आधा अर्ब लगानीमा पोखरामा बन्दै अत्याधुनिक क्लब, कमर्सियल कम्प्लेक्स पनि सँगै

बिजमाण्डू
२०८३ मंसिर ५ गते १५:४६ | Nov 21, 2026
आधा अर्ब लगानीमा पोखरामा बन्दै अत्याधुनिक क्लब, कमर्सियल कम्प्लेक्स पनि सँगै

काठमाडौं। पोखरामा आधा अर्ब लगानीमा अत्याधुनिक क्लबसहित कमर्सियल कम्प्लेक्स बन्ने भएको छ। पर्यटकीय नगरी पोखरामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै प्रिमियम क्लब भोल्क्यानोको निर्माण सुरु भएको छ।

GBIME
Tata

पोखराका व्यवसायी विशाल तुलाचन, काठमाडौंका विशाल थापा र विशाल श्रेष्ठले शनिबार भूमि पूजा गरेर निर्माण सुरु गरेका हुन्। विशाल अर्बन भेन्चर्स कम्पनीले निर्माण गर्न लागेको क्लबसहितको कम्प्लेक्स एक वर्षभित्र तयार हुनेछ।

कम्पनीका संचालक तुलाचनले पोखरामा आउने पर्यटकलाई लक्षित गरेर अत्याधुनिक क्लब निर्माण गर्न लागेको बताए। ‘पोखरा पर्यटकीयनगरी भएपनि राम्रो क्लबको अभाव छ। ठमेलमा राम्रा क्लब भएकै कारण पर्यटकहरु अडिएका छन्। खर्च गरेका छन्। हामीले पनि त्यही देखेर यहाँ लगानी गरेका हौं,’ उनले बिजमाण्डूसँग भने, ‘काठमाडौंमा रहेका क्लबकै हाराहारीमा अझ अत्याधुनिक डिजाइनमा भोल्क्यानो बनाउनेछौं।’

कम्पनीले १७ वर्ष लिजमा लिएर क्लब र कम्प्लेक्स निर्माण गर्न लागेको हो। कमर्सियल कम्प्लेक्स तीन तल्लाको हुनेछ। त्यहाँ रिटेल आउटलेटदेखि रुफटफ रेष्टुरेन्ट बार हुनेछ। ‘हामीले एउटा कम्प्लिट प्याकेज लिएर पोपर्टी बनाउँदैछौ। हाम्रो पोपर्टीभित्र छिरेपछि सपिङदेखि खानेकुरा र क्लबसम्मको मनोरञ्जन प्राप्त गर्ने हिसाबले विकास गरिरहेका छौं।’

तुलाचनका अनुसार क्लब, रेस्टुरेन्ट, फुड कोर्ट, स्पा, रूफटप रेस्टुरेन्ट र बालबालिकाका लागि प्ले जोन हुनेछ। उनले क्लबको डिजाइन तयार गर्न सिंगापुर, भियतनाम, थाइल्यान्ड र स्पेनका क्लबको संरचना अध्ययन गरिएको जानकारी दिँदै ती क्लबका राम्रा पक्ष लिँदै आफ्नै मौलिक अवधारणा तयार पारिने बताए। ‘हामीले क्लबको संरचना काठमाडौंका भन्दा सानो होला। तर पछिल्लो समय आएको प्रविधिदेखि डिजाइन ल्याएर अन्तर्राष्ट्रिय स्तरकै बनाउँछौं। हामीले त्यही भएर पनि विभिन्न देशका क्लब भ्रमण गरेर आएका पनि छौं,’ उनले भने।

क्लब सञ्चालनमा आएपछि करिब १२० जनाले प्रत्यक्ष रोजगारी पाउने बताउँदै तुलाचनले पोखराको आतिथ्य तथा मनोरञ्जन क्षेत्रमा नयाँ व्यावसायिक अवसर खुल्ने दाबी गरे। ‘पोखरामा मेरो आफ्नै सपना पनि थियो। त्यही सपना साकार पार्न मैले यो प्रोजेक्ट अगाडि बढाएको हो। त्यो प्रोजेक्टमा काठमाडौंका साथीहरु पनि जोडिनुभएको छ,’ उनले भने, ‘यसले पोखरामा मनोरञ्जनको नयाँ गन्तब्य विकास गर्नेमा म विश्वस्त छु।’

तुलाचनले फेवाताल, हिमालको दृश्य र साहसिक खेलका कारण पोखरा अग्रणी पर्यटकीय गन्तव्य बनेको बताउँदै त्यसमा राम्रो क्लब आउँदा स्तरीय मनोरञ्जन थलोको रुपमा पनि विकास हुने जिकिर गरे।