काठमाडौं। जल तथा मौसम विभागको प्रक्षेपणसँगै भारी वर्षाको जोखिम न्युनीकरणका लागि सुरक्षा निकायलाई अलर्ट राखिएको छ।
बिहीबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीले जोखिम क्षेत्रहरूमा माइकिङ तथा सूचना जानकारी दिइरहेका छन्। न्यूनीकरण एवं खोज तथा उद्धारका लागि देशभर ६ सय ५० वटा जोखयुक्त ठाउँहरूमा सशस्त्र प्रहरीले ११ हजार ७ सय भन्दा बढी जनशक्ति उच्च सतर्कताका साथ परिचालन अवस्थामा राखेको छ।
सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य प्राकृतिक विपद्को उच्च जोखिमलाई ध्यान दिँदै देशभर व्यापक पूर्व तयारी तथा परिचालन योजना तयार गरी कार्यान्वयनमा ल्याउनुका साथै थप जनशक्ति र उद्धार सामग्रीहरूको प्रभावकारी व्यवस्थापन समेत गरेको छ।

जसअन्तर्गत २ हजार ६० जना विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्तिका साथै १ सय ३३ जना गोताखोर, २ सय २४ जना रोप रेस्क्यु लगायत उच्च भू–भाग खोज तथा उद्धार तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू प्रत्यक्ष रूपमा खटिएको सशस्त्रले जनाएको छ।
डुबानमा परेकाहरूको उद्धारको लागि १ सय ३ वटा र्याफ्ट बोट, ५८ वटा मोटर बोट समेत तयारी अवस्थामा राखिएको सशस्त्रले जनाएको छ। सशस्त्रका अनुसार खोज तथा उद्धार कार्यलाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउन ३० वटा तालिमप्राप्त के–नाइन डग स्क्वाड र ५ वटा विशेष ड्रोनहरू एयरमार्क गरी परिचालनको लागि तयारी अवस्थामा राखिएको छ। सशस्त्रले प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई सार्वजनिक बिदामा समेत उपत्यका नछाड्न निर्देशन दिएको छ ।
विपद्बाट सडक अवरोध भएमा तत्काल हटाउन वा खुलाउन तथा हेभी रेस्क्युका लागि विपद् जोखिमयुक्त नदी कोरिडोरहरू र प्रदेशस्थित वाहिनी मुख्यालयहरूमा ह्विल लोडर, क्रेन र एक्स्काभेटर जस्ता हेभी इक्यूपमेन्टहरू तयारी अवस्थामा राखिएको सशस्त्रले जनाएको छ।
त्यस्तै उच्च जोखिममा रहेका सुनकोशी, सप्तकोशी, भोटेकोशी, त्रिशूली, नारायणी, बाग्मती नदी तथा विष्णुमती, बल्खु, मनोहरा, हनुमन्ते, नख्खु लगायत खोलाहरूमा आवश्यक उद्धार सामाग्रीसहित विपद् व्यवस्थापन जनशक्ति तयारी राखिएको सशस्त्रले जनाएको छ।
सशस्त्रले र्याफ्ट एसोसिएसनसँगको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशमा थप १०/१० वटा र्याफ्ट बोटहरू तयारी अवस्थामा राखिएको जनाएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान तथा आवश्यकता अनुसार तत्काल अन्य थप जनशक्ति समेत परिचालन गर्ने गरी रणनीति तयार गरिएको छ।

त्यस्तै काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लाहरूमा पनि माइकिङ गरिएको सशस्त्रले जनाएको छ। झापाको मेची नदी, कन्काई नदी, रतुवा नदी र बिरिङ् खोला आसपासमा रहेका गाँउबस्तीहरुमा माइकिङ गरेको जनाएको छ। जनपथ प्रहरीले समेत भारी वर्षालाई हेरेर जोखिम कम गर्न विभिन्न सचेतताको काम गरिरहेको जनाएको छ।
पानीको सतह, बहावको तीव्रता र तटबन्धको अवस्थाबारे अब्जरभेशन रेकर्ड राखेर काम अगाडि बढाएको नेपाल प्रहरीका प्रवक्ता डीआइजी अभिनारायण काफ्लेले बताए।’विपद्मा हुन सक्ने जोखिमलाई ध्यान दिएर स्रोत र साधन समेत तयारी अवस्थामा राखेका छौं,’डीआइजी काफ्लेले भने।
त्यस्तै जोखिम रहेका राजमार्गहरूमा समेत यात्रा नगर्न भनिएको छ। प्रहरीले पृथ्वी राजमार्ग र बीपी राजमार्गमा राती सवारी साधन चलाउन रोक लगाएको छ। पृथ्वी र बीपी राजमार्गमा राती गाडी चलाउन रोक लगाइएकोछ भने तुलसीपुर -सुर्खेत सडक खण्डमा पनि रोक लगाइको छ। घोराई- मुर्कुटी सडम पनि साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म यात्रा नगर्न भनिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सुरक्षा निकायसँग समन्वय गरेर काम गरिरहेको छ। प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको प्राधिकरणले जनाएको छ। नेपाली सेनाले तत्काल उद्धारको लागि धनगढी, सुर्खेत, बुटवल र काठमाडौंमा मेडिकल सहितको हेलिकप्टर तयारी अवस्थामा राखेको जनाएको छ।











