सन् २०२६ नोभेम्बर ३। सो दिन जब प्याराग्वेका लाखौं मानिसले जब आफ्नो स्मार्टफोनमा रहेको ‘उएनो बैंक’ को एप खोले, त्यसमा एउटै सन्देश देखियो – इरर मेसेज। सुरुमा यसलाई प्राविधिक समस्या थानियो। तर, जब यस्तै समस्या अधिकांश बैंक प्रयोगकर्ताको एपमा देखिएको खबर फैलियो दक्षिण अमेरिकी राष्ट्र प्याराग्वे इतिहासकै ठूलो वित्तीय संकटमा फसिसकेको थियो।
उएनो बैंकका शाखा बाहिर मानसिहरु भेला हुन सुरु भइसकेको थियो। त्यहाँ पुग्नेहरुको प्रश्न एउटै थियो -हाम्रो पैसा खोइ?
प्रश्नहरु बढ्दै जाँदा खुलासा भयो -उएनो बैंक ‘कोल्याप्स’ भयो, अर्थात ८० करोड अमेरिकी डलर जम्मा रहेको बैंक टाट पल्टियो। नेपालमा यो करिब सवा एक खर्ब रुपैयाँ हुन आउँछ। यसको केही दिनअघि मात्रै उएनो बैंकले आफ्नो ‘सक्सेस स्टोरी’ साझा गरेको बीबीसीले उल्लेख गरेको छ।
यो खबरसँगै देशभर प्रदर्शन भए। बैंकका अधिकारीहरुलाई प्रहरीले नियन्त्रणमा लियो। साथै त्यहाँको केन्द्रीय बैंकले उएनोलाई टेकओभर गर्यो।
तर, सडकमा प्रदर्शन रोकिएन। मानिसको संख्या थप बढ्यो। र, उनीहरुको निशाना बने – राष्ट्रपति सान्टियागो पेन्या।
सन् २०२३ मे मा कन्सर्भेटिभ पेन्या राष्ट्रपतिमा निर्वाचित हुँदै गर्दा धेरैको विश्वास थियो – उनले प्याराग्वेको अर्थतन्त्रमा सुधार ल्याउँलान। पेन्या अर्थशास्त्री हुन् र उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र प्याराग्वेकै केन्द्रीय बैंकमा लामो समय काम गरेका थिए। एक कुशल अर्थशास्त्री देशको सर्वोच्च पदमा पुग्दा जनताले आर्थिक स्थायित्व र वित्तीय सुशासनको ठूलो अपेक्षा गरेका थिए।
त्यसको ३ वर्षपछि त्यहाँका जनता पेन्याविरुद्ध सडकमा ओर्लिएका छन्। र, ‘अर्थशास्त्री राष्ट्रपतिले हाम्रो देशको अर्थतन्त्र कसरी डुबायो?’ भन्दै प्रश्न गरिरहेका छन्।

सन् २०२६ सेप्टेम्बरसम्म उएनो बैंकमा देशमा ३० लाखभन्दा बढी ग्राहकहरुको खाता रहेको दाबी गरिएको छ। जुन प्याराग्वेको कुल जनसंख्याको आधा हिस्सा बराबर हुन्छ। यसका साथै, बैंकले दैनिक ३० लाखभन्दा बढी कारोबारहरु गर्ने गरेको दाबी पनि गरेको छ।
प्याराग्वेका पुराना बैंकहरुको लामो कागजी प्रक्रिया, कडा कानुनी सर्तहरु र झन्झटिलो लाइनबाट उएनोले सर्वसाधारणलाई मुक्ति दिने भन्दै प्रचार गरेको थियो। स्मार्टफोनबाट सजिलै खाता खुल्ने, आकर्षक डिजिटल वालेट सुविधा पाइने र खाद्यान्न खरिद गर्दा ठूलो क्यास–ब्याक अफर पाइने भएपछि युवा पुस्ता र सर्वसाधारणको पहिलो रोजाइमा यो बैंक पर्न गएको भनिएको छ।
पेन्यामाथि किन ओर्लिए जनता?
