गौरीघाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर यसरी मनाइयो छठ पर्व (तस्बिरहरू)

सुशील श्रेष्ठ
२०८३ कात्तिक २९ गते १७:५० | Nov 15, 2026
गौरीघाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर यसरी मनाइयो छठ पर्व (तस्बिरहरू)

काठमाडौं। छठअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ‘सझिया अरख’ विधि सम्पन्न गरिएको छ। काठमाडौंको गौरीघाटमा पनि छठ पर्व मनाउन भक्तजनको उल्लेख्य उपस्थिति देखियो।

GBIME
Tata

बिहानैदेखि छठ पूजाका लागि सजाइएको गौरीघाट साँझपख झिलिमिली बत्ती र पूजासामग्रीले रंगीन बनेको थियो। व्रतालुहरू पूजाका सामग्रीसहित घाट पुगेका थिए।

घाटमा कम्मरसम्म पानीमा उभिएर व्रतालुहरूले अस्ताउँदो सूर्यको आराधना गरे। हातमा पूजा सामग्री लिएर उनीहरूले सूर्यदेव र छठी मातासँग सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गरे।

सूर्यास्तसँगै भक्तिमय वातावरणमा पहिलो अर्घ्य अर्पण गरियो। छठ पर्वमा ठकुवा, भुसुवा, केरा, नरिवललगायतका प्रसादको विशेष महत्त्व छ।

व्रतालुहरूले बाँसका डाली र नाङ्लोमा सजाएर ल्याएका फलफूल तथा परिकार सूर्यदेवलाई अर्पण गरे। घाटमा छठका परम्परागत गीत र भजन गुञ्जिएका थिए।

छठ पर्व सूर्यदेव र षष्ठी माताको आराधनामा समर्पित छ। यस पर्वमा व्रतालुहरूले कठोर नियम पालना गर्दै निराहार उपवास बस्ने परम्परा छ।

कार्तिक शुक्ल चौथीबाट सुरु हुने पर्वको पहिलो दिन ‘नहाय-खाय’ र दोस्रो दिन ‘खरना’ विधि सम्पन्न गरिन्छ। खरनापछि सुरु भएको निर्जला व्रतको मुख्य विधिअन्तर्गत षष्ठीका दिन अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइन्छ।

छठको विशेषता उदाउँदो र अस्ताउँदो दुवै सूर्यको पूजा गर्नु हो। अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुहरूले प्रकृति र जीवनप्रति कृतज्ञता व्यक्त गर्छन्।

अब सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न हुनेछ। यस विधिलाई ‘भोरका अरख’ भनिन्छ।

बिहानको अर्घ्यपछि व्रतालुहरूले पूजा सम्पन्न गरी प्रसाद ग्रहण गर्नेछन्। त्यसपछि परिवार, आफन्त र छरछिमेकमा प्रसाद बाँड्ने परम्परा छ।

तराई-मधेशमा विशेष उत्साहका साथ मनाइने छठ पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पनि धुमधामका साथ मनाउन थालिएको छ।