काठमाडौं। इभी किनेपछि बिग्रियो भने सर्भिस कहाँ गर्ने? कम्पनीले आवश्यक पार्ट्स र प्राविधिक जनशक्ति उपलब्ध गराउँछ कि गराउँदैन? नयाँ ब्रान्डका गाडी किन्दा उपभोक्ताको मनमा यस्ता प्रश्न उठ्नु स्वाभाविक छ। तर पछिल्लो समय इभीको बजार विस्तारसँगै आधिकारिक बिक्रेताहरूले सर्भिस नेटवर्क पनि तीव्र रूपमा विस्तार गरिरहेका छन्।
उपत्यकामा मात्रै होइन, देशका प्रमुख सहर र राजमार्ग केन्द्रित क्षेत्रमा समेत सर्भिस सेन्टर थपिँदै गएका छन्। त्यसैले इभी चलाउन थालेपछि सर्भिस पाइएला कि नपाइएला भन्ने चिन्ता बिस्तारै कम हुँदै गएको छ।
अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधन (इभी)को बिक्री बढेसँगै आधिकारिक बिक्रेताले सर्भिस सेन्टरमा पनि आक्रामक रूपमा लगानी बढाएका छन्। ब्रान्डप्रति उपभोक्ताको विश्वास बढाउन र बिक्रीपछिको सेवा प्रभावकारी बनाउन बिक्रेताले सर्भिस नेटवर्क विस्तारलाई प्राथमिकता दिएका हुन्।
इभीको बजार विस्तारसँगै उत्पादक कम्पनीहरूले पनि बिक्रेतालाई बिक्रीपछिको सेवाका लागि सर्भिस नेटवर्क विस्तारमा सहयोग गर्दै आएका छन्। यसले बिक्रेता कम्पनीलाई सेवा विस्तार गर्न थप सहज भएको छ। पछिल्लो समय बजारमा नयाँ–नयाँ इभी ब्रान्ड थपिँदै जाँदा ग्राहकका लागि सर्भिस सेन्टरको पहुँच र क्षमता पनि महत्त्वपूर्ण विषय बन्न थालेको छ।
ग्राहकले समयमा सर्भिस नपाएर समस्या भोग्नुपरेका घटना बेलाबेला सार्वजनिक हुने गरेका छन्। त्यसैले व्यवसायीहरू अहिले सर्भिस सेन्टरको नेटवर्क विस्तारमा केन्द्रित भएका छन्। बिक्रीपछिको सेवा प्रभावकारी नभएसम्म बजारमा गाडी बिक्रीका लागि अनुकूल वातावरण नबन्ने व्यवसायीको भनाइ छ।
विद्युतीय गाडी बिक्री गरिरहेका टाटा, बीवाईडी, एमजी र हुन्डाईले छुट्टै सर्भिस सेन्टर बनाएर ग्राहक आकर्षित गर्ने प्रतिस्पर्धा गरिरहेका छन्। यस्तै, डिपल, नामी, किया, ओमोडा, जेको, आईकार, सेरेस, फोटोन, एक्सपेङ, किङलङ, सुजुकी, सोकोन, म्याक्सस, डोङफेङलगायतका ब्रान्डले पनि सर्भिस नेटवर्क सञ्चालनमा ल्याएका छन्। केही ब्रान्डले भने सर्भिस नेटवर्क विस्तार गर्ने तयारी गरिरहेका छन्।
बिक्रेताहरूले पछिल्लो समय सर्भिस सेन्टर, स्पेयर पार्ट्स र चार्जिङ स्टेसनलाई पनि प्राथमिकतामा राखेका छन्। उत्पादक कम्पनीबाट प्राविधिक सहयोग पाएपछि बिक्रेतालाई सेवा विस्तार गर्न थप सहज भएको व्यवसायी बताउँछन्।
बिक्रीपछिको सेवालाई राम्रो बनाउन सके ब्रान्ड भ्यालु बढ्नुका साथै उपभोक्ताको विश्वाससमेत बढ्ने भएकाले सर्भिस सेन्टर विस्तारमा केन्द्रित भएको व्यवसायीहरूको भनाइ छ।
