प्रधानमन्त्री शाहको भ्रमणमा भारतीय मिडियाको चासो: सम्बन्ध सुधारदेखि ऊर्जा, सीमा र चीनसम्म बहस

बिजमाण्डू
२०८३ मंसिर ७ गते ०९:४२ | Nov 23, 2026
प्रधानमन्त्री शाहको भ्रमणमा भारतीय मिडियाको चासो: सम्बन्ध सुधारदेखि ऊर्जा, सीमा र चीनसम्म बहस

नयाँ दिल्ली। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले केवल दुई देशका प्रधानमन्त्रीबीचको औपचारिक भेटका रूपमा मात्र हेरेका छैनन्। नयाँ नेपाली नेतृत्वसँग भारतले कस्तो सम्बन्ध विकास गर्न खोजेको छ, नेपालले उठाउने आर्थिक तथा पूर्वाधारका मागमा भारत कति सकारात्मक हुन्छ र चीनसँगको नेपालको सम्बन्धले दिल्लीको रणनीतिलाई कसरी प्रभावित गर्छ भन्ने विषय भारतीय सञ्चारमाध्यमको मुख्य चासो बनेको छ।

GBIME
Tata

आइतबार शाह नयाँदिल्ली पुगेपछि भारतीय सञ्चारमाध्यमले भ्रमणलाई कभरेज दिन थालेका थिए। सोमबार बिहानसम्म प्रकाशित समाचार र विश्लेषणमा भने ऊर्जा तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, दुई देशबीचको राजनीतिक सम्बन्ध र नेपालका नयाँ प्रधानमन्त्रीको कार्यशैलीले बढी ठाउँ पाएका छन्।

भारतीय अखबार द इन्डियन एक्सप्रेसले सोमबार बिहान प्रकाशित समाचारमा प्रधानमन्त्री नरेन्द्र मोदी र शाहबीच हुने भेटवार्तालाई आर्थिक तथा ऊर्जा सहकार्यमा केन्द्रित गरेको छ। उसले दुई देशबीचको आर्थिक दृष्टिपत्र, बाढीपछिको पुनर्निर्माणका लागि प्रस्तावित वित्तीय सहायता, अयोध्या–जनकपुर रेल सेवा, नयाँ हवाई प्रवेशमार्ग, जलविद्युत् सहकार्य र नेपाली स्टार्टअपलाई सहयोग गर्ने विषयलाई सम्भावित छलफलका मुख्य एजेन्डा बनाएको छ।

त्यसैगरी नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण तथा सहयोग, नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को क्याम्पस स्थापना र प्रविधि सहकार्यका विषयलाई समेत उसले भ्रमणको सम्भावित उपलब्धिसँग जोडेको छ। यसले भारतले नेपालसँगको सम्बन्धलाई परम्परागत व्यापार र सुरक्षाको दायराबाट बाहिर निकालेर युवा, प्रविधि, शिक्षा र खेलकुदसम्म विस्तार गर्न चाहेको संकेत गरेको छ।

सोही अखबारमा आइतबार प्रकाशित विस्तृत विश्लेषणमा भने शाहको राजनीतिक पृष्ठभूमि र भारतसँगको सम्बन्धलाई विशेष महत्त्व दिइएको थियो। काठमाडौं महानगरपालिकाको मेयरदेखि प्रधानमन्त्रीसम्मको उनको राजनीतिक यात्रा, युवा आन्दोलनबाट सत्तामा पुगेको अवस्था र परम्परागत राजनीतिक नेतृत्वभन्दा फरक शैलीलाई भारतका लागि नयाँ चुनौती र अवसर दुवैका रूपमा प्रस्तुत गरिएको छ।

विश्लेषणमा शाहले आफूलाई भारत वा चीन समर्थकभन्दा नेपाल समर्थकका रूपमा प्रस्तुत गर्दै आएको प्रसंगसमेत उल्लेख छ। भारतसँग नेपालको व्यापार, पारवहन र लगानी निर्भरता ठूलो रहेकाले सम्बन्धमा दूरी कायम राख्न कठिन हुने उसको निष्कर्ष छ।

हिन्दुस्तान टाइम्सले आइतबार प्रधानमन्त्री शाह दिल्ली पुगेको समाचारलाई लाइभ अपडेटसहित प्रकाशित गरेको थियो। उसले भ्रमणको केन्द्रमा नेपालले प्रस्ताव गरेको २ अर्ब अमेरिकी डलरको आर्थिक सहायता प्याकेजलाई राखेको छ। त्यसमा १ अर्ब डलर अनुदान तथा बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सहयोग मागिएको विषयलाई विशेष महत्त्व दिइएको छ।

