काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दिल्ली भ्रमणका क्रममा भएका उपलब्धी र सहमतिहरु संयुक्त विज्ञप्तिमार्फत सावर्जनिक गरिएको छ।
आज परराष्ट्र मन्त्रालयलेले शाह र भारतीय समकक्षी बीच भएको छलफल र सहमति पछि संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरेको हो।
पढ्नुस् संयुक्त विज्ञप्तिको नेपाली रुपान्तण
१. भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहले मिति २२–२३ नोभेम्बर २०२६ (२०८३ मङ्सिर ६–७) सम्म उच्चस्तरीय आधिकारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमण सम्पन्न गर्नुभयो। प्रधानमन्त्री पद सम्हालेपछिको यो उहाँको पहिलो भारत भ्रमण हो।
२. प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा औपचारिक सम्मान गारथ (सेरेमोनियल वेलकम) प्रदान गरियो। उहाँले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले भारतका सम्माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नुभयो। भारतका विदेशमन्त्री डा. एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नुभयो।
३. प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग द्विपक्षीय वार्ता गर्नुका साथै उहाँको सम्मानमा दिवाभोजको आयोजना गर्नुभयो। दुई नेताबीचको छलफलमा द्विपक्षीय सहयोगका प्रमुख क्षेत्रहरू, पारस्परिक हितका क्षेत्रीय विषयहरू तथा विश्वव्यापी घटनाक्रमहरू समेटिएका थिए।
४. नेपालमा जनधनको ठूलो क्षति पुर्याएको रसुवा–भोटेकोशीको विनाशकारी बाढीपछि भारतले पुर्याएको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताप्रति प्रधानमन्त्री शाहले आभार व्यक्त गर्नुभयो।
५. प्रधानमन्त्री मोदीले नजिकको मित्र र छिमेकीका नाताले नेपालको विकास यात्रामा भारतको अटुट समर्थन रहने प्रतिबद्धता पुनः दोहोर्याउनुभयो। भारतले नेपाललाई कुल भारु १५,००० करोड (नेरु २४,००० करोड) बराबरको विकास सहायता उपलब्ध गराउनेछ; जसमा विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि भारु ३,५०० करोड (नेरु ५,६०० करोड) अनुदान सहायता र ऊर्जा क्षेत्रका परियोजनाका लागि भारु ११,५०० करोड (नेरु १८,४०० करोड) बराबरको सहुलियतपूर्ण ऋण (Line of Credit) समावेश छ। यस विकास सहायताअन्तर्गतका विशिष्ट परियोजनाहरू र कार्यान्वयनको ढाँचा आपसी परामर्शमा टुङ्गो लगाइनेछ।
६. दुवै नेताले उच्च प्रभाव सामुदायिक विकास परियोजना लगायत नेपालमा सञ्चालित विकास परियोजनाहरूको कार्यान्वयनमा भइरहेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। उहाँहरूले भारत सरकारको सहयोगमा नेपालमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (National Police Academy) को निर्माण प्रगतिबारे जानकारी लिनुभयो। दुवै नेताले भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणाको समेत स्वागत गर्नुभयो।
७. दुई नेताले “विकसित भारत र समुन्नत नेपाल” को संयुक्त दृष्टिकोण अवलम्बन गर्नुभयो। यस संयुक्त दृष्टिकोणले भारत र नेपालबीचको महत्त्वाकाङ्क्षी र भविष्योन्मुख साझेदारीको मार्गचित्र प्रदान गर्दछ। यसमा आर्थिक तथा विकास साझेदारी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा तथा जलस्रोत र जनस्तरको सम्बन्धजस्ता परम्परागत रूपमा बलिया रहेका द्विपक्षीय सहयोगका क्षेत्रहरूलाई सुदृढ बनाउनुका साथै जलवायु उत्थानशीलता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्ट–अप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा नयाँ सहकार्यका पहलहरू समेटिएका छन्।
