केप क्यानाभेरल, फ्लोरिडा। चन्द्रमामा पुग्ने, त्यहाँ अनुसन्धान गर्ने र भविष्यमा बन्ने मानव बस्तीको हिस्सा बन्ने अवसरको चाहना गर्नेका लागि एउटा आकर्षक अफर छ। यो सपना पूरा गर्न चाहनेका लागि अमेरिकी अन्तरिक्ष निकाय नासाले नयाँ ढोका खोलेको छ। चन्द्रमामा मानव उपस्थितिलाई स्थायी बनाउने महत्त्वाकांक्षी अभियानका लागि नासाले नयाँ अन्तरिक्ष यात्री छनोट गर्दैछ। इच्छुक अमेरिकी नागरिकले डिसेम्बर ३ सम्म आवेदन दिन सक्नेछन्।
छनोट हुने भाग्यमानीले सन् २०२८ देखि तालिम सुरु गर्नेछन्, जुन वर्ष नासाले आधा शताब्दीभन्दा लामो अन्तरालपछि मानिसलाई फेरि चन्द्रमाको सतहमा उतार्ने लक्ष्य राखेको छ। नासाका अधिकारीहरूले शनिबार केनेडी स्पेस सेन्टरमा आयोजित एयर शोका क्रममा नयाँ अन्तरिक्ष यात्री छनोटको घोषणा गरेका हुन्। उक्त कार्यक्रम चन्द्र अन्वेषणका साथै हवाई उड्डयन र प्रविधिमा भएका प्रगति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो।
नासाले यसअघि सन् २०२४ मा नयाँ अन्तरिक्ष यात्री छनोटका लागि आवेदन मागेको थियो। त्यसबेला आठ हजारभन्दा बढीले आवेदन दिएका थिए। तीमध्ये अन्तिम चरणमा १० जना छनोट भएका थिए। उनीहरूलाई सन् २०२५ सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो।
हाल नासासँग सक्रिय अन्तरिक्ष यात्रीको सङ्ख्या ३२ मात्रै छ। पृथ्वीको तल्लो कक्षभन्दा बाहिर मानव उपस्थितिलाई छिटो विस्तार गर्ने लक्ष्य लिएको नासालाई थप जनशक्ति आवश्यक परेको छ। गत अप्रिलमा आर्टेमिस–२ अभियानका अन्तरिक्ष यात्रीले चन्द्रमाको परिक्रमा गरेर फर्किएपछि नासाको चन्द्र अभियानले नयाँ गति लिएको छ।
आर्टेमिस–३ अभियानका कमान्डर र्यान्डी ब्रेस्निकले एसोसिएटेड प्रेस (एपी)सँग कुरा गर्दै अन्तरिक्ष यात्रीको सङ्ख्याभन्दा काम धेरै रहेको बताए। उनका अनुसार चन्द्र अभियानलाई विस्तार गर्न थप दक्ष अन्तरिक्ष यात्री आवश्यक छन्।
नयाँ अन्तरिक्ष यात्री बन्न इच्छुकले आगामी डिसेम्बर ३ सम्म आवेदन दिन सक्नेछन्। नासाले सन् २०२७ को अन्त्यसम्ममा अन्तिम छनोट गर्ने र सन् २०२८ को सुरुआतदेखि नयाँ उम्मेदवारलाई तालिममा सहभागी गराउने योजना बनाएको छ। यही अवधिमा नासाले आधा शताब्दीभन्दा लामो समयपछि पुनः अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा उतार्ने लक्ष्य राखेको छ।
ब्रेस्निकले सन् २०२८ सम्म चन्द्रमामा अन्तरिक्ष यात्री पुगिसक्ने अपेक्षा गरिएको भन्दै इच्छुकलाई आवेदन दिन ढिलाइ नगर्न आग्रह गरेका छन्।
ब्रेस्निक र उनका तीन सहकर्मी आगामी वर्षको गर्मीयाममा अन्तरिक्षमा जाने तयारीमा छन्। उनीहरूको अभियानमा पृथ्वीको कक्षमै रहेर दुईवटा चन्द्र अवतरण यानसँग अन्तरिक्ष यान जोड्ने अभ्यास गरिनेछ। तीमध्ये एउटा यान अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्स र अर्को जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनले निर्माण गरिरहेका छन्।
यो अभियानमा अन्तरिक्ष यात्री चन्द्रमासम्म पुग्ने छैनन्। बरु चन्द्रमामा अवतरण गराउने अभियानको पूर्वअभ्यासका रूपमा अन्तरिक्ष यान र अवतरण यानबीचको सम्पर्क तथा जोड्ने प्रविधिको परीक्षण गरिनेछ। त्यसपछिको वर्ष अर्थात् सन् २०२८ मा सञ्चालन गर्ने लक्ष्य राखिएको आर्टेमिस–४ अभियानले चन्द्रमाको दक्षिणी ध्रुवनजिक दुई अन्तरिक्ष यात्रीलाई उतार्ने प्रयास गर्नेछ।
नासाको दीर्घकालीन योजनामा चन्द्रमामा स्थायी आधार शिविर निर्माण गर्नु पनि समावेश छ। यसका लागि क्रमशः थप रोभर, रोबोट, संरचना र विद्युत् आपूर्ति प्रणाली चन्द्रमामा पठाइनेछ। यी पूर्वाधारले भविष्यमा लामो समयसम्म मानिसलाई चन्द्रमामा बस्न र अनुसन्धान गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
अन्तरिक्ष यात्री बन्न धैर्य र लामो तयारी आवश्यक पर्ने आर्टेमिस–३ का अर्का सदस्य फ्र्याङ्क रुबियोले बताए। अन्तरिक्षमा लगातार ३७१ दिन बिताएर अमेरिकी अन्तरिक्ष यात्रीमध्ये सबैभन्दा लामो समय अन्तरिक्षमा रहने कीर्तिमान बनाएका रुबियोका अनुसार छनोट भएका उम्मेदवारले पनि लामो र कठिन तालिम पूरा गर्नुपर्छ।
नासाको नयाँ छनोट प्रक्रियामा सहभागी हुन अमेरिकी नागरिक हुनुपर्नेछ। त्यसका लागि विश्वविद्यालय तहको शैक्षिक योग्यता र व्यावसायिक कार्यअनुभव पनि अनिवार्य गरिएको छ। छनोट भएका उम्मेदवारले कम्तीमा दुई वर्षको अनिवार्य तालिम लिनुपर्नेछ। त्यसपछि पनि अन्तरिक्ष यात्राको अवसर पाउन थप केही वर्ष कुर्नुपर्ने हुन सक्छ।
रुबियोले अन्तरिक्ष यात्रीको अधिकांश काम चन्द्रमामा पुग्नु मात्रै नभएको स्पष्ट पारे। उनका अनुसार अन्तरिक्ष यात्रीका रूपमा काम गर्ने अनुभवको करिब एक प्रतिशत मात्रै चन्द्रमामा पुग्ने अभियानसँग सम्बन्धित हुन्छ। बाँकी समय अनुसन्धान, तालिम, प्रविधि विकास र समग्र अन्तरिक्ष अभियानको सफलताका लागि खर्च हुन्छ।
सन् १९५९ मा सुरु भएको मर्करी सेभेनको पहिलो समूहयता नासाले अहिलेसम्म २४ पटक अन्तरिक्ष यात्रीको नयाँ समूह छनोट गरिसकेको छ। अहिले आवेदन खुलाइएको समूह नासाको २५औँ अन्तरिक्ष यात्री समूह हुनेछ। (एपी)








