डिजिटल धुनको भीडमा हराएको छैन मादलको ताल, तिहारसँगै बढ्यो बिक्री

बिजमाण्डू
२०८३ कात्तिक २१ गते ०६:१३ | Nov 7, 2026
डिजिटल धुनको भीडमा हराएको छैन मादलको ताल, तिहारसँगै बढ्यो बिक्री


सुनसरी। तिहार आएसँगै मादलको बिक्री बढ्न थालेको छ। देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले यसको माग बढ्ने गरेको व्यापारी बताउँछन्। आधुनिक प्रविधिको वाद्यवादन प्रयोग बढे पनि देउसीभैलोमा मादलको आकर्षण घटेको छैन।

GBIME
Tata

धरान-२ छाताचोकस्थित साल्सा म्युजिक स्टोरका सञ्चालक सुमन चौधरीले तिहारमा मादलको बिक्री बढी हुने गरेको बताए। विगत २० वर्षदेखि मादल, गितारलगायत विभिन्न बाजाको व्यापार गर्दै आएका उनका अनुसार तिहारका बेला दैनिक ७० देखि ८० वटासम्म मादल बिक्री हुने गरेको छ। सामान्य समयमा भने दैनिक पाँचदेखि १० वटासम्म मात्र बिक्री हुन्छ।

चौधरीले भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर र बेलटारलगायत स्थानमा मादल पठाउँदै आएका छन्। ३ हजारदेखि ८ हजार रुपैयाँसम्मका मादल उनले बिक्री गर्दै आएका छन्। पहिले बाहिरबाट ल्याएर बिक्री गर्ने चौधरीले अहिले आफ्नै कारखानामा मादल बनाउने गरेका छन्।

आफ्नै कारखाना भएकाले ग्राहकको मागअनुसार आकार र गुणस्तरका मादल बनाउन सहज भएको उनको भनाइ छ। पसल तथा कारखानामा अहिले ६ जनाले रोजगारी पाएका छन् भने परिवारका सदस्यले पनि व्यवसायमा सहयोग गर्दै आएका छन्।

धरानको देसी लाइनमा मादलको व्यापार गर्दै आएका यदुनाथ अधिकारीले पनि तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताए। १५ वर्षदेखि परिवारका सदस्यसँग मिलेर मादल र खुकुरीको व्यापार गर्दै आएका अधिकारीको पसलमा रु दुई हजारदेखि सात हजारसम्मका मादल छन्।

अधिकारीका अनुसार तिहारमा देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले यस समयमा माग बढी हुन्छ। लक्ष्मीपूजादेखि मादलको बिक्री झनै बढ्ने गरेको उनले बताए। कहिलेकाहीँ एकै दिन आठदेखि १० वटासम्म मादल बिक्री हुने गरेको छ। भोजपुर, धनकुटा तथा पश्चिम नेपालमा उत्पादित मादल खरिद गरेर बिक्री गर्दै आएका अधिकारीले ग्राहकको मागअनुसार विभिन्न गुणस्तर र मूल्यका मादल राखिएको जानकारी दिए।

देउसीभैलो खेल्ने समूहले केही समयका लागि प्रयोग गर्न सस्तो मादल खोज्ने भएकाले महँगा मादल मात्र बिक्रीका लागि नराखिएको उनको भनाइ छ।

यसैगरी, इटहरी-६ का भेषराज अधिकारीले पनि विगत नौ वर्षदेखि मादल र खुकुरीको व्यापार गर्दै आएका छन्। उनका अनुसार तिहारको समयमा मादलको बिक्री उल्लेख्य बढ्ने गरेको छ। तिहारको समयमा रु एक लाखदेखि डेढ लाखसम्मको मादल बिक्री हुने गरेको उनले बताए। देउसीभैलो खेल्ने परम्पराले नेपाली मौलिक बाजा मादलको व्यापारलाई चलायमान बनाउँदै आएको छ। रासस