैको १२ सय हुन्छ,’ उनले भने।
विधेयकमा स्वीकृत क्षेत्रभन्दा अरू ठाउँमा उत्खनन गरेमा ५ लाखदेखि १ करोड रुपैयाँसम्म जरिवाना, ५ देखि १० वर्षसम्म कैद र मुलुकी फौजदारी संहिता, २०७४ अन्तर्गत मुद्दा चल्ने व्यवस्था प्रस्तावले खानी उद्योग आउनै नसक्ने उनीहरूले स्पष्ट पारेका छन्।
उद्योगीलाई विधेयकमा प्रस्तावित व्यवस्थाले त्रासमा राखेको भन्दै खुकुलो प्रावधान राखेर लगानी आकर्षित गर्न उनीहरूले सुझाव दिएका छन्। अर्बौं रुपैयाँ लगानी गर्न खोजेका उद्यमी हतोत्साहित भएको तथा सञ्चालनमा रहेका उद्योग समेत बन्द गर्नुपर्ने त्रास सिर्जना विधेयकले सिर्जना गरेको उनीहरूको जिकिर छ।










