पोखराको लेकसाइड क्षेत्र रातमा सधैंजसो झिलिमिली हुन्छ। फेवाताल किनारका होटल, रेस्टुरेन्ट, बार र सडकमा बल्ने रंगीचंगी बत्तीले पर्यटकीय सहरको रात्रिकालीन सौन्दर्यलाई जीवन्त बनाइरहेको हुन्छ। तिहारले यहाँको उज्यालो र रौनक थपिएको छ।
घर, होटल तथा व्यापारिक प्रतिष्ठानमा सजाइएका रंगीन बत्तीले लेकसाइडलाई थप आकर्षक बनाएका छन्। सडक किनारदेखि भवनका छत, झ्याल र बाल्कोनीसम्म झिलिमिली बत्ती टाँगिएका छन्। कतै फूलमालासहितको सजावट छ भने कतै बिजुलीका बत्तीले भवनलाई नै रंगीन बनाएका छन्।

तिहारको सांस्कृतिक र धार्मिक महत्त्वसँगै उज्यालोको पर्वले पोखराको पर्यटन व्यवसायलाई पनि ऊर्जा दिएको छ। स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल रहने लेकसाइडमा तिहारको सजावटले रातको दृश्यलाई थप मनमोहक बनाएको छ। नियमित उज्यालोमा रमाउने पर्यटकीय सहर यतिबेला तिहारको थप उज्यालोमा सजिएको छ।














