काठमाडौं। शुक्रबार साँझ पुतलीसडकमा रहेको नयाँ पत्रिकाको कार्यालयमा सादा पोसाकका प्रहरी पुगे। समाचारको विषयलाई लिएर पत्रकार नवराज मैनालीलाई प्रहरीले खोज्न थाल्यो। मैनाली कार्यालयमै थिए। तर, प्रहरीले सहजै ठम्याउन सकेन।
सम्पादक खगेन्द्र पन्तको प्रश्नमा प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट आएको र कार्यालय प्रमुखले खोजेको जवाफ फर्काए। सोधिखोजीपछि एसएसपी सन्तोष खड्काको नाम लिए।
गत शुक्रबार पत्रकार पक्राउ गर्ने विषयमा प्रहरी प्रमुख दानबहादुर कार्की र गृहमन्त्री सुधन गुरुङलाई सामान्य जानकारी नभएको होइन। प्रधानमन्त्रीको सचिवालयले यसमा तारन्तर चासो राखेको थियो। शुक्रबार बिहान ९ बजेदेखि नै पत्रकार धरपकडको विषयमा प्रहरी र प्रधानमन्त्री सचिवालयबीच कुराकानी चलेको थियो।
समाचारको विषयलाई लिएर कसरी बोलाउने भन्ने टुंगो थिएन। प्रहरी महानिरीक्षक कार्की बिहानैदेखि कार्यालय बाहिर थिए। उनी हेडक्वार्टर गएका थिएनन्। सार्वजनिक कार्यक्रममा सहभागी भएका कार्की केही समय गृहमन्त्री गुरुङसँग पनि थिए।
उनीहरुबीच पत्रकार पक्राउको बारेमा छलफल भएको थियो। दुबै जना पत्रकार पक्राउ गर्ने पक्षमा थिएनन्। प्रधानमन्त्री सचिवालयको निरन्तरको दबाबका कारण दुबैजनाको असहमतिले रोक्ने अवस्था थिएन।
त्यसपछि एकाएक काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली नेपाल प्रेस हुँदै नयाँ पत्रिकाको कार्यालयमा तैनाथ भयो। प्रहरी यसरी तैनाथ हुँदा महानिरीक्षक कार्की भने सार्वजनिक कार्यक्रममा थिए। उनको प्रत्यक्ष संलग्नता थिएन। उनलाई बाइपास गरेर खड्कामार्फत प्रधानमन्त्रीको सचिवालय पत्रकार धरपकडको आफ्नो मनसुबामा सफल भयो।
एसएसपी खड्का काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख हुन्। काठमाडौंका तीन जिल्लामा भएका गम्भीर प्रकृतिका घटना अनुसन्धान गर्न खडा भएको कार्यालय काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत पर्छ।
२०६३ मंसिर १ गते उपत्यका अपराध अनुसन्धान शाखाका रुपमा स्थापना गरिएको कार्यालयमा हाल १५० भन्दा बढी प्रहरीको दरबन्दी छ।

एसएसपीले नेतृत्व गर्ने यो कार्यालय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) र विशेष ब्युरोपछि सादा पोसाकमा धेरै संख्यामा जनशक्ति परिचालन गर्ने अड्डा हो। तर, अनुसन्धानकारी यस्ता कार्यालयलाई सरकारको नेतृत्वले प्रहरीको चेन अफ कमान्ड बिग्रिने गरी दुरुपयोग गर्ने गरेका छन्। पूर्वप्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर पहिले पनि अनुसन्धानकारी निकायलाई राजनीतिक नेतृत्वले दुरुपयोगको हद नाघेको बताउँछन्।
‘मेरो कार्यकालमा पनि जानकारी नदिई दोस्रो वा तेस्रो एआइजी प्रयोग गरेर धरपकड भएका थिए। पछि मात्र थाहा पाउने अवस्था थियो। अहिले त्यो छताछुल्ल नै भएको छ,’ पूर्व महानिरीक्षक कुँवरले बिजमाण्डूसँग भने।
गम्भीर प्रकृतिका घटनामा अनुसन्धान गर्ने भएकाले सीआइबी र उपत्यका अपराध अनुसन्धान कार्यालयको कार्यालयको नेतृत्व गर्न अधिकांश प्रहरी अधिकृत लालयित हुने गर्छन्।
पछिल्लो समय उपत्यका अपराध अनुसन्धान कार्यालयका धेरैजसो गतिविधि विवादमा परेका छन्। कार्यालयले प्रहरी मुख्यालयभन्दा प्रधानमन्त्री कार्यालयको निर्देशनमा काम गर्न थालेको छ।
कार्यालय प्रमुख रहेका एसएसपी खड्काले शुक्रबार प्रधानमन्त्री कार्यालयकै निर्देशनमा टोली खटाएर पत्रकार पक्राउ गर्न लागेका थिए। प्रहरी मुख्यालयले पत्रकार पक्राउ गर्न प्रधानमन्त्रीको सचिवालयले निर्देशन दिएको बताएको छ।
यसअघि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिंदा पनि यही कार्यालय प्रयोग गरिएको थियो। प्रधानमन्त्रीको सचिवालयको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोलेन्द्रलाई असोज ११ गते निवासबाट नियन्त्रणमा लिएको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यका प्रहरी कार्यालयमा रिपोर्टिङ गरे पुग्छ। जहाँ, एआइजी हुन्छन्। गत शुक्रबार पत्रकार पक्राउ प्रकरणले उल्टै सरकार र प्रहरीको धज्जी उडाएको छ। समाचारको विषयलाई आधार मानेर पक्राउ गरी संविधानले दिएको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै चौतर्फी विरोध भएपछि नियन्त्रणमा लिइएका पत्रकारलाई प्रहरी केही घण्टामा नै रिहा गर्न बाध्य भएको थियो।
‘आफूलाई थाहा हुँदैन। तर नेतृत्वको हिसाबले जिम्मेवारी लिन्न भन्न पनि मिल्दैन। तर कुनै घटनामा जिम्मेवारी लिन धेरै गाहो हुन्छ,’ पूर्वमहानिरीक्षक कुँवरले भने।
यसअघि जेठ अन्तिम साता तत्कालीन सचिव कृष्णहरि पुष्करलाई नियन्त्रणमा लिन पनि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रयोग भएको थियो। प्रमाण र गहिरो अनुसन्धानबिना व्यक्ति पक्राउमा पछिल्लो समय यो कार्यालयको दुरुपयोग बढेको छ। यो कार्यालयले मुद्दा चलाउँदैन। पक्राउ गरिएका व्यक्तिलाई अन्य कार्यालयमा बुझाउने गर्छ।









