जलवायु वित्तसम्बन्धी कार्यक्रममा भाग लिइ टर्कीएबाट फर्किए अर्थमन्त्री स्वर्णिम वाग्ले

बिजमाण्डू
२०८३ कात्तिक २९ गते १३:५४ | Nov 15, 2026
जलवायु वित्तसम्बन्धी कार्यक्रममा भाग लिइ टर्कीएबाट फर्किए अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन्। उनी टर्कीएमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप-३१)मा सहभागी भइ आइतबार स्वदेश फर्किएका हुन्।

GBIME
Tata

उनी करिब एक दर्जन कार्यक्रमहरुमा सहभागी भएका थिए। उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्त सम्बन्धी सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए।

वाग्लेले सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरुको गठबन्धन’मा नेपाललाई १०५औं (नयाँ) सदस्यका रुपमा सामेल गराउँदै ‘उत्थानशीलताका लागि वित्त’बारे नीतिगत अवधारणा छलफलका लागि पेस गरेका थिए।

वाग्लेले जलवायु र अर्थशास्त्रमा ख्याति कमाएका प्रा. योहान रक्स्त्रम र प्रा. निकलस स्टर्नसँग भेटवार्ता गरेका थिए। वाग्लेसँग प्रभावशाली जलवायु दूतहरु बेलायतकी रेचेल काइट, अष्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र राष्ट्र संघीय महासचिवका दूत सेल्विन हार्टले पनि छलफल गरेको उनको सचिवालयले जनाएको छ।

टर्कीएमा रहँदा हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमबारे छलफल गरेका वाग्लेले जलवायु मापन कोष सम्बन्धी कार्यक्रमलाई सम्बोधन गरेका थिए।