चीनले नेपाललाई दियो ‘माजु-नेपाल’ एआई मौसम पूर्वसूचना प्रणाली, विपद व्यवस्थापनमा सहयोग पुग्ने

बिजमाण्डू
२०८३ असोज ६ गते २०:०० | Sep 22, 2026
चीनले नेपाललाई दियो ‘माजु-नेपाल’ एआई मौसम पूर्वसूचना प्रणाली, विपद व्यवस्थापनमा सहयोग पुग्ने


काठमाडौं। चीनले नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर मौसमबारे पूर्वसूचना दिने प्रणाली उपलब्ध गराएको छ।

Vigo
GBIME
Tata

चीनको मौसम विज्ञान प्रशासन (सीएमए)ले मंगलबार सिन्जियाङस्थित उरुम्छीमा आयोजित दोस्रो चीन-मध्य एसिया मौसम विज्ञान सहयोग मञ्चका क्रममा मौसम विज्ञान विभागलाई अत्याधुनिक ‘माजु-नेपाल’ प्रणाली हस्तान्तरण गरेको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सीएमएले नेपाललाई निरन्तर मौसमसम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको थियो। सीएमएले भदौ १३ मा ‘माजु-नेपाल’ प्रणालीलाई क्लाउडमा आधारित परीक्षणका लागि नेपाललाई उपलब्ध गराएको थियो।

के हो ‘माजु-नेपाल’?

‘माजु-नेपाल’ चीनको ‘फेङयुन’ (एफवाई) मौसम उपग्रहबाट प्राप्त अवलोकन डेटा र ‘फेङछिङ’ तथा ‘फेङसुन’ जस्ता चिनियाँ एआई पूर्वानुमान मोडलहरूको संयोजनबाट तयार पारिएको हो।

यसले हाई रिजोलुसन र तीव्र रूपमा अद्यावधिक हुने अनुगमन तथा पूर्वानुमान डेटा प्रदान गर्ने चिनियाँ पक्षले जनाएको छ। यो प्रणाली नेपालको भौगोलिक बनावट, प्राकृतिक प्रकोपको ढाँचा, पूर्वाधार र उपलब्ध डेटाको अवस्थालाई ध्यानमा राखेर विशेष रूपमा डिजाइन गरिएको जनाइएको छ।

विश्व मौसम विज्ञान केन्द्र बेइजिङका वरिष्ठ इन्जिनियर हुवा वेनलीका अनुसार यो क्लाउडमा आधारित पूर्वसूचना प्लेटफर्म मात्र होइन। यो नेपालका लागि मौसम पूर्वसूचना क्षमता साझा गर्ने एउटा महत्वपूर्ण माध्यम पनि हो।

सीएमएले नेपालमा ‘माजु-फेङयुन स्याटेलाइट एआई बक्स’ र एकीकृत उपकरण जडानमा सहयोग गर्ने बताएको छ। उसले नेपाली प्राविधिक टोलीलाई विशेष तालिम दिने, द्विपक्षीय डेटा आदानप्रदान प्रक्रिया स्थापित गर्ने र संयुक्त परामर्श संयन्त्रमार्फत विपद् जोखिम सम्बोधन क्षमता बढाउने योजना पनि सुनाएको छ।

सीएमएका प्रशासक डा. चेन जेनलिनले मौसमसम्बन्धी पूर्वसूचना दुवै देशबीच आर्थिक र सामाजिक विकास, जनजीविका र जिउधनको सुरक्षाका लागि महत्वपूर्ण रहेको बताए।