काठमाडौं। जीवन बीमा कम्पनीको नाफामा गिरावट आएको छ। चालु आर्थिक वर्ष पहिलो त्रैमासमा जीवन बीमा कम्पनीको नाफा १०.५६ प्रतिशतले खुम्चिएर १ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको हो।
पोहोर यसै अवधिमा जीवन बीमा कम्पनीले १ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ नाफा गरेका थिए। पछिल्लो तीन वर्षदेखि निक्षेपको ब्याजदर निरन्तर घटेर आम्दानी खुम्चिंदा त्यसको असर जीवन बीमा कम्पनीहरुको नाफामा परेको हो।
बैंकको मुद्दती निक्षेप जीवन बीमा कम्पनीको लगानीको मुख्य क्षेत्र हो। बीमा कम्पनीले कुल लगानीको ७०/८० प्रतिशत मुद्दतीमा लगानी गर्दै आएका छन्।
नेसनल लाइफ इन्स्योरेन्सका सीइओ सुरेश खत्री बैंकको ब्याजदर घटेका कारण बीमा कम्पनीहरुको नाफा प्रभावित भएको बताउँछन्।
‘पहिले १०/११ प्रतिशत ब्याजदर हुँदा राखेको निक्षेप परिपक्व हुँदै गयो। अहिले छोटो अवधिको निक्षेप लिन पनि बैंकहरु इच्छुक छैनन्,’ उनले भने, ‘जसले गर्दा हाम्रो नाफामा प्रभाव परेको हो।’
२०८० असोजमा मुद्दती निक्षेपमा औसत ब्याजदर ९.५१ प्रतिशत रहेकामा अहिले ५ प्रतिशतभन्दा तल आएको छ। अझ संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३ प्रतिशतभन्दा तल छ।
अधिक तरलताका कारण बैंकहरु अल्पकालीन अवधिको संस्थापन मुद्दती लिन इच्छुक देखिएका छैनन्। बैंकहरुले छोटो अवधिको निक्षेपमा ब्याजदर करिडोरको तल्लो विन्दु फ्लोर रेटमा ब्याज दिन थालेका छन्।
घट्दो ब्याजदरको प्रभाव विस्तारै देखिने अर्का एक सीइओले बताए। ‘हाम्रो फण्ड दीर्घकालीन अवधिको हुँदा मुद्दतीमा लगानी गर्छौं। परिपक्व हुन बाँकी मुद्दतीको प्रतिफल राम्रो भए पनि नयाँ फण्ड निकै जोडबल गरेर ३ प्रतिशतको हाराहारीमा राखिरहेका छौं,’ ती सीयओले भने, ‘यसको असर आगामी दिनमा देखिनेछ।’
पछिल्लो समय बीमा कम्पनीले पूर्वाधार, कृषि, हाइड्रोपावर, होटल लगायत क्षेत्रमा पनि लगानी बढाउन थालेका छन्।
साउनदेखि असोज मसान्तसम्म ९ वटा जीवन बीमा कम्पनीको नाफा घट्दा ४ वटाले भने बढाएका छन्। राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा सबैभन्दा धेरै ६३९ प्रतिशतले घटेको छ।
त्यसैगरी, मेट लाइफको नाफा ४६.०९ प्रतिशत, नेपाल लाइफको २८.७५ प्रतिशत, सूर्यज्योति लाइफको १५.९५ प्रतिशत र रिलायबल लाइफको ११.३९ प्रतिशतले घटेको छ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा धेरै ४५.८९ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, एसियन लाइफको ५.७९ प्रतिशत, सन नेपाल लाइफको २.३६ प्रतिशत र सानिमा रिलायन्सको नाफा ०.४ प्रतिशतले वृद्धि भएको छ।
कुन बीमा कम्पनीको नाफा कति?
