पाँच महिनाका लागि दूधको अभाव हुने, भारतबाट आयातको अनुमति माग्दै उद्योगी



बिजमाण्डू
२०७८ फागुन ३० गते ०९:०३ | Mar 14, 2022

काठमाडौं । दूधको आपूर्तिमा आत्मनिर्भर नेपाललाई कोरोनाका कारण धक्का लागेको छ। कोरोनाका कारण बितेको दुई वर्षमा दूधको आपूर्ति झण्डै २० प्रतिशतले घटेको दुग्ध प्रशोधनसँग सम्बन्धित उद्योगीले जानकारी दिएका छन्।

Tata
GBIME

सन् २०२० मा १० प्रतिशत र सन् २०२१ मा थप १० प्रतिशतले दुग्ध उत्पादन घटेपछि त्यो अभावलाई कसरी टार्ने भन्ने विषयमा सरकारले समेत छलफल सुरु गरेको छ।

सन् २०१९ मा नेपालमा २३ लाख १९ हजार टन दूध उत्पादन भएको थियो। कोरोना सुरु भएपछि २०२० मा त्यो घटेर २० लाख ८८ हजार टन र सन् २०२१ मा थप घटेर १८ लाख ७८ हजार टनमा झरेको डेरी इन्डष्ट्रिज एसोसिएसनको तथ्यांक छ।

यो हिसाबमा अहिले नेपालमा दैनिक साढे ५१ लाख लिटर दूध उत्पादन भइरहेको छ। त्योमध्ये ५० प्रतिशत अर्थात दैनिक २५ लाख ७४ हजार लिटर दूध घरायसी खपत हुन्छ भने त्यति नै बराबरको दूध खुला बजारमा आउँछ।

खुला बजारमा आउने दूधमध्ये ३० प्रतिशत अर्थात ७ लाख ७२ हजार लिटर दूध अनौपचारिक बजारमा जान्छ भने सन् २०२२ मा २० प्रतिशत अर्थात मासिक औसतमा ५ लाख १५ हजार लिटर दूध औपचारिक बजारमा आउँछ।

यसरी औपचारिक बजारमा आउने दूधमध्ये सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले दैनिक १ लाख २० हजार लिटर दूध प्रशोधन गर्छ भने डेरी इन्डष्ट्रिज एसोसिएसनमा आबद्ध उद्योगीले दैनिक ४ लाख २५ हजार लिटर हाराहारी र नेपाल डेरी एशोसिएशनसँग आबद्ध उद्योगीले दैनिक एक लाख लिटर हाराहारी प्रशोधन गर्छन्।

अहिले दूध उत्पादनको सिजन हो, त्यही भएर अहिले लगभग दैनिक छ लाख ४५ हजार लिटर आपूर्ति छ र त्यो प्रशोधन पनि भइरहेको छ। तर चैतदेखि भने आपूर्ति घट्न थाल्ने डेरी इन्डष्ट्रिज एशोसिएशनका उपाध्यक्ष निरञ्जन श्रेष्ठले बताए। 

'नेपालको औपचारिक बजारका लागि दैनिक ६ लाख ३६ हजार लिटर दूध प्रशोधन गर्नुपर्छ। अहिलेसम्म अवस्था ठीक छ तर चैतदेखि दूधको उत्पादन घट्न थालेपछि साउनसम्म आपूर्ति प्रभावित हुन्छ,' उपाध्यक्ष श्रेष्ठले भने, 'हाम्रो अनुमानमा चैतदेखि आगामी साउनसम्म औपचारिक बजारलाई थप एक लाख ८० हजार लिटर दूध आवश्यक पर्छ।'

चैतबाट बजारमा दूध बिक्री हुने सिजन सुरु हुन्छ। गर्मी लागेपछि दूध तथा दुग्धजन्य पर्दाथको माग धेरै हुने भएकोले बजारमा अभाव हुने देखिएको नेपाल डेरी एसोसिएशनका महासचिव प्रल्हाद दाहालले बताए।

अबको केही समय उत्पादन गरेर स्टक राखेको बटर धुलो पाउडरले बजारको माग धान्ने उनको भनाइ छ। निजी तथा सरकारी डेरी उद्योगहरुले स्टक राखेको दूग्ध जन्य पर्दाथलाई दूध बनाएर बजारमा पठाउने गरेका छन्।

