नेपालले लर्डसमा बंगलादेशसँग टी–२०आई खेल्ने, आयरल्याण्ड र स्कटल्याण्डसँग पनि खेल

बिजमाण्डू
२०८३ मंसिर ३ गते १५:५५ | Nov 19, 2026
नेपालले लर्डसमा बंगलादेशसँग टी–२०आई खेल्ने, आयरल्याण्ड र स्कटल्याण्डसँग पनि खेल
क्यानको पत्रकार सम्मेलन। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

काठमाडौं। नेपालले सन् २०२७ को जुनमा विश्व क्रिकेटको इङ्ग्ल्याण्डको लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएको छ। मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले आयोजना गर्ने इङ्ल्यान्ड भ्रमणका क्रममा नेपालले बंगलादेशसँगै आयरल्यान्ड र स्कटल्यान्डसँग पनि अन्तर्राष्ट्रिय खेल खेल्ने क्यानले पत्रकार सम्मेलन गर्दै जनाएको हो।

GBIME
Tata

नेपालको इङ्ग्ल्याण्ड भ्रमण तालिकाअनुसार नेपाल र बंगलादेशबीचको खेल सन् २०२७ जुन ३ मा लर्ड्समा हुनेछ। खेल नेपाल र बंगलादेशका दर्शकले प्रत्यक्ष टेलिभिजनबाट हेर्न पाउने समयलाई ध्यानमा राखेर आयोजना गरिने एमसीसीले जनाएको छ।

नेपालले इङ्ल्यान्ड भ्रमणका क्रममा स्कटल्यान्डसँग जुन १ मा ५० ओभरको खेल खेल्नेछ। त्यसपछि जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी–२०आई खेल्नेछ।

त्यसैगरी जुन ६ मा आयरल्यान्डसँग ५० ओभरको खेल हुनेछ। जुन ९ मा सोही मैदानमा आयरल्यान्डसँग टी–२०आई खेल्ने नेपालले जुन ११ र १२ मा बेकनहमस्थित द काउन्टी ग्राउन्डमा पनि आयरल्यान्डसँग दुई टी–२०आई खेल खेल्नेछ।

यसरी नेपालले इङ्ल्यान्ड भ्रमणमा कुल पाँच अन्तर्राष्ट्रिय खेल खेल्नेछ। भ्रमणका सबै खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यताप्राप्त र इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) बाट स्वीकृत हुनेछन्।

नेपालले यसअघि सन् २०१८ मा एमसीसीसँगको त्रिकोणात्मक शृंखलाका क्रममा लर्ड्समा नेदरल्यान्ड्ससँग टी–२० खेल खेलेको थियो। त्यसैले लर्ड्समा नेपालको यो दोस्रो पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ।

तर, बंगलादेशका लागि भने लर्ड्समा यो पहिलो पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ। बंगलादेशले सन् २०२७ को मे महिनाको अन्त्यतिर १७ वर्षपछि लर्ड्समा इङ्ल्यान्डविरुद्ध टेस्ट क्रिकेट पनि खेल्ने कार्यक्रम छ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले लर्ड्समा पुनः खेल्न पाउनु नेपाली क्रिकेटका लागि गर्व र सम्मानको विषय भएको बताएका छन्। उनले एमसीसीसँगको सहकार्यले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि बंगलादेशविरुद्धको खेललाई ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार लर्ड्समा आईसीसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध नेपालको यो पहिलो खेल हुनेछ।

एमसीसीका प्रमुख कार्यकारी तथा सचिव रोबर्ट लसनले नेपाली क्रिकेटप्रतिको उत्साह र खेलले समाजलाई जोड्ने भूमिकाको प्रशंसा गरे।

एमसीसी फाउन्डेसनले क्रिकेट संघ नेपालसँगको सहकार्यमा कोशी र मधेश प्रदेशमा क्रिकेटसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ। गत वर्ष मात्रै ती कार्यक्रममा ४५ हजारभन्दा बढीको सहभागिता रहेको एमसीसीले जनाएको छ।