सोही पत्रिकाले अर्को समाचारमा मोदी र शाहबीचको वार्ताबाट अयोध्या–जनकपुर रेल सेवा उद्घाटन, ऊर्जा तथा कनेक्टिभिटी परियोजनाको शुभारम्भ र नयाँ सहमति हुने सम्भावना औँल्याएको छ। भारतले दुई देशको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन खोजेको उसको समाचारको मूल विषय छ।

द टाइम्स अफ इन्डियाले आइतबार शाह दिल्ली आइपुगेको समाचारसँगै दुई देशबीचका पुराना विवादलाई पनि चर्चामा ल्याएको छ। कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद, भारतीय सेनामा नेपाली गोर्खा सैनिकको भर्ती र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनलाई उसले भ्रमणका क्रममा उठ्न सक्ने विषयका रूपमा प्रस्तुत गरेको छ। यसले भ्रमणको आर्थिक एजेन्डासँगै राजनीतिक तथा कूटनीतिक संवेदनशीलतालाई पनि भारतीय सञ्चारमाध्यमले महत्त्व दिएको देखाएको छ।

एनडीटीभीले पनि आइतबारको समाचारमा ऊर्जा, जलविद्युत्, रेलमार्ग, कनेक्टिभिटी र पूर्वाधारलाई दुई प्रधानमन्त्रीबीचको वार्ताका प्रमुख विषयका रूपमा प्रस्तुत गरेको थियो। शाहको भ्रमणले आगामी वर्षमा दुई देशको सम्बन्धलाई नयाँ राजनीतिक दिशा दिन सक्ने विश्लेषणसमेत गरेको छ।

भ्रमणको पहिलो दिन आइतबार साँझ प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री एस जयशंकरले गरेको भेटलाई पनि भारतीय सञ्चारमाध्यमले प्रमुखताका साथ प्रकाशित गरेका छन्। हिन्दुस्तान टाइम्सले जयशंकरको भनाइ उद्धृत गर्दै भारतले नेपालसँगको विशेष मित्रतालाई महत्त्व दिने उल्लेख गरेको छ। भेटमा व्यापार, पारवहन, ऊर्जा, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्ध विस्तारबारे छलफल भएको समाचारमा छ।

दैनिक भास्करको अनलाइन संस्करणमा एयर रुटका विषयमा सहमति हुने/नहुने विषयको विश्लेषण गर्दै एक्सप्लेनर प्रकाशित छ। एल६२६ एयर रुटको महत्त्व, आवश्यकता र मोदी-शाह भेटमा यसमाथि हुनसक्ने छलफल मुख्य विषय छ।

भारतबाहिरका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममध्ये रोयटर्सले गत गत शुक्रबार नै भ्रमणको पूर्वसन्दर्भसहित समाचार प्रकाशित गरेको थियो। समाचारमा गत भदौ १० को भोटेकोशी विनाशकारी बाढीपछि पुनर्निर्माणका लागि भारतको सहयोग, व्यापार, पूर्वाधार र ऊर्जा सहकार्यलाई मुख्य विषय बनाइएको थियो।

भारत र चीनबीच नेपालको प्रभाव विस्तारका लागि भइरहेको प्रतिस्पर्धालाई पनि समाचारमा समेटिएको छ। समग्रमा भारतीय सञ्चारमाध्यमको कभरेजमा दुईवटा पक्ष स्पष्ट देखिन्छन्। पहिलो, नयाँ नेपाली नेतृत्वसँग आर्थिक, ऊर्जा र पूर्वाधार सहकार्य विस्तार गर्ने भारतको चाहना। दोस्रो, विगतमा चिसिएको कूटनीतिक सम्बन्धलाई सुधार्दै नेपालमा आफ्नो रणनीतिक प्रभाव कायम राख्ने दिल्लीको चासो।

त्यसैले भारतीय मिडियाका लागि बालेन्द्रको भारत भ्रमण केवल सद्भाव र औपचारिक भेटघाटको विषय बनेको छैन, नयाँ नेपाली नेतृत्वले भारतसँगको सम्बन्धलाई कुन दिशामा लैजान्छ भन्ने परीक्षणका रूपमा समेत प्रस्तुत भएको छ।