काठमाडौं। सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकले श्रेष्ठलाई ४ वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
श्रेष्ठ नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष हुन्। काठमाडौं महानगरपालिका-१४ का श्रेष्ठलाई सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बुधबार पद तथा गोपनीयताको शपथ गराएका छन्।
मन्त्री तिमिल्सिनाले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिए। उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन भनेका छन्।
उनले विद्यमान कानुन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु अहिलेको प्रमुख चुनौती रहेक भन्दै उनले बोर्डले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताए।
उनले लोककल्याणकारी विज्ञापन वितरणलाई वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र विधिसम्मत बनाउनुपर्ने आवश्यकता औंल्याए।
नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापनसँग सम्बन्धित नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको मन्त्री तिमिल्सिनाको सचिवालयले जनाएको छ।










