सरकारका कामबाट रवि असन्तुष्ट, ‘निजी क्षेत्र, अदालत र कर्मचारीमा त्रासको वातावरण राम्रो होइन’

बिजमाण्डू
२०८३ कात्तिक २० गते १९:१८ | Nov 6, 2026
सरकारका कामबाट रवि असन्तुष्ट, ‘निजी क्षेत्र, अदालत र कर्मचारीमा त्रासको वातावरण राम्रो होइन’


काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीलाई लिएर सार्वजनिकरुपमै असन्तुष्टि जनाएका छन्।

GBIME
Tata

उनले शुक्रबार चितवन पुगेर जताततै भयको अवस्था देखिएको भन्दै सरकारको कामप्रति असन्तुष्टि जनाएका हुन्। रविले अदालतदेखि कर्मचारी प्रशासन र प्रहरीदेखि प्रेसलाई कमजोर बनाउनतिर नलाग्न सरकारलाई आग्रह गरे।

‘कर्मचारीतन्त्रको साथविना जनतालाई गरेको वाचा पूरा गर्न सकिंदैन। अदालत पनि कमजोर हुने, प्रहरी पनि कमजोर हुने, निजी क्षेत्र कमजोर हुने, वैदेशिक सम्बन्ध पनि कमजोर हुने, पेशागत संगठन पनि कमजोर हुने र प्रेस पनि कमजोर। भएभरका संस्था कमजोर भए भने देश नै कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुन्छ,’ उनले भने, ‘कमजोर लोकतन्त्रले ठूलो कुराबाहेक काम गर्न सक्दैन। हाम्रा काम र निर्णयले लोकतन्त्रका पिलर कमजोर बनाउनु हुँदैन भन्ने महसुस गर्नुपर्छ।’

उनले काम गर्न नसकेको दोष अरुलाई देखाएर पन्छिने छुट रास्वपा सरकारलाई नरहेको बताए। ‘हामीले अब कसलाई दोष लगाउने? हामीमा शक्तिको उन्माद हुनुभएन। राजनीतिक संस्कार चाहियो। विनम्रता चाहियो,’ उनले भने।

रविले प्रधानमन्त्रीसँग आफ्नो कुनै अन्तरसंघर्ष र विवाद नरहेको तर सरकारका कारण देशको अवस्था नबिग्रियोस् भन्नेमा भने आफू चिन्तित रहेको बताए।

‘प्रधानमन्त्रीसँग कुनै अन्तरसंघर्ष छैन। तर आमचासोका विषयमा पार्टीले टिप्पणी गर्छ। सरकारले जनचाहना अनुरुपको काम गरेन भने पार्टीले सम्झाउने कोसिस गर्छ। तर, त्यो विवाद होइन। रवि लामिछानेले भित्रभित्रै षडयन्त्र गर्दैन। सरकारलाई झक्झकाउनु भनेको झगडा हुनु होइन,’ उनले भने, ‘हामी अलि अपरिपक्व भएछौं कि भन्ने सन्देश जाला कि भन्ने कुरामा सचेत हुनुपर्छ। हामीबाट सत्ता सञ्चालन हुँदैन कि भन्ने संशयमा सचेत हुनुपर्छ। हामीले प्रक्रियालाई पनि ध्यान दिनुपर्छ। हामीलाई नागरिक समाज अरु दल र अन्तर्राष्ट्रिय समुदायले हेरिरहेका छन्।’

रविले निजी क्षेत्र, कर्मचारी र अदालत सबैको साथ लिएर काम गर्न सरकारलाई आग्रह गरे। उनले निजी क्षेत्रको साथविना रोजगारी सिर्जना सम्भव नहुने भन्दै सरकारले भरोसा देखाउनुपर्ने बताए।

‘रोजगारीको अवसर सिर्जना गर्न कत्रो लडाँ लड्नुछ हामीलाई। झिनामसिना कुरामा अल्झिएर जनमत खेर फाल्नु हुँदैन। यो हामीले बुझ्नुपर्छ। युवाहरुलाई रोजगारी दिन्छौं भनेर हिजो हामीले वाचा गरेका छौं। चुनावमा बोलेका कुरा देखाएर अहिले उपहास गर्न थालेका छन्। त्यसलाई रोक्नुपर्छ,’ उनले भने, ‘उद्योग कलकारखाना खोल्ने वातावरण सिर्जना गर्नुपर्नेछ। लगानीमैत्री वातावरण बनोस् भनेर हामीबाट अपेक्षा गरिएको छ। व्यापारीहरुमा त्रास होइन आश, भरोसा र अभिभावकत्वको अवस्था सिर्जना गर्नुपर्नेछ हामीले।’

उनले निजी क्षेत्रलाई नआत्तिन आग्रह गरे। ‘निजी क्षेत्रका साथीहरुलाई भन्न चाहन्छु- नआत्तिनुहोला। हामी तपाइँहरुको साथमा छौं। हामीले जति मान्छेलाई रोजगारी दिने भनेका छौं त्यसका लागि निजी क्षेत्र चाहिन्छ,’ उनले भने।

रविले सरकारले कुनै पनि दल र नेताविरुद्ध प्रतिशोध नसाँध्ने बताए। उनले आफू प्रतिशोध साँध्ने पक्षमा नरहेको स्पष्ट पारे। ‘रास्वपा नेतृत्वको सरकारले कुनै दल र दलका नेताविरुद्ध प्रतशोध साँध्दैन। म त्यसको पक्षमा छैन,’ उनले भने।

उनले केही सांसदतर्फ लक्षित गर्दै नागरिकलाई धम्क्याउने, राज्यका निकायलाई तर्साउने र थर्काउने काम बन्द नगरे अर्को चुनावमा भोट नदिनका लागि आफूले नै भन्नुपर्ने अवस्था आउने बताए।