काठमाडौं। सेयर बजारमा सूचकसँगै कारोबार रकम बढेको छ। मंगलबार ७ अर्ब ५ करोड ३ लाख रुपैयाँको कारोबार भएको हो। सेयर करोबारमा पुँजीगत लाभकर घटाउने निर्णय कार्यान्वयनमा आएसँगै किनबेच बढेको हो।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पुँजीगत लाभकर साढे दुई प्रतिशत विन्दुले बढाएर साढे सात र १० प्रतिशत पुर्याएकामा गत साता घटाएर ३.७५ र ५ प्रतिशतमा झारिएको हो।
पुँजीगत लाभकर घटाउने निर्णय मंगलबारदेखि कार्यान्वयनमा आएको छ।
बजारमा यसअघि असोज २ गते ६ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। मंगलबार कारोबारसँगै सूचक बढेको छ। सूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको छ।
कारोबारमा आएका फाइनान्स, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी र ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन्।
अन्य उपसमूहको सूचक सबैभन्दा धेरै १.३६ प्रतिशतले बढेको छ। सेयरमूल्य बढेका १३८ कम्पनीका लगानीकर्ताले कमाएका छन्। मिड सोलु हाइड्रोपावरको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। उक्त कम्पनीको सञ्चालक समिति बैठकले सोमबारमात्रै लगानीकर्तालाई १५.७ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो।
बजारमा १३० कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर छ। स्नो रिभर्सको सेयर मूल्य सबैभन्दा धेरै ८.२३ प्रतिशतले घटेको छ।
सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा हाथवे इन्भेष्टमेन्ट कम्पनी पहिलो भएको छ। उक्त कम्पनीको सेयर सबैभन्दा धेरै ४४ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ।
यस्तै, हिमालयन डिष्टिलरीको ४० करोड ३६ लाख र घलेम्दी हाइड्रोपावरको २२ करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।











