काठमाडौं। इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्। इसेवा सञ्चालक समितिको भदौ ३० गतेको बैठकले असोज १२ गतेदेखि लागू हुने गरी शर्मालाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव भएका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका क्षेत्रमा अनुभवी छन्। डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि, ग्राहककेन्द्रित सेवा तथा संस्थागत रूपान्तरणमा उनको अनुभव रहेको इसेवाले जनाएको छ।
शर्माको नेतृत्वले कम्पनीको आगामी रणनीतिक प्राथमिकता र डिजिटल वित्तीय सेवाको विस्तारमा योगदान पुग्ने विश्वास सञ्चालक समितिले व्यक्त गरेको छ।
यसैबीच, इसेवाका निवर्तमान सीईओ जगदीश खड्काको चारवर्षे कार्यकाल पूरा भएको छ। २०७९ असोज १२ मा सीईओ नियुक्त भएका खड्काको कार्यकालमा इसेवाका प्रयोगकर्ता र मर्चेन्टको संख्या उल्लेख्य रूपमा बढेको कम्पनीले जनाएको छ। उनका कार्यकालमा इसेवामा दर्ता भएका प्रयोगकर्ता १ करोड ४० लाख र मर्चेन्ट संख्या ६ लाखभन्दा बढी पुगेका छन्।
खड्काको नेतृत्वमा डिजिटल कर्जा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिंक, इन्टेन्ट पे, इन्सुरेन्स तथा विभिन्न लाइफस्टाइल सेवाको विस्तार भएको कम्पनीले जनाएको छ। दृष्टिविहीन प्रयोगकर्ताका लागि ‘टकब्याक’ सुविधा तथा नेपाली भाषामा एप सञ्चालनमा ल्याएर सेवा थप पहुँचयोग्य बनाइएको पनि इसेवाले जनाएको छ।
इसेवा सञ्चालक समितिले खड्काको कार्यकालमा कम्पनीले हासिल गरेका उपलब्धिले आगामी यात्राका लागि बलियो आधार तयार गरेको जनाएको छ।










