काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। आज सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सलाई हराएर सुदूरपश्चिमले उपाधि जितेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले बिना कुनै विकेटको क्षतिमा लक्ष्य भेट्टायो।


सुदूरपश्चिम एनपीएलको सबैभन्दा कन्सिस्टेन्ट टोलीको रुपमा आफूलाई उभ्याएको छ। यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनीसँग हार ब्यहोर्दै उपाधिबाट विमुख भएको थियो। यसपालि भने सुदूरपश्चिमले लुम्बिनीसँग दोस्रो सिजनको बदला लिँदै फाइनलमा हराएर च्याम्पियन बनेको हो।


लुम्बिनीले दिएको लक्ष्य भेट्टाउन सुदूरपश्चिमका ओपनर जर्ज मुन्से र विनोद भण्डारीले महत्वपूर्ण भूमिका खेले। यी दुईले टोलीलाई लक्ष्यसम्म पुर्याए।
एनपीएलको फाइनलमा सर्वाधिक रन बनाउने खेलाडी बने जर्ज मुन्से। यसअघिको फाइनलमा सर्वाधिक रन बनाउने कीर्तिमान जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाको नाममा थियो। उनले पहिलो सिजनको फाइनलमा ८७ रन बनाउँदा सैफ जैबले ६९ रन बनाएका थिए। दोस्रोको फाइनलमा दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाएका थिए।
बलिङमा लुम्बिनीका सबै प्रयास विफल हुँदा विकेट निस्कन सकेन।