| जीवन बीमा कम्पनी | २०८३/८४ साउन-असोजको नाफा रुपैयाँमा | २०८२/८३ साउन-असोजको नाफा रुपैयाँमा | नाफा फरक (प्रतिशतमा) |
| एसियन | १६१३४५१८६ | १५२५१३०४२ | ५.७९ |
| मेट | ५२३८५५३७ | ९७१८०२७६ | -४६.०९ |
| रिलायबल नेपाल | २२९०६९८७३ | २५८५०२१६८ | -११.३९ |
| राष्ट्रिय जीवन | -६५४४७९६ | १२१२०९३ | -६३९.९६ |
| सानिमा रिलायन्स | १५०२०८१०९ | १४९६०८०४६ | ०.४ |
| नेसनल | १२५६८२९६७ | १४०८८५६६१ | -१०.७९ |
| आइएमई | १४१२५४५८८ | १५८३१४०६० | -१०.७८ |
| लाइफ इन्स्योरेन्स कर्पोरेसन | ९६९६८५१४ | १०८३७९०९२ | -१०.५३ |
| प्रभु महालक्ष्मी | ९३०३८३७७ | ६३७७४९०५ | ४५.८९ |
| सन नेपाल | २४४९२३९९६ | २३९२७७६१९ | २.३६ |
| सिटिजन्स | १०००६६३९८ | १३१४८९५९० | -२३.९ |
| नेपाल | १५३५८११८१ | २१५५५१६६४ | -२८.७५ |
| सूर्य ज्योति | १०२९५७००१ | १२२४९०७४३ | -१५.९५ |
| जम्मा | १६४४९३६९३१ | १८३९१७८९५९ | -१०.५६ |
जीवन बीमा कम्पनीले व्यवसाय भने बढाएका छन्। बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै तल्लो विन्दुमा झारेपछि बैंकमा जाने पैसा बीमातर्फ मोडिएपछि इन्स्योरेन्स कम्पनीहरुको व्यवसाय बढेको हो।
‘मुद्दती निक्षेपमा बैंकले २.७५ प्रतिशतभन्दा बढी ब्याजदर नदिने भएपछि अहिले बीमा गर्ने क्रम बढ्दो छ,’ सीइओ खत्रीले भने, ‘नाफा प्रभावित भए पनि हाम्रो व्यवसाय भने फस्टाएको छ।’
गत वर्षको तुलनामा बीमा कम्पनीहरुको ब्याज आम्दानीमा झिनो सुधार देखिएको छ। जीवन बीमा कम्पनीहरुको ब्याज आम्दानी ३.८९ प्रतिशतले बढेको छ।
जीवन बीमा कम्पनीले चालु वर्ष तीन महिनामा १३ अर्ब ९५ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन्। पोहोर सोही अवधिमा यस्तो आम्दानी १३ अर्ब ४३ करोड रुपैयाँ थियो।
८ वटा बीमा कम्पनीले ब्याज आम्दानी बढाउँदा ५ वटाको खुम्चिएको छ। सन नेपाल लाइफको ब्याज आम्दानी सबैभन्दा धेरै २१.०६ प्रतिशतले बढेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीको ब्याज आम्दानी सबैभन्दा धेरै ४३.९८ प्रतिशतले घटेको छ।
कुन बीमा कम्पनीको ब्याज आम्दानी कति?
| जीवन बीमा कम्पनी | २०८३/८४ साउन-असोजको ब्याज आम्दानी रुपैयाँमा | २०८२/८३ साउन-असोजको ब्याज आम्दानी रुपैयाँमा | आम्दानीमा फरक (प्रतिशतमा) |
| एसियन | ८०८४९५२६४ | ७९७७८०३४७ | १.३४ |
| मेट | ६६९७९१५५१ | ६४७५१७६४३ | ३.४४ |
| रिलायबल नेपाल | ४०३४१२३८५ | ३४३५२७४३४ | १७.४३ |
| राष्ट्रिय जीवन बीमा | ५९००९१२१७ | १०५३३१०३०७ | -४३.९८ |
| सानिमा रिलायन्स | ३९७७३४५९० | ३९७८०१०५९ | -०.०२ |
| नेसनल | १६३४७७०८९६ | १४१८६०७७३५ | १५.२४ |
| आइएमई | ३३१८३१२३७ | ३८०९९१५९७ | -१२.९ |
| लाइफ इन्स्योरेन्स कर्पोरेसन | २५३१५६९५९३ | २४६८१४२२८५ | २.५७ |
| प्रभु महालक्ष्मी | २९१०८६६८० | २९४९६३६६७ | -१.३१ |
| सन नेपाल | ३०५५७७३९८ | २५२४२०७६१ | २१.०६ |
| सिटिजन्स | ५४५००३८०६ | ५४८९९२९७२ | -०.७३ |
| नेपाल | ४५०५१४८२४५ | ३९३९२६८०१८ | १४.३७ |
| सूर्य ज्योति | ९४३६३६४७७ | ८९१६५१२३८ | ५.८३ |
| जम्मा | १३९५८१४९३३९ | १३४३४९७५०६३ | ३.८९ |










