काठमाडौं। लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल पुग्न सुदूरपश्चिम रोयल्सले १३३ रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दोस्रो क्वालिफायरको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको हो।

फाइनल पुग्न जित्नै पर्ने खेलमा सुरुवाती ब्याटिङमा उत्रिएको चितवन ब्याटिङमा पूर्णत: डेभिड मलानमा निर्भर रह्यो। उनले ५१ बलमा सर्वाधिक अविजित ७१ रन बनाउँदा सलाउद्दीन खानले १८ तथा कमलसिंह ऐरीले १० रन बनाए। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रन नै बनाउन सकेनन्।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले सर्वाधिक ३ विकेट लिँदा थारिन्दु रत्नायकेले २ तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १ विकेट लिए।
चितवन आज पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा छ भने सुदूरपश्चिम लगातार तेस्रो फाइनल खेल्ने योजनामा छ। यसअघिका दुई फाइनलमा सुदूरपश्चिम क्रमश: जनकपुर बोल्ट्स र लुम्बिनी लायन्ससँग पराजित भएको थियो।

सुदूरपश्चिम केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ। आजको खेल जित्ने टोलीले शनिबार लुम्बिनी लायन्ससँग फाइनल खेल्नेछ।