'कोभिडका कारण यो वर्ष स्टक कम छ। यसले गर्दा स्वदेशी उत्पादनले पुग्दैन। सरकारले बजारको माग पूरा गर्न बाहिरी मुलुकबाट दुग्धजन्य पदार्थको आयात गर्न दिनुपर्छ,' महासचिव दाहालले भने।

बजारमा दुग्धजन्य पदार्थको आपूर्ति सहज गराउनका लागि पहल गरिरहेका डेरी व्यवसायहरुले बताएका छन्। अब को केही समय अफसिजनले उत्पादन कम हुन्छ। भदौपछि उत्पादन बढ्ने गरेको हुँदा आपूर्ति सहज हुन्छ।

'कोरोनाका कारण समयमा पशुमा कृत्रिम गर्भाधान हुन सकेन। साथै दानाको व्यवस्थापन र उत्पादन भएको दूधको बजारीकरणमा समस्या आयो, त्यो कारण दूध उत्पादनको एउटा चक्र बिग्रिएको छ। अब विस्तारै त्यो रिकभर हुँदैछ र दूधको सिजन सुरु भएपछि त्यो चक्र ट्रयाकमा आउँछ,' उनले भने।

आगामी पाँच महिनालाई अपुग दूध कहाँबाट कसरी जुटाउने त्यसमा छलफल चलिरहेको पनि उनले जानकारी दिए। 'कृषि मन्त्रालय, दुग्ध विकास बोर्ड र हामीबीच यो विषयमा छलफल भएको छ र हामीले केही सुझाव दिएका छौं,' उपाध्यक्ष श्रेष्ठले भने।

अभाव हुने दूधको मात्र आपूर्ति मिलाउन सके भविष्यमा त्यो किसान, उद्योगी, सरकार र उपभोक्ता सबैका लागि लाभदायक हुने समेत उनले बताए। आगामी पाँच महिनाका लागि कम हुने दूध आपूर्तिका लागि तीन विकल्प हुन सक्ने उनको भनाइ छ। 

'एउटा, हामीले दूधको आन्तरिक खरिद बजार बढाउन सक्छौं, दोस्रो भारतबाट दूध  आयात गर्न सक्छौं र तेस्रो भारत वा अन्य देशबाट बटर वा स्किम मिल्क पाउडर आयात पनि गर्न सक्छौं,' उपाध्यक्ष श्रेष्ठले भने।

पूर्वाधार लगायतका कारणले तत्कालै दूधको आन्तरिक खरिद बजार बढाउन कठिन छ। आगामी केही महिनापछि यातायात, ढुवानी र भण्डारण लगायतका पूर्वाधार तयार गरेपछि त्यसमा सुधार गर्न सकिने उनले जानकारी दिए।

'दोस्रो भारत वा तेस्रो देशबाट स्किम मिल्क पाउडर वा बटर आयात गरेर समस्या समाधान गर्न सकिन्छ तर यसबाट नेपालमा भ्यालु एडिसन हुँदैन,' उनी भन्छन्। नेपालमा भ्यालु एडिसन गर्नका लागि दूधकै आयात गर्न सकिने पनि उपाध्यक्ष श्रेष्ठले जानकारी दिए।

'पहिला पनि नेपालमा अभाव हुँदा उत्तर प्रदेश वा बिहारबाट दूधको आपूर्ति गरेको हो, अहिले पनि हामीले त्यहाँबाट आगामी पाँच महिनालाई चाहिने एक लाख ८० लिटर दूध आयात गर्न सक्छौं,' उनले भने, 'दूध नै आयात गरे पनि त्यसले मूल्यमा अहिले असर गर्दैन तर त्यसबाट हुने भ्यालु एडिसनले भने लाभ पुग्छ। भारतबाट थप दूध ल्याएर यही प्रशोधन गर्दा उद्योग चल्छ,  रोजगारीको सुनिश्चिता हुन्छ र दूधको अर्थतन्त्र पनि उस्तै गरी  चल्छ।' 

भदौपछि फेरि आन्तरिक उत्पादन बढ्ने भएकाले अवस्था सहज हुने उनको भनाइ छ। 'त्यसपछि दूध आयात बन्द गरे हुन्छ। यसबाट यहाँका किसानको हित पनि संरक्षण हुन्छ र बजार सुनिश्चित भएपछि बढ्दै गएको दूधको औपचारिक बजारले निरन्तरता पनि पाउँछ,' उनले भने।