काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको २८ खेलमध्ये आज १९ र २० औँ खेल हुँदैछ। अर्थात अब एनपीएलको लिग चरण सकिँदै जाँदा हरेक जित र हारले सिधा प्लेअफको समीकरणमा प्रभाव पार्नेछ।
जारी लिगमा पोखरा एभेन्जर्सलाई छाड्ने हो भने बाँकी टिमहरुबीच प्लेअफका लागि चर्को प्रतिस्पर्धा छ। शीर्ष स्थानको लुम्बिनी ७ अंकसहित शीर्षमा रहँदा सातौँ स्थानको विराटनगर किंग्सको ४ अंक छ। विराटनगरसँगै कर्णाली र जनकपुरको पनि समान ४ अंक छ। अर्थात दुई खेलमा यि टोली शीर्षस्थानको लुम्बिनीबाट २ खेलमात्रै टाढा छन्। यही स्थितिमा अरु सबै टोली पनि छन्। यस्तोमा आजबाट हुने हरेको खेल प्लेअफ समीकरणका लागि निकै महत्वपूर्ण बन्नेछन्।
एनपीएलमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दा दोस्रोमा चितवन राइनोज र काठमाडौं गोर्खाज भिड्नेछन्।
एनपीएलमा सबैभन्दा कमजोर स्थितिमा रहेको टोली हो- पोखरा एभेन्जर्स। चार खेल खेल्दा उसले सबैमा पराजय नै ब्यहोरेको छ। बाँकीका तीन खेल जितेर प्लेअफ पुग्ने उसको झिनो सम्भावना त बाँकी नै छ। यद्यपि उ शीर्षस्थानमा भने पुग्न सक्दैन। यो टोलीमा कुशल भुर्तेल, अर्जुन कुमाल जस्ता नेपाली खेलाडीसँगै मेहदी हसन, युवराज साम्राजस्ता विदेशी खेलाडी छन्। सकिव अल हसन भने अघिल्लो खेलबाटै छैनन्।
पोखरासँग आज भिड्नेछ कर्णाली याक्स। प्रतियोगिताको सानदार सुरुवात गर्दै लगातार दुई जित निकालेको कर्णालीले पछिल्ला दुई खेल भने गुमाएको छ। खराव लयमा रहेको पोखराविरुद्ध कमब्याकको प्रतिक्षामा कर्णाली हुनेछ। सोमपालसहित गुल्सन झा, नन्दन यादव जस्ता नेपाली खेलाडी र डेभिड मिलर, हुसैन तलत जस्ता विदेशी खेलाडीले कर्णाली सन्तुलित छ।
आजै हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्नेछन्। यो खेल साँझ ५ बजे सुरु हुनेछ।
डेभिड वार्नरको आगमनपछि सन्तुलित र कन्फिडेन्ट बन्दै गएको टोली हो- काठमाडौं। लुम्बिनीको दुई सिजनगरी १० खेलको अपराजित यात्रा टुंगाएको काठमाडौंले पहिलो खेलमा जनकपुरसँग हार ब्यहोरे पनि त्यसपछि कर्णाली, विराटनगर र लुम्बिनीलाई हराएको छ। ४ खेलबाट ६ अंक बनाएको यो टोली प्लेअफका लागि तुलनात्मक रुपमा ‘कम्फर्टेबल’ स्थितिमा छ। करण केसी, शहाब आलमजस्ता नेपाली खेलाडी तथा वार्नर, विल बोसिस्टोजस्ता विदेशी खेलाडीले काठमाडौंलाई निकै सन्तुलित बनाएका छन्।
अर्को टोली छ- चितवन राइनोज। चितवनको तीनै सिजनमा रवि बोपाराको अनुभव र संयमित प्रदर्शन प्रभावशाली रहँदै आएको छ। त्यस्तै, अनुभवी अलराउण्डर सिकन्दर राजाले यो टोलीको कप्तानी सम्हालिरहेका छन्। नेपाली खेलाडीमा रिजन ढकाल, कमलसिंह ऐरीजस्ता बलर छन्। अलराउण्डर र बलरको राम्रो प्रदर्शनका बीच ब्याटरको भने चितवनमा संघर्ष चलिरहेको छ।








