काठमाडौं। नेपालगंज उपमहानगरपालिका घर भएका ३७ वर्षीय आशीष भन्ने धर्मराज मल्ल चार दिनसम्म जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा बसे।
उनीविरुद्ध प्रहरीले सुरुमा अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गर्यो। उनले केही समय अगाडि आफू गृहमन्त्रीको सचिवालय सदस्य भन्दै केही मानिसलाई धम्काउने र तर्साउनेसम्म गरेका थिए। मल्लले केही आर्थिक लाभ समेत लिएको भन्ने उजुरी परेको छ।
प्रहरीले अनुसन्धान गर्दा उनले ‘गृहमन्त्रीको दाहिने हात साँझ बिहान आएर मेरो खुट्टा ढोग्ने मान्छे हो। गृह सचिव र कारागारको डीजी नियुक्त गर्दा २५/२५ लाख खाएछन्,’ भन्ने अडियो भेटिएको थियो।
गृहमन्त्रीको सचिवालयको नाम नै बेचेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्यो। उनीविरुद्ध विगतमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट नै ६ वटा मुद्दा दर्ता भएको देखियो।
गत साउन २६ गते उनी दूरसञ्चार ऐनमा फरार भएको खुल्यो। मल्लविरुद्ध २०८१ चैत ६ गते अभद्र व्यवहार, २०७९ जेठ १३ गते बैंकिङ कसुर, २०७८ माघ ५ गते अभद्र व्यवहार, २०७७ फागुन २६ गते ठगी र २०७८ साउन ५ गते अभद्र व्यवहारमा मुद्दा दर्ता भएको देखिएको छ।
अदालतले बिहीबारसम्म मात्र हिरासतमा राख्न र बाहिर नै राखेर अनुसन्धान गर्न भनेपछि मल्लविरुद्ध मुद्दा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए।
‘अहिले यस्ता घटना दोहोरिएका छन्। अडिओमा उच्च व्यक्ति जोडिएका कारण अनुसन्धान भएको हो,’ एसपी थापाले भने। मल्लले बाँकेमा एबीपी क्राइम न्युज चलाइरहेको भेटिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पनि यस्तै घटनामा जोडिएका अर्का व्यवसायीलाई पक्राउ गर्यो। गौशाला क्षेत्रबाट अनुपम फुड ल्यान्डका सञ्चालक कृष्ण पौडेल समातिए। उनको घटना पनि मल्लकै जस्तो थियो। सरकारमा उच्च ओहोदामा रहेका व्यक्तिसँगको सम्बन्ध देखाएर रकम उठाउन लागेको प्रहरीको सूचनामा छ।
प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारमा पक्राउ अनुमति लिएर अनुसन्धान गरेको थियो। तर ठोस् प्रमाण फेला नपरेपछि पौडेल हिरासतमसक्त भइसकेका छन्।
एसपी थापा दुवै घटना करिब करिब एउटै प्रकृतिको भएको बताउँछन्।
काठमाडौं प्रहरीले मात्र होइन, केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले पनि यस्ता घटनामा अनुसन्धान गरिरहेको छ। असोज २ गते सीआइबीले प्रधानमन्त्री बालेन्द्र शाह प्रमुख सल्लाहकार कुमार बेनको नाम प्रयोग गरेर ठगी गर्ने दुई जनालाई पक्राउ गर्यो।
रामेछाप सुनापति गाउँपालिकाका ५९ वर्षीय भरत चौलागाइँ र दोलखा कालिन्चोक गाउँपालिका घर भएकी ३२ वर्षीय बालिका शिवाकोटी पक्राउ परे। उनीहरूले नेपालबाट इजरायलमा कामदार लैजान सरकारले गरेको सम्झौता अनुसार लक्की ड्रमा नपरेकाहरूबाट रकम उठाएको देखियो। उनीहरूले आफूहरुको प्रधानमन्त्रीको सचिवालयसँग सिधा सम्पर्क रहेको भन्दै रकम उठाएका थिए। १५६ जनाबाट ६ लाख २० हजारका दरले उनीहरुले २ करोड ५० लाख रुपैयाँ लिएको खुलेको छ।
चौलागाइँ र शिवाकोटीविरुद्ध प्रहरीले जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ।
पछिल्लो समय प्रधानमन्त्री, गृहमन्त्री र अन्य मन्त्रीसम्म सम्पर्क रहेको भन्दै ठगीका घटना बढेका छन्। यसअघि चुनावी सरकारले यस्ता गतिविधि भए जानकारी दिन भन्दै सूचना समेत निकाल्नु परेको थियो।
अहिले पनि जेनजी भन्दै त्रास सिर्जना गरेर रकम उठाउन खोज्ने समूह भेटिने क्रम रोकिएको छैन। विगतमा पनि संक्रणकालीन समयको फाइदा उठाउँदै रकम उठाउने गरिएको थियो। माओवादी सशस्त्र द्वन्द्व छोडेर शान्ति प्रक्रियामा आएपछि त्रास देखाएर पैसा उठाउने प्रवृत्ति देखिएको थियो। त्यो बेलामा विभिन्न समूहले माओवादीकै नाम बेचेर समेत उद्योगी व्यवसायीदेखि कर्मचारीसम्मबाट पैसा उठाएका थिए।
‘प्रहरीको मनोबल खस्किएका बेला यस्ता घट्ना बढ्ने गर्छन्। विगतमा पनि यस्ता घटना भएका थिए। जेनजी आन्दोलनपछि प्रहरीको मनोबल इतिहासमै सबैभन्दा बढी खस्किएको छ,’ प्रहरीका पूर्वडीआइजी हेमन्त मल्ल ठकुरीले बिजमाण्डूसँग भने, ‘सुरक्षा निकायको फ्रन्ट सिटमा रहेको प्रहरी कमजोर हुँदा आपराधिक मानसिकता बोकेका समूह सक्रिय हुन्छन्। अहिले त्यही भएको हो।’