८. कनेक्टिभिटी विस्तार गर्न र द्विपक्षीय आर्थिक संलग्नता बढाउन नागरिक उड्डयनका विषयमा भइरहेका छलफलबारे नेताहरूले जानकारी लिनुभयो। हाल एकतर्फी रहेको B345 काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन्। यससम्बन्धी प्राविधिक ढाँचा टुङ्गो लगाउन र दुवै पक्षबाट प्रस्तुत अन्य नागरिक उड्डयन प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।
९. प्रधानमन्त्री मोदीले नेपालको पारवहन व्यापारका लागि दीनदयाल बन्दरगाह (काण्डला, गुजरात) मार्फत नयाँ कनेक्टिभिटी मार्गको घोषणा गर्नुभयो। यसका साथै, आवश्यक पूर्वाधार तयार भएपछि पारादीप बन्दरगाह (ओडिशा) सम्मको पहुँच पनि उपलब्ध गराइनेछ।
१०. दुई नेताले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी र पेट्रोलियम पाइपलाइनहरूको निर्माणमार्फत सीमापार कनेक्टिभिटी सुधार्न र सीमा पूर्वाधारको स्तरोन्नति गर्नुपर्ने महत्त्वमा जोड दिनुभयो।
११. दुई प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने उद्घाटन ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको झण्डा हल्लाएर शुभारम्भ गर्नुभयो। यस रेल सेवाले कनेक्टिभिटी सुधार्नुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्नेछ र भारत तथा नेपालबीचको सभ्यतागत सम्बन्धलाई अझ सुदृढ बनाउनेछ। नेताहरूले बौद्ध र शिव–शक्ति धार्मिक पर्यटन सर्किटको विकासका लागि पनि यस्तै प्रकारका सञ्जालहरूको सम्भावना खोज्ने सहमति जनाउनुभयो।
१२. दुई नेताले प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको घोषणा गर्नुका साथै नेपालको पूर्व–पश्चिम रेलमार्गको विकासमा दुवै पक्षले सहकार्य गर्ने घोषणा गर्नुभयो।
१३. दुई नेताले बनबासामा निर्माण हुने नयाँ एकीकृत जाँच चौकीको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो र भैरहवा, सुनौली तथा दोधारा–चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीहरूको प्रगतिप्रति स्वागत व्यक्त गर्नुभयो। भारत र नेपालबीच हाल तीनवटा एकीकृत जाँच चौकीहरू सञ्चालनमा आइसकेका छन्।
१४. नेताहरूले धार्चुला (भारत) र दार्चुला (नेपाल) जोड्ने नयाँ सीमापार मोटरयोग्य पुलको उद्घाटन गर्नुभयो। यसले सुदूरपश्चिम नेपाल र भारतबीचको प्रत्यक्ष कनेक्टिभिटी सुधार्न मद्दत गर्नेछ।
१५. सीमा स्तम्भहरूको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति नेताहरूले सन्तुष्टि व्यक्त गर्नुभयो र बाँकी रहेका सीमासम्बन्धी विषयहरूमा काम गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिनुभयो।
१६. भारत र नेपालबीचको सीमापार पेट्रोलियम पूर्वाधार विस्तार गर्ने क्रममा नेताहरूले मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण नेपाली जनतालाई समर्पण गर्नुभयो। दुई नेताले नेपालको झापामा पेट्रोलियम टर्मिनल निर्माणका लागि भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो र सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको काम छिट्टै सुरु गर्नुपर्ने महत्त्वमा जोड दिनुभयो। भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्यको सम्भावना खोज्न दुवै पक्ष सहमत भएका छन्।
१७. ऊर्जा क्षेत्र सहयोगसम्बन्धी भारत–नेपाल संयुक्त दृष्टिकोण दस्तावेज र दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुरूप जलविद्युत् क्षेत्रमा भएको द्विपक्षीय प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरे। नेपालको जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीहरूको सक्रिय संलग्नताको दुवै पक्षले स्वागत गर्दै भारतीय कम्पनीहरूद्वारा नेपालमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाहरू शीघ्र सम्पन्न गर्ने सुनिश्चितता गर्न सहमत भए। सोही अवसरमा दुई नेताले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो।
