एनपीएल : शीर्षमा पुग्ने लक्ष्यसाथ उत्रँदैछन् तीन टोली, पोखरालाई खोजी पहिलो जितको

बिजमाण्डू
२०८३ कात्तिक १७ गते ११:३९ | Nov 3, 2026
एनपीएल : शीर्षमा पुग्ने लक्ष्यसाथ उत्रँदैछन् तीन टोली, पोखरालाई खोजी पहिलो जितको
पोखरा र जनकपुरबीचको खेल। फाइल फोटो


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित टीयू क्रिकेट मैदानमा पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्नेछन् भने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन्।

GBIME
Tata

यीमध्ये विराटनगर, जनकपुर र लुम्बिनी प्रभावशाली जित निकाल्दै शीर्षस्थानमा पुग्ने लक्ष्यमा हुनेछन्। पोखरा भने लिगको पहिलो जित निकाल्ने पक्षमा हुनेछ। अंक तालिकामा कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स समान ४ अंकसहित शीर्ष तीनमा छन्। आज जनकपुरले विराटनगरलाई हराउन सके स्वत शीर्षस्थानमा वर्चस्व बनाउने छ।

तर विराटनगरले जनकपुरलाई हराए ४ टोलीको समान ४ अंक हुनेछ। यसमा विराटनगरको राम्रो रनरेट भएकाले शीर्षस्थानमा उक्लन सक्छ। त्यस्तै, लुम्बिनीले पहिलो खेल खेल्दा दोस्रोमा अंक बाँडेको थियो। उसले आज पोखरालाई हराए ५ अंकसहित शीर्षस्थानमा उक्लनेछ।

आजको पहिलो खेल विराटनगर र जनकपुरको हुनेछ। विराटनगरले आफ्नो पहिलो खेल चितवनसँग र दोस्रो कर्णालीसँग गुमाउँदा तेस्रो विवादित खेलमा सुदूरपश्चिमलाई हराएको थियो। अर्कोतर्फ कर्णालीसँग पराजित हुँदै लिगको सुरुवात गरेको जनकपुरले काठमाडौं र पोखरालाई हराइसकेको छ।

विराटनगरसँग आन्द्रे रसेल, एन्जेलो म्याथ्युज जस्ता पक्का विदेशी खेलाडी तथा सन्दीप लामिछाने तथा लोकेश बमजस्ता प्रभावशाली नेपाली खेलाडी छन्। विराटनगरको सदाबहार समस्या भने फिल्डिङमा छ। अर्कोतर्फ जनकपुरले हरमीत सिंहले राम्ररी अघि लगिरहेका छन्। साथमा मोइन अली र जिम्मी निशमको अनुभवले जनकपुर बलियो स्थितिमा छ। नेपाली खेलाडीमा अनिलकुमार साह, तृतराज दास जस्ता खेलाडी छन्। जनकपुरमा अलराउण्डर धेरै हुँदा टिमको सन्तुलनमा समस्या देखिन्छ।

आजैको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा भिड्नेछन्। साविक विजेता लुम्बिनीले उद्घाटन खेलमा सुदूरपश्चिमलाई हराउँदा दोस्रो खेल भने वर्षाका कारण सम्भव भएन। यो टोली अघिल्लो संस्करण भन्दा यसपाला धेरै फरक छैन। डार्सी सर्ट, निरोसन डिक्वेला जस्ता विदेशी खेलाडीसँग रोहितकुमार पौडेल, आशिफ शेख जस्ता नेपाली खेलाडीले टोलीलाई सन्तुलित बनाएका छन्।

अर्कोतर्फ श्रीलंकन र बंगलादेशी खेलाडीले राम्रो गरिरहे पनि पोखरामा नेपाली खेलाडी नै संघर्षमा छन्। सकिव अल हसन, मेहदी हसनजस्ता विदेशी खेलाडी कुशल भुर्तेल, दिनेश खरेलजस्ता नेपाली खेलाडी यो टोलीमा छन्। टोलीले ब्याटिङमा संघर्ष गरिरहँदा आज अर्जुन कुमालले प्लेइङ ११ मा स्थान बनाउन सक्छन्।

पहिलो खेल साढे १२ मा र दोस्रो खेल ५ बजे सुरु हुनेछ।