उएनो बैंक प्याराग्वे एउटा सानो स्थानीय वित्त कम्पनीका रुपमा सुरु भएको थियो। ‘भिजन बांको’ लाई आफूमा गाभेपछि उएनोले प्रविधिमा आधारित ठूलो फड्को मारेको बताइन्छ।
त्यसपछि दक्षिण अमेरिकाभर डिजिटल बैंकिङको पहुँच पुर्याउने दाबीका साथ यो संस्था एउटा डिजिटल शक्ति केन्द्रका रुपमा अघि बढेको थियो। यसको विस्तारका लागि राष्ट्रपति पेन्याको ‘विशेष नजर’ थियो।
पेन्या पहिल्यैदेखि उएनो बैंकको मुख्य होल्डिङ कम्पनीका संस्थापक सेयरधनी थिए। उनी गत वर्षसम्म पनि यही यस बैंकसँग आबद्ध रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
पेन्याले विस्तारै आफ्नो लगानी गरेको बैंकलाई ‘फेबर’ गर्ने नीति लिए। र, २०२१ देखि २०२३ सम्म उएनो संस्थाको अध्यक्ष रहेका कार्लोस कार्भाल्लो स्पाल्डिङलाई केन्द्रीय बैंकको प्रमुख बनाएका थिए।
जब सोमबार एकाएक बैंक ‘कोल्याप्स’ भयो, त्यसपछि सबैको तारो पेन्या बने। बैंकसँगको पुरानो तथा घनिष्ठ सम्बन्धलाई लिएर उनको आलोचना भयो। उनको ‘कन्फिल्क्ट अफ इन्ट्रेस्ट’ र सरकारी र सार्वजनिक सम्पत्तिमाथि अनियमितता भएको लुकाउन सघाएको आरोप उनीमाथि लाग्यो।

जनताको आक्रोश बढेसँगै उनले कार्लोस कार्भाल्लो स्पाल्डिङलाई केन्द्रीय बैंकको प्रमुखबाट राजीनामा पनि गर्न लगाए। जनता पेन्यासँगै उनको सत्तारुढ दल कोलोराडो पार्टीविरुद्ध पनि खनियो।
त्यसपछि सत्तारुढ दलले पनि पेन्याको साथ छोड्यो र उनीविरुद्ध महाभियोग पारित गर्न सहमति जनायो।
बैंकको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएपछि बैंक ‘कोल्याप्स’ भएको खबर सतहमा आएको हो। उएनोको ‘सल्भन्सी रेसियो’ कानुनले तोकेको न्यूनतम सीमाभन्दा आधाभन्दा पनि तल खस्किएको पाइयो। त्यसपछि वित्तीय संस्था फर्स्यौट सम्बन्धी कानुन अनुसार त्यहाँको केन्द्रीय बैंकले तत्काल संकटकालीन हस्तक्षेप गर्नुपर्ने स्थिति बनेको बताइन्छ।
पेन्याले आफू आबद्ध बैंकमा सरकारी पेन्सन कोषको रकम समेत जम्मा गराएको बताइन्छ। कूल जनसंख्याको ६० प्रतिशत व्यस्क व्यक्तिहरुको यो बैंकमा बचत थियो।
नियमनकारी निकायहरुले हाल बैंक कोल्याप्स हुने स्थितिका पछाडि विशेष गरी दुई मुख्य कारण औँल्याएका छन्।
पहिलो, बैंकका मुख्य संचालक समूहसँग जोडिएका सम्बन्धित पक्षहरुलाई कुनै पर्याप्त धितो वा कागजातबिनै करोडौं डलर ऋण प्रवाह गरिनु।
दोस्रो, तीव्र संचालन विस्तार र प्रचारप्रसारमा अत्यधिक रकम खर्च गर्नु। यसले बैंकको वास्तविक आम्दानीले सो व्यय धान्न नसकेको प्रारम्भीक अध्ययनमा देखिएको छ।
कहाँ हरायो रकम?
बैंकको रकम केही दिनमै ह्वात्तै सकिएको भने होइन। यसको पछाडि ठूलो वित्तीय र राजनीतिक नेक्सस रहेको अनुमान गरिएको छ।
पेन्याले गरेको ‘फेबर’, केन्द्रीय बैंकमा ‘एस म्यान’को नियुक्ति र सरकारी ढुकुटी त्यही बैंकमा जम्मा गरिनुलाई अहिले अनुसन्धानको विषय बनाइएको छ।

प्याराग्वेको सरकारी पेन्सन र स्वास्थ्य कोष हेर्ने सामाजिक सुरक्षा संस्थानको लगभग ३८० मिलियन अमेरिकी डलर उएनो बैंकमा जम्मा गरिएको थियो। जुन रकम बैंकको कुल निक्षेपको करिब चौथो हिस्सा थियो। बैंकका अधिकारीहरुले यो रकम दुरुपयोग गरेका थिए।
बैंकको पुँजीको ठूलो हिस्सा उएनोसँग आबद्ध साझेदार तथा सम्बन्धित कम्पनीहरुलाई व्यावसायिक कर्जाका रुपमा प्रवाह गरिएको थियो। जसका कारण समग्र बैंकमा कर्जा जोखिम अत्यधिक रूपमा बढेको पाइएको छ।
त्यस्तै, बैंकका खाताहरु रोक्का भएपछि विभिन्न क्षेत्रीय लगानी कोषहरु प्रत्यक्ष रुपमा प्रभावित भएको बताइन्छ। जसको परिणामस्वरुप स्थानीय बजारमा संस्थागत पुँजी प्रवाह पूर्णतया ठप्प हुन पुगेको स्थानीय संचारमाध्यममा उल्लेख छ।
अब के हुन्छ ?