१८. दुई नेताले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन शीघ्र अन्तिम रूप दिन र आयोजना कार्यान्वयनको काम सुरु गर्न पञ्चेश्वर विकास प्राधिकरण तथा जलस्रोतसम्बन्धी संयुक्त समितिलाई निर्देशन दिनुभयो। पारस्परिक लाभका लागि जलस्रोतको उपयोग गर्न र बाढीको प्रभाव न्यूनीकरण गर्न सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाहरूको डीपीआरको कामलाई तीव्रता दिनुपर्ने आवश्यकतामा पनि दुवै नेता सहमत हुनुभयो।
१९. इनरुवा (नेपाल) – न्यु पूर्णिया (भारत) र दोदोधारा (नेपाल) – बरेली (भारत) बीचका दुई उच्च–क्षमताका सीमापार प्रसारण लाइन निर्माणका लागि ज्वाइन्ट भेन्चर्स गठन गर्ने सन्दर्भमा भएको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरे।
२०. नेपाललाई भारतले प्रदान गर्दै आएको विकास तथा क्षमता अभिवृद्धि सहयोगको विस्तार स्वरूप भारतले नेपालमा भारतीय प्रविधि संस्थानको बाह्य क्याम्पस स्थापना गर्ने विषयमा दुई नेता सहमत हुनुभयो। यसले नेपालको शिक्षा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउनुका साथै रोजगारी सिर्जनामा समेत टेवा पुर्याउनेछ। दुवै नेताले स्टार्ट–अप तथा डिजिटल र वित्तीय कनेक्टिभिटीलगायत प्रविधिका क्षेत्रमा भारत र नेपालबीच विस्तार भइरहेको सहकार्यको स्वागत गर्नुभयो।
२१. एक देशमा बसोबास गर्ने अर्को देशका नागरिकहरूका लागि बैंकिङ र दूरसञ्चारलगायतका सेवाहरूमा सहज पहुँच उपलब्ध गराउन पारस्परिक रूपमा सहजीकरण गर्नुपर्ने आवश्यकतालाई दुवै पक्षले स्वीकार गरे।
२२. भ्रमणका क्रममा दुवै पक्षबीच निम्न समझदारीपत्रहरू आदानप्रदान गरिए:
१. भारतको गुजरातस्थित गान्धीनगरको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारीपत्र।
२. भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बीचको समझदारीपत्र।
३. नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रमसम्बन्धी भारत सरकारको प्रशासनिक सुधार तथा जनगुनासो विभागअन्तर्गतको राष्ट्रिय सुशासन केन्द्र र नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीचको समझदारीपत्र।
४. आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिका क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी भारत सरकार र नेपाल सरकारबीचको समझदारीपत्र।
५. दक्षिण एसियाली भू–उपग्रहको उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल स्थापना गर्नेसम्बन्धी भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन र नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीचको समझदारीपत्र।
६. दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्यसम्बन्धी भारत सरकार र नेपाल सरकारबीचको समझदारीपत्र।
७. स्वास्थ्य तथा औषधिका क्षेत्रमा सहकार्यसम्बन्धी भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीचको समझदारीपत्र।
८. पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्यसम्बन्धी भारत सरकार र नेपाल सरकारबीचको समझदारीपत्र।
२३. नेपालका प्रधानमन्त्रीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि भारतका प्रधानमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्नुभयो र उहाँलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिनुभयो। भारतीय प्रधानमन्त्रीले उक्त निमन्त्रणा स्वीकार गर्नुभयो र भ्रमणको आधिकारिक मिति कूटनीतिक माध्यमबाट तय गरिनेछ।
२४. भारत–नेपाल साझेदारी सबै तहमा गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र समझदारीमा आधारित छ, जसलाई बलियो जनस्तरको सम्बन्धका साथै घनिष्ठ आर्थिक तथा विकास सहकार्यले अझ सुदृढ बनाएको छ। यस भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा र यसलाई अझ अगाडि बढाउने दुवै पक्षको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।