टाटाको इभी डेडिकेटेड सर्भिस सेन्टर नेपालभर २१ वटा छन्। उपत्यकामा सोल्टीमोड, बालकुमारी, बागडोल, कपन, गोंगबु र भक्तपुरमा सर्भिस सेन्टर छन्। यस्तै, उपत्यकाबाहिर धाइजन रोड झापा मेचीनगर, इटहरीको एकम्बा, वीरगञ्जको बहुअरी, पोखराको बुद्धचोक, भैरहवाको तिलोत्तमा पत्थरडाँडा र दाङको सारा लगायतका स्थानमा सर्भिस सेन्टर सञ्चालनमा छन्।
यसैगरी, गनापुर नेपालगञ्ज, सुर्खेतको पिपिरा, राजापुर धनगढी, बासामाडी हेटौंडा, धनुषाको ढल्केबर, चरिकोट, रुपन्देहीको मणिग्राम, चितवनको नारायणगढ र विराटनगरमा पनि टाटाका सर्भिस सेन्टर छन्।
कम्पनीले २१ वटा सर्भिस सेन्टरमा १०० वटा बे राखेको छ। ती सेन्टरबाट दैनिक २ हजार वटा गाडीलाई सर्भिस दिन सकिने कम्पनीले जनाएको छ।
यसैगरी, चाङ्गान डीपल, डोङफेङ नामी तथा सेरेसका लागि उपत्यकामा दुई र उपत्यकाबाहिर सातवटा सर्भिस सेन्टर सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।
उपत्यकाबाहिर बिर्तामोड, विराटनगर, वीरगञ्ज, चितवन, पोखरा, नेपालगञ्ज र बुटवलमा डीपलका लागि सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको छ। यस्तै, नामीका लागि थप इटहरी, धरान र दाङमा सर्भिस सेन्टर सञ्चालनमा छन्।
फोटोन र सोकोनका लागि वीरगञ्ज, बुटवल, इटहरी, नेपालगञ्ज, बिर्तामोड, दाङ, धनगढी, पोखरा, नारायणगढ, बर्दिबास, सुर्खेत, काठमाडौं र भक्तपुरमा सर्भिस सेन्टर छन्।
एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले उपत्यकामा भक्तपुर, ललितपुरको कुसुन्ती र सुकेधारामा इभी डेडिकेटेड सर्भिस सेन्टर बनाएर सञ्चालनमा ल्याएको छ।
यस्तै, उपत्यकाबाहिर धनगढी, नेपालगञ्ज, बुटवल, नारायणगढ, पोखरा, जनकपुर, बिर्तामोड र विराटनगरमा सर्भिस सेन्टर सञ्चालनमा छन्। दाङ र वीरगञ्जमा भने नयाँ सर्भिस सेन्टर छिट्टै सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ।
एमजी र वुलिङको सर्भिस सेन्टर साझा रूपमा सञ्चालन हुने गरेको छ। दुवै ब्रान्ड एउटै निर्माता अन्तर्गत रहेकाले सर्भिस सेन्टर साझा गरिएको बिक्रेता कम्पनीले जनाएको छ। उपत्यकामा रहेका तीनवटा सर्भिस सेन्टरले दैनिक ४० वटा गाडीलाई सर्भिस दिन सक्छन्।
महिन्द्राले पनि आफ्नो इभीका लागि उपत्यकामा दुईवटा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। महिन्द्राले हालै स्वयम्भूमा नयाँ इभी डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। उक्त सेन्टरमा महिलाको प्राविधिक टोलीले मात्रै सर्भिस दिइरहेको छ। यस्तै, थापाथलीमा पनि महिन्द्राको इभी सर्भिस सेन्टर छ।
हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले इभीका लागि यसअघि सञ्चालनमा रहेका सर्भिस सेन्टरलाई समेत प्रयोग गर्दै १८ स्थानमा सेवा सञ्चालनमा ल्याएको छ। तीनकुनेमा इभीका लागि कमन सर्भिस सेन्टर निर्माण गरिएको छ। लक्ष्मी ग्रुपअन्तर्गतका ब्रान्डका इभी उक्त सर्भिस सेन्टरमा मर्मत गर्न सकिन्छ।
कम्पनीका सर्भिस सेन्टर उपत्यकामा तीनकुने, कुपन्डोल, धापासी, सिनामंगल र भक्तपुरमा छन्। यस्तै, बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ र धनगढीमा पनि इभीका लागि सर्भिस सेन्टर सञ्चालन भइरहेका छन्।
नयाँ आउने इभीका लागि डेडिकेटेड सर्भिस सेन्टर कुपन्डोलमा निर्माण भइरहेको छ। भक्तपुरमा भने इन्धनबाट चल्ने र विद्युतीय दुवै सवारीसाधनको सर्भिस गर्न सकिने गरी सर्भिस सेन्टर निर्माण भइरहेको कम्पनीले जनाएको छ।
बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले गाडी बिक्रीसँगै प्रमुख सहरहरुमा सर्भिस सेन्टरहरु सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर धनगढी, भरतपुर, जनकपुर, वीरगञ्ज, बिर्तामोड, इटहरी, भैरहवा, बुटवल, घोराही, नेपालगञ्ज, पोखरा र विराटनगरमा सर्भिस सेन्टर सञ्चालनमा छन्।
१४ वटा सर्भिस सेन्टर सञ्चालनमा छन्। कम्पनीले अहिले उपत्यकामा गौरीघाट र ललितपुरको पुल्चोकमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। आगामी दिनमा भक्तपुर र सोल्टीमोडमा सर्भिस सेन्टर सञ्चालनमा आउने कम्पनीले जनाएको छ। साथै महाराजगञ्जमा पनि सर्भिस सेन्टर राख्ने योजना छ।
यसैगरी, नेपाली बजारमा चेरी, ओमोडा, जेको र आईकारका गाडी बिक्री गर्ने शारडा ग्रुपले अहिलेसम्म काठमाडौं बाहिर १२ र उपत्यकामा एकवटा डेडिकेटेड गरी १३ वटा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।
उपत्यकाबाहिर पोखरा, चितवन, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, वीरगञ्ज, विराटनगर, इटहरी र बिर्तामोडमा सर्भिस सेन्टर सञ्चालनमा छन्। केही समयपछि जनकपुर र दमकमा पनि सर्भिस सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ।
कम्पनीले अहिलेसम्म १८ वटा डिलर नेटवर्क विस्तार गरेको छ। कम्पनीले दमक र जनकपुरमा थप दुईवटा डिलर विस्तार गर्ने रणनीति बनाएको छ।
सीजी मोटर्सका अनुसार अहिले नेपालभर ३० वटाभन्दा बढी सर्भिस सेन्टर सञ्चालनमा छन्। कम्पनीले किङलङ, एक्सपेङ, स्मार्ट, जीएसी आयोन, अवतार, दायुनलगायतका गाडी बिक्री गर्दै आएको छ।
कम्पनीका अनुसार चाबहिल, नेपालगञ्ज, सीतापाइला, पोखरा, गोंगबु, नुवाकोट, बुटवल, इटहरी, सुर्खेत, सिन्धुली, लहान, चितवन, वीरगञ्ज, हेटौंडा, हात्तीबन, बागडोल, धनगढी, सल्यान, रौतहट, गोलबजार, दाङ, गुल्मी र पाल्पामा सर्भिस सेन्टर सञ्चालनमा छन्।










