काठमाडौं। सरकारले सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधन (इभी)लाई प्राथमिकता दिएपछि ठूला बस ल्याउन व्यवसायीबीच प्रतिस्पर्धा सुरु भएको छ।
सरकारले करिब चार महिनादेखि रोकिएको नयाँ सार्वजनिक सवारीसाधनको दर्ता केही दिनअघि मात्रै खुलाएपछि व्यवसायीहरु ठूला विद्युतीय बस भित्र्याउने प्रतिस्पर्धामा लागेका हुन्। सरकारले सार्वजनिक सवारी दर्तामा विद्युतीय गाडीलाई प्राथमिकता दिने नीति लिएको छ।
सार्वजनिक यातायातमा डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई क्रमशः विस्थापित गर्ने सरकारी नीतिले आगामी दिनमा ठूला विद्युतीय बसका ब्रान्ड र मोडलबीच प्रतिस्पर्धा तीव्र हुने देखिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गत जेठ ७ गते यातायात व्यवस्था विभागलाई सार्वजनिक सवारीसाधनको दर्ता रोक्न लगाएर ठूला इभी भित्र्याउने विषयमा सरोकारवालाहरुसँग छलफल गरेका थिए। उनले इन्धनबाट चल्ने सार्वजनिक यातायातलाई विस्थापित गर्न व्यवसायीसँग साथ मागेका थिए।
व्यवसायीले सहयोग गर्ने वचन दिएपछि मन्त्री लम्सालले इभीलाई प्राथमिकता दिने नीतिसहित सार्वजनिक सवारीसाधनको दर्ता खोल्न लगाएका हुन्।
सरकारले प्रारम्भिक चरणमा काठमाडौं, पोखरा र लुम्बिनीलाई डिजेल बसमुक्त क्षेत्र बनाउने तयारी गरिरहेको छ। त्यसपछि लामो दूरीमा संचालन हुने सार्वजनिक बसमा समेत विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिने योजना अघि सारिएको छ।
सरकारको यही नीतिलाई लक्षित गर्दै अहिले विभिन्न अटोमोबाइल कम्पनीले ठूला विद्युतीय बस नेपाली बजारमा भित्र्याउन थालेका छन्। ओम्नी मोटर्सले चेरी वान्डा, हिमालय अर्गनाइजेसनले डोङफेङ, सीजी मोटर्सले किङलङ र शशिला मोटर्सले हाइगरका ठूला इलेक्ट्रिक बस नेपाली बजारमा ल्याउने तथा विस्तार गर्ने तयारी गरेका छन्।

विगतमा सीमित संख्यामा मात्रै आयात हुने गरेका ठूला विद्युतीय बस चालु आर्थिक वर्ष तुलनात्मक रुपमा धेरै भित्रिएका छन्। चालु आर्थिक वर्षको पहिलो दुई महिनामै करिब ९० वटा ठूला इलेक्ट्रिक बस आयात भएको व्यवसायीहरुले बताएका छन्।
अन्य व्यवसायी पनि इलेक्ट्रिक बस ल्याउने तयारीमा छन्। केहीले चीनका विभिन्न ब्रान्डसँग कुरा गर्दैछन् भने केहीले आधिकारिक बिक्रेताको सम्झौता गरेर आगामी ४/५ महिनामा बस ल्याउने योजनासहित काम गरिरहेका छन्।
सरकारले काठमाडौं उपत्यकामा साना सार्वजनिक सवारीसाधनको दर्तामा समेत कडाइ गर्दै ठूला क्षमताका विद्युतीय बसलाई प्राथमिकता दिन थालेको व्यवसायी बताउँछन्। यसले आगामी दिनमा सार्वजनिक यातायातको बजारमा ठूला इलेक्ट्रिक बसको माग बढ्ने उनीहरुको अपेक्षा छ।
कुन-कुन ब्रान्डका बस छन्?
ओम्नी मोटर्सले नेपालमा चेरी वान्डा ब्रान्डको इलेक्ट्रिक बस बिक्रीका लागि ल्याएको छ। कम्पनीले यसको मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकेको छ।
यस्तै, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापाको हिमालय अर्गनाइजेसनले डोङफेङ ब्रान्डका इलेक्ट्रिक बस नेपाली बजारमा ल्याएको छ। यो बसको मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

निर्वाण चौधरीको सीजी मोटर्सले किङलङका ठूला विद्युतीय बस नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ। कम्पनीले अहिलेसम्म किङलङको बस नेपाली बजारमा ल्याइपुर्याएको छैन।
कम्पनीले किङलङलगायत ब्रान्डका विद्युतीय माइक्रोबस भने नेपाली बजारमा बिक्री गर्दै आएको थियो। अब सरकारको नीतिअनुसार ठूलो क्षमताका विद्युतीय बस भित्र्याउने कम्पनीको तयारी छ।
शशिला मोटर्सले हाइगरका ठूला इलेक्ट्रिक बस नेपाली बजारमा बिक्री गरिरहेको छ। कम्पनीले ल्याएको हाइगर इलेक्ट्रिक बसको मूल्य १ करोड ७४ लाख रुपैयाँ छ। हाइगरका विद्युतीय माइक्रोबस यसअघि नै नेपाली बजारमा बिक्री हुँदै आएका थिए।