प्यारेग्वेमा अहिले सबैभन्दा ठूलो प्रश्न बनेको छ –के बचत रकम फिर्ता होला? तर, उत्तरहरु अहिले नै सहज छैनन्।
पेन्याले राजीनामा दिनुअघि रकम फिर्ता गर्ने घोषणा स्वरुप कार्यक्रम घोषणा गरेका थिए। तर, त्यसमा जनता र नेताले साथ दिएनन्।
अहिले उएनोका सर्वसाधारण निक्षेपकर्ताहरुको खाता अन्य वित्तीय रुपमा सबल वाणिज्य बैंकहरुमा सारेर सहज बनाउने प्रयास भइरहेको जनाइएको छ। ३२ हजार बढी पेन्सनकर्ताको खाता पनि सार्ने प्रयास भइरहेको छ।
निक्षेपकर्ताहरुलाई हाल निश्चित रकम दिने र क्रमश: उनीहरुको पूँजी फिर्ता दिने गरि प्रयास पनि भइरहेको छ। यद्यपि, सीमाभन्दा माथिको ठूलो निक्षेप रकम भने उएनोको कर्जा असुली पछि मात्र पाउन सकिने भनिएको छ।
पेन्याको पतन
सन् २०१६ मा कोलोराडो पार्टीमा प्रवेश गरेका पेन्या यसअघि प्याराग्वेका अर्थमन्त्री थिए। पूर्व राष्ट्रपति होरासियो कार्टेसले उनलाई अर्थमन्त्री बनाएका थिए। त्यसअघि उनी लिबरल पार्टीमा थिए।
कार्टेसको समर्थनमै सन् २०२३ मा उनी प्याराग्वेको राष्ट्रपतिमा निर्वाचित भएको बताइन्छ। उनलाई त्यसबेला मिडियाले ‘फ्रेस फेस‘ भनेको थियो। उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकका रुपमा लिइन्छ।
यो वित्तीय संकटसँगै अर्थशास्त्री पेन्याको राजनीतिक पतन भएको छ। उनले दिएको राजीनामा अस्वीकार गरेर त्यहाँको संसदले महाभियोग प्रस्ताव अघि बढाउने निर्णय गरे।
प्याराग्वेका विपक्षी दलका नेताहरुले पेन्याको राजीनामा स्वीकृत भए उनले राष्ट्रपतिको रुपमा विशेष अधिकार पाउने र उनी आरोप र कानुनी कारबाहीबाट बच्ने बताएका छन्। त्यसैले उनीमाथि महाभियोग लगाए उनलाई फेरि राजनीतिक पदमा नियुक्ति नपाउने गरि हटाउन खोजिएको छ।
हाल पक्राउ परेकाहरुमाथि वित्तीय विश्वासघात, ठगी र गैरकानुनी रुपमा पुँजी निष्कासन गरिएको आरोपहरु लगाइएको छ। स्थानीय संचारमाध्यमका अनुसार २७ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ। केन्द्रीय बैंकको नेतृत्व फेरेर यो वित्तीय संकटबाट ‘रिकभर’ कसरी हुने भनेर पनि खोजी भइरहेको छ।
प्याराग्वेका जनताहरु सडकमा ओर्लिएर पेन्यामाथि पनि यिनै आरोपमा अनुसन्धान र कारबाही हुनुपर्ने माग गरिरहेका छन्।
तर, पेन्या भने महाभियोगको सामना गर्न अझै केही समय मागिरहेका छन्। सँगसँगै उनलाई तत्काल हटाउनुपर्ने र कारबाहीको माग सदन र सडकमा उठिरहेको छ